
काठमाडौ : जब कुनै बालिका किशोर अवस्थामा प्रवेश गर्छिन् । उनी पहिलो पटक महिनावारी हुन्छिन् । बालिकाको शारीरिक अवस्था अनुसार कोही ९/१० बर्षको उमेरमा त कसैलाई १२/१३ बर्षको उमेरमा महिनावारी सुरु हुन्छ । महिनामा एकपटक योनीबाट रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो । पहिलो पटक महिनावारी हुँदा किशोरीहरुमा विभिन्न शारीरिक तथा मानसिक परिवर्तनहरु देखापर्दछ । त्यसलाई समयमै निवारण गर्न नसके यसले दिर्घकालमा समेत समस्या निम्त्याउने कोडेफ नेपालकी महिनावारी स्वच्छता विज्ञ यब लक्ष्मी श्रेष्ठ बताउनुहुन्छ ।
बालिकाहरु किशोरवास्थामा प्रवेश भएदेखि गर्भधारण नभएसम्म हरेक महिना योनीबाट रगत बग्छ। यस्तो रगत २ देखि ७ दिनसम्म बग्छ र आफैँ बन्द हुन्छ। महिनावारी हुनुलाई रजस्वला, पर सर्नु, नछुने हुनु आदिले चिनिन्छ । महिनावारी चक्र व्यक्ति अनुसार २१ देखि ३५ दिनको हुने गर्छ। डिम्बासयको डिम्ब (अण्डा) परिपक्व भएपछि केटीहरुको पहिलो महिनावारी हुन्छ। महिनावारी सामन्यतया ९ देखि १९ वर्षको उमेरमा सुरु भइ ४५ देखि ५५ वर्षको उमेरसम्म हुन्छ।
पहिलो पटक महिनावारी हुँदा मनमा डर पैदा हुने, झोक्रिने, अत्तालिने लगायत मानसिक समस्या देखिने महिनावारी स्वच्छता विज्ञ श्रेष्ठ बताउनुहुन्छ । ‘महिनावरी प्राकृतिक र स्वाभाविक प्रक्रिया हो । महिनावारी हुनु भनेको नारीत्व हो । यो लज्जाको बिषय नभई गर्व गर्ने बिषय हो । यद्यपि यसको बारेमा सही जानकारी नहुँदा पहिलो पटक महिनावारी हुँदा धेरै किशोरीहरु आत्तिने गर्छन् र केहीले रोग लाग्यो कि भनेर सोच्छन्। तसर्थ घरमा भएका अभिभावकहरुले यसबारे जानकारी दिनुपर्छ।’ उहाँले भन्नुभयो ।
महिनावारी भएको बेला ध्यान दिनुपर्ने कुराहरु
महिनावारी हुँदा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ। सरसफाइमा ध्यान दिइएन भने गन्हाउने सेतो पानी बग्ने, योनी चिलाउने, पिसाब पोल्ने तथा संक्रमण हुन सक्छ। सफाइको कमीले यौनांगमा घाउ भई हिँड्न गाह्रो हुन्छ। यौनांग सफा पानीले धुुनुपर्छ। रगत लागेको छ भने मनतातो पानीले धुुनुपर्छ। यो बेलामा पानीमा फिट्किरी हालेर पनि यौनांग सफा गर्न सकिन्छ। नुहाएर सफा बन्नुपर्छ।
महिनावारी भएको बेला शरीरबाट रगत बग्छ। शरीर कमजोर महशुस हुन्छ। शरीरलाई बलियो बनाउन पौष्टिक खाना, सागसब्जी, तरकारी, फलफूल दुध, दही, गेडागुडी, प्रशस्त मात्रामा खानुपर्छ। टुसा उमारेको गेडागुडी, चाकु, फलामको भाँडामा पकाएको दाल गहत आदिको प्रयोगले शरीर स्वस्थ्य बनाउँछ ।यसले रक्त अल्पताबाट पनि बचाउँछ।
महिनावारी हुँदा नरम सुतीको कपडाको टुक्रा वा स्यानेटेरी प्याड प्रयोग गरेर सजिलै र सफासँग व्यवस्थापन गर्न सकिन्छ। त्यसबाहेक अहिले मेन्सट्रुयल कप र टेम्पोन पनि बजारमा पाइन्छन्। महिनावारी हँदा कसैकसैलाई तल्लो पेट दुख्ने, स्तन दुख्ने, ढाड दुख्ने,हात खुट्टा करकर खाने, कसैलाई बेचैन, तनाव हुने , टाउको दुख्ने पनि हुन्छ।
सामान्य अवस्थामा ४ देखि ७ दिनसम्म रगत बग्नु समान्य हो तर कसैलाई १० देखि १५ दिनसम्म रगत बगिरहने भयो भने उपचार गराउनु पर्छ। यदि हरेक २– २ घण्टामा प्याड फेर्नु पर्ने अवस्था आयो भने त्यसलाई धेरै रगत बगेको मानिन्छ। त्यस्तो भएमा के गर्ने त ?
♥ तल्लो पेटमा हलुका मालिस गर्ने ।
♥ तातो पानी राखेको रबरको थैला वा बोतलमा पानी राखेर सेक्ने
♥ दुध, दही, फलफूल, सागपात, गेडागुडीको झोल खाने।


2330 पटक हेरिएको 

