सार्वजनिक शौचालयमा दिसापिसाब गरेको पैसा नलिने तर शौचालयको नियमित सरसफाइ, पानीको सुव्यवस्था र सेवा दिन सक्ने अवस्था बनाउने हाम्रो मोडेल हो । हामीले काठमाडौ महानगरपालिका तथा अन्य विभिन्न नगरपालिकामा सञ्चालित शौचालयहरुको हेर्यौं । त्यहाँ सेवाग्राहीबाट पैसा चाहिं लिने तर अस्तव्यस्त फोहोर र शौच नै गर्न नसक्ने अवस्था देख्यौं ।
अनि हामीले चाहिं रोजगारी पनि सिर्जना हुने, व्यापार व्यवसाय पनि गर्न पाइने, मर्मत सम्भार र सञ्चालनका लागि नगरपालिकाकाले अतिरिक्त खर्च व्यहोर्नु नपर्ने आफ्नै मोडेल बनायौं । हामीले शौचालयबाट नियमित आम्दानी गर्ने भन्दा शौचालय बनाएपछि यसको नियमित खर्च गर्न नपरोस्, यसको स्टाण्डर्ड कायम होस् र दिसापिसाबकै लागि सर्वसाधारणले खर्च गर्न नपरोस् भन्ने बिषयमा छलफल हुँदा यो विधि उपयुक्त ठान्यौं ।
यसका लागि हामीले सार्वजनिक शौचालय सँगै एउटा व्यापारिक प्रयोजनका लागि ठाउँ बनाएका हुन्छौं । त्यसमा कफी सप, रेष्टुरेन्ट, किराना पसल वा ग्रोसरी चलाउन सकिन्छ । सो सञ्चालनका लागि सुरुमा इच्छुकहरुबाट प्रस्ताव आव्हान गर्छौ र आकर्षक प्रस्तावलाई स्वीकृत गर्छौ । त्यसपछि नगरपालिका र प्रस्तावकर्ता बीच सम्झौता हुन्छ । सम्झौता अनुसार न्यूनतम रकम नगरपालिकालाई पनि बुझाउँछ र बाँकी शौचालयको सफाइ र पानीको प्रबन्ध उसैले गर्नुपर्ने दायित्व हुन्छ । समझदारी पत्रमा नै सबै कुरा उल्लेख गरिएको हुन्छ ।
हामीले यही मोडेलमा खरिपाटी भन्दा अलि अगाडि मोहनपोखरी भन्ने ठाउँमा सार्वजनिक शौचालय सञ्चालन गरेका छौं । त्यस्तै वडा नं. ९ ताथलीको पूल भन्ने ठाउँ र कलामसीमा पनि सञ्चालन भईरहेको छ । ती सबै ठाउँमा सुव्यवस्थित तरिकाले सञ्चालन भईरहेका छन् । यस्तै मोडेलमा सञ्चालन गर्ने गरी शौचालयहरु निर्माण पनि भईरहेका छन् ।
चाँगुनारायण मन्दिर नजिक बसपार्कमा यस्तै मोडेलमा चलाउने अन्तिम तयारी भईरहेको छ । यसको जिम्मा चाँगुनारायण व्यवस्थापन समितिलाई दिएका छौं । यस्तै तेलकोट भन्ने ठाउँमा सम्पन्न हुने चरणमा छ । नगरकोट टावर तलतिर पनि यस्तै मोडेलमा १ करोड १४ लाखको लागतमा निर्माण हुँदैछ । त्यहाँ चाहिं विदेशीहरु पनि आउने भएकाले अन्तर्राष्ट्रिय स्टाण्डर्डकै बनाउँदैछौं । त्यहाँ पनि ग्राउण्ड फ्लोरमा शौचालय हुन्छ । माथिल्लो फ्लोरमा चाहिं चिया, कफी सप यस्तै हुन्छ ।
यत्ति गरेपछि सेवाग्राहीले दिसापिसाब गरेको पैसा तिर्नुपरेन । पैसा तिर्नुपर्दा आम जनतालाई अफ्ठ्यारो पर्छ । बाटो हिड्दाहिड्दै दिसापिसाब लाग्छ, त्यत्तिबेला पैसा नहोला, पैसाकै लागि दुव्र्यहार होला तर अब त्यो अवस्था भोग्नु परेन । शौचालयको नियमित मर्मत, सम्भार, सरसफाइ र पानीको आपूर्ति पनि हुने भयो, रोजगारीको अवसर पनि सिर्जना हुने भयो । यसको अनुगमनको जिम्मा सम्बन्धित वडालाई दिईएको छ । खासगरी वडाका पदाधिकारीहरुले बेला बेलामा अनुगमन गर्नुहुन्छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रसँग गरिएको कुराकानीमा आधारित


1047 पटक हेरिएको 

