रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कार्यान्वयनमा ल्याएको स्थानीय पाठ्यक्रममा सरसफाइको बिषय महत्वका साथ समेटेको छ । बालबालिकालाई कक्षा १ देखि नै सरसफाइ सम्बन्धी ज्ञान दिलाउन ‘मेरो खल्ती : मेरो पहिलो डष्टबिन’ को अवधारणा समेटिएको हो । सरसफाइको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नैं दिने गरी ‘मेरो खल्ती : मेरो पहिलो डष्टबिन’ पाठ्यक्रममा समेटिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उप सचिव गंगाराम आचार्यले बताउनुभयो । यस पाठ्यांशमा चक्लेट, विस्कुट, चाउचाउ, जंकफूड लगायतका खोल जहाँ पायो त्यहीँ नफ्याँकी आफ्नै खल्तीमा राख्न सिकाइनेछ । पहिलो डस्टबिन आफ्नै खल्तीलाई बनाएका बालबालिकाले त्यसपछि भने डष्टबिन वा घरमा लगेर व्यवस्थापन गर्नेछ । स्थानीय पाठ्क्रमको यो अभियानले पूर्ण सरसफाइ उन्मूख तिलोत्तमा नगरपालिका बनाउन सहयोग पुग्ने उप(सचिव आचार्यको अपेक्षा छ ।
‘यो अवधारणाको व्यवहारिक कार्यान्वयनले सरसफाइमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।’ आचार्यले भन्नुभयो । नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएपछि तिलोत्तमा नगरपालिकाले यसको अभ्यास गरेको हो ।
पाठ्यक्रममा सरसफाइ सँगै नगरको भुगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्था लगायतका विषय समेटिएको छ । पहिलो चरणमा कक्षा १ देखि ५ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उप(सचिव गंगाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा आएको स्थानीय पाठ्क्रमका बारेमा नगरपालिकाले स्थानीय पाठ्यक्रमको बारेमा विषय शिक्षकहरुलाई प्रबोधिकरण समेत गराएको छ ।
तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु छन् ।