काठमाडौ : सरकारले राजधानी काठमाडौंमा पहिलो पटक फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ । काठमाडौं उपत्यकाका चार स्थानमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रमध्ये नेपालको पहिलो अत्याधुनिक फोहोर पानी प्रशोधन केन्द्रका रूपमा रहेको गुह्येश्वरी प्रशोधन केन्द्रको सम्पूर्ण निर्माण र परीक्षण कार्य समेत सम्पन्न भएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले फोहोर पानी व्यवस्थापनको कार्य सञ्चालन गर्दै आइरहेको छ । आयोजनाका अनुसार गुह्येश्वरीमा निर्माण भएको प्रशोधन केन्द्रले प्रति दिन ३ करोड २० लाख लिटर फोहोर पानी प्रशोधन गरी फेरि बाग्मती नदीमा नै प्रवाह गर्नेछ, जसका कारण बाग्मती नदीमा सफा पानी बहावमा वृद्धि हुनेछ । यसैगरी यसबाट उत्पादन हुने ग्यासबाट बिजुली पनि उत्पादन हुने आयोजनाले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विकास सल्लाहकार गजेन्द्र थपलियाले गुह्येश्वरी प्रशोधन केन्द्र विश्वको अन्य सुविधा सम्पन्न मुलुककै स्तरको फोहोर पानी प्रशोधन केन्द्रका रूपमा नेपालमा पहिलो पटक निर्माण हुनु गौरवको विषय भएको बताए । उनले काठमाडौंमा यस्तै प्रकारका अन्य तीन वटा केन्द्रको निर्माण कार्य समेत द्रुत गतिमा अघि बढिरहेको जानकारी दिए । सल्लाहकार थपलियाले प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपाली अभियान अन्तर्गत अत्याधुनिक प्रशोधन केन्द्रको निर्माण कार्य अघि बढेको बताए ।
आयोजनाका अनुसार गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रबाट पशुपति क्षेत्रदेखि माथिल्लो खण्ड गोकर्णदेखि गुह्येश्वरीसम्म बाग्मती डोल क्षेत्रको फोहोर पानी प्रशोधन कार्य थालिएको छ । यसैगरी यस लगायत राजधानीकै कोड्कुु बालकुमारी प्रशोधन केन्द्र, भक्तपुरको सल्लाघारी प्रशोधन केन्द्र र धोवीघाट प्रशोधन केन्द्रको काम समेत प्रभावकारी रूपमा सञ्चालन भइरहेको आयोजनाले जनाएको छ ।
प्रधानमन्त्रीका विकास विज्ञ थपलियाका अनुसार प्रशोधन केन्द्र सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको वातावरण दुर्गन्ध रहित हुने, बायोग्यास उत्पादन हुने, प्रशोधनपछिको जैविक फोहोर प्राकृतिक मलका रूपमा प्रयोग गर्न सकिने जस्ता फाइदा हुनेछन् भने प्रशोधन गरिएको पानी सिँचाइ तथा सरसफाइमा समेत प्रयोग गर्न सकिनेछ ।
यसैगरी प्रशोधित फोहोर पानी नदीमा विसर्जन गरिने हुँदा नदी स्वच्छ तथा सफा भई माछा लगायत जलचरको वृद्धि हुनेछ । सो आयोजनाले चार वटै प्रशोधन केन्द्र निर्माण भएपछि दैनिक रूपमा नै करिब २२ करोड लिटर फाहोर पानी प्रशोधन गर्ने लक्ष्य लिइएको जनाएको छ ।
आयोजनाका अनुसार मेलम्ची आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेपछि उपत्यकामा प्रतिदिन कुल ५१ करोड लिटर खानेपानी उपलब्ध तथा खपत हुने र यसको ठूलो हिस्सा फोहोर पानीका रूपमा निष्कासन हुनेछ । त्यसलाई अत्याधुनिक रूपमा व्यवस्थापन गर्ने लक्ष्यसाथ प्रशोधन केन्द्रको निर्माण कार्य थालिएको हो । राजधानी दैनिकबाट साभार ।