महिनावारी स्वच्छता बारे जनचेतना जगाउन मुलावारीमा सरोकार समूह गठन


विनोद महतो, धनुषा : धनुषाको धनुषाधाम नगरपालिका वडा नं.८ मुलावारीमा महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूह गठन गरिएको छ । महिनावारी स्वच्छता व्यवस्थापन बारे जनचेतना जगाउने तथा सल्लाह सुझाव दिने उद्देश्यले शुक्रवार धनुषाधाम नगरपालिकामा सञ्चालित पूर्ण सरसफाइ अभियान अन्तर्गत वडा नं. ८ मुलावारीमा ९ सदस्यीय महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूह गठन गठन गरिएको हो ।

धनुषाधाम नगरपालिका वडा नं. ८ की महिला जनप्रतिनिधी (वडा सदस्य) रामकुमारी क्यापछाकीलाई सो समितिको संयोजकमा चयन गरिएको छ । यस्तै सो समितिको सदस्यहरुमा जनप्रतिनिधी (दलित महिला वडा सदस्य) सुमित्रा महरा, आमा समूहबाट शकुन्तला कार्की, निलम भुजेल, हेल्थपोष्टका प्रतिनिधी स्वास्थ्यकर्मी विजय महासेठ, महिला स्वास्थ्य स्वयम् सेविका सावित्रा काफ्ले, देवकी सिजाली, शिक्षिका समूहबाट गीता खड्का र कैलाशी यादवलाई चयन गरिएको छ ।

सरोकार समूहले महिनावारी भएको बेला प्याड प्रयोग गर्ने सुरक्षित तरिका तथा प्रयोग गरिएको प्याड व्यवस्थापनका लागि सार्वजनिक संघसंस्थामा उपलब्ध सेवा सुविधा तथा सुधारका लागि आफुहरुले पहल गर्ने सरोकार समूहकी संयोजक रामकुमारी क्यापछाकीले बताउनुभयो ।

पूर्ण सरसफाइ अभियानका लागि महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी जनचेतना जगाउन, अभियान चलाउन, सल्लाह सुझाव दिन र वडाभरिका सरकारी कार्यालय, सामुदायिक तथा निजी संघसंस्था, विद्यालय र टोल तहमा समेत महिनावारी स्वच्छता व्यवस्थापन बारे अनुगमनको कार्य महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूहले गर्ने वडाअध्यक्ष विनोद दिप लामाले बताउनुभयो । कोभिडको सम्भावित संक्रमणबाट बच्न सबैले साबुन पानीले हात धुनुका साथै नमुना टोल, समुदाय बनाउन, सरसफाइका व्यवहारहरु परिवर्तन गरिरहेका पूर्ण सरसफाइ कार्यक्रमकी धनुषाधाम पालिका संयोजक ललिता यादवले बताउनुभयो । सो वडामा संस्थाको तर्फबाट पूर्ण सरसफाइ सहजकर्ताको रुपमा सरोज यादवले कार्य गरिरहनुभएको छ ।

महिनावारी भएको बेला अधिकांश महिलाहरु कपडाका प्याड नै प्रयोग गर्ने गरेको सो पालिकामा गरिएको मोबाइल एप कोबो सर्वेले देखाएको छ । धनुषा जिल्लाको तीन वटा पालिकाको १३ वटा वडामा पालिका र वार्ड वाससिसिका अगुवाईमा जिएसएफ यूएनह्याविट्याटको साझेदारीमा समाज उत्थान युवा केन्द्रले अभियानको सहजीकरण गरिएको छ । जिल्लाको धनुषाधाम नगरपालिकामा वडा नं. ३, ४, ६, ८ लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं.१, २, ४ र ६ तथा जनकनन्दनी गाउँपालिकाको वडा नं. २, ४, ५ र ६ मा अहिले कोभिड १९ को जोखिमका बीच पनि पूर्ण सरसफाइका क्रियाकलापहरु भईरहेको छन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार