काठमाडौ : वरिष्ठ पत्रकार विनोद धौलागिरीलाई वास खबरको अतिथि सम्पादकको जिम्मेवारी प्रदान गरिएको छ । उहाँले वास खबरको सम्पादनमा विगत देखि पुर्याउँदै आउनुभएको योगदानको उच्च कदर गर्दै अतिथि सम्पादकको जिम्मेवारी प्रदान गरिएको हो । अतिथि सम्पादकको हैसियतले उहाँले वास खबरको खोजमूलक तथा अनुसन्धानात्मक रिपोर्टको सम्पादनमा योगदान गर्नुहुनेछ ।

पोखराबाट प्रकाशित हुने पत्रिका आदर्श समाज दैनिकबाट पत्रकारिताको सुरुवात गर्नुभएका पत्रकार धौलागिरीसँग २२ बर्ष लामो पत्रकारिताको अनुभव छ । विभिन्न दैनिक, साप्ताहिक एवम् म्यागजिनमा डेस्क सम्पादकदेखि कार्यकारी सम्पादक सम्मको जिम्मेवारी सम्हालिसक्नु भएका धौलागिरीले करिब ८ बर्ष रेडियो पत्रकारितामा समेत योगदान दिइसक्नु भएको छ । उहाँले टेलिभिजन पत्रकारिताको अनुभव पनि बटुलिसक्नु भएको छ ।
अधिकार र विकास पत्रकारितामा कलम चलाउने धौलागिरी विगत १२ बर्ष देखि सरसफाइको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । सामाजिक परिचालन सँगसँगै पत्रकारितालाई पनि निरन्तरता दिदै आउनुभएका धौलागिरीले वास क्षेत्रका अनगिन्ती खोज रिपोर्टिङ गरिसक्नु भएको छ ।
अनुभवी एवम् खानेपानी र सरसफाइको विज्ञलाई टिममा स्वागत गर्न पाउँदा सम्पन्न सञ्चार प्रालिका प्रबन्ध निर्देशक पी.टी.लोप्चनले खुसी व्यक्त गर्नुभयो । उहाँले अतिथि सम्पादक धौलागिरी मार्फत आफ्नो टिमले सरसफाइ क्षेत्रमा राम्रो योगदान दिन सकिने विश्वास व्यक्त गर्नुभयो । ‘‘उहाँको दक्षतालाई हाम्रो टिमले भरपुर उपयोग गर्नेछ, यसबाट खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रले नै लाभ हासिल गर्न सकिनेमा दुई मत छैन’’ उहाँले भन्नुभयो ।
वास खबर सम्पन्न सञ्चार प्रा.लि. ले सञ्चालन गरेको डिजिटल पत्रिका हो । खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको पहिलो डिजिटल पत्रिका वास खबर आगामी बैशाखदेखि चौथो बर्ष पूरा गरी पाँचौं बर्षमा प्रवेश गर्दैछ ।


4408 पटक हेरिएको 

