मुख्यमन्त्री स्वच्छता अभियानको सार्वजनिक शौचालयमा अपाङ्गतामैत्री डिजाइनमै परेन


जनकपुर : प्रदेश २ सरकारको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत निर्माण भईरहेका ६० वटा सार्वजनिक शौचालय मध्ये कुनै पनि अपाङ्तामैत्री नबन्ने भएका छन् । प्रदेश २ का ८ वटै जिल्लामा बनिरहेका शौचालयको डिजाइनमै अपाङ्गतामैत्री समावेश नगरिएको मुख्यमन्त्री स्वच्छता अभियानका सरसफाइ संयोजक सलाउदीन अहमदले बताउनुभयो । ‘‘शौचालयको डिजाइन गर्ने इञ्जिनियर वासको बारेमा त्यत्ति जानकार नभएको पर्नुभएछ र अपाङ्गतामैत्री नराखी टेण्डर आव्हान गरिहाल्नु भएछ’’ संयोजक अहमदले भन्नुभयो । तर मुख्यमन्त्री स्वच्छता अभियानका इञ्जिनियर भगवान झाले भने अपाङ्गतामैत्री शौचालय थप गर्दा बजेटले नभ्याउने भएपछि अपाङ्गतामैत्री समावेश नगरी डिजाइन गरिएको बताउनुभयो ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत गत आर्थिक बर्ष २०७६÷०७७ को कार्यक्रम अन्तर्गत प्रदेश २ को ८ वटै जिल्लाका मुख्य चोक, बजार तथा सर्वसाधारणको अति भीडभाड हुने कार्यालयहरु मालपोत, नापी, जिल्ला प्रशासन लगायतमा ६० वटा शौचालय निर्माण भईरहेको छ ।

सुनकोशी नेपाल प्रा.लि. काठमाडौले करिब ९ करोड रुपैयाँमा ठेक्का पाएको ६० वटा शौचालय निर्माणको काम करिब अन्तिम चरणमा पुगेको इञ्जिनियर झाले बताउनुभयो । ‘‘कुनै जिल्लामा ५ वटा, कुनैमा ८ वटा र कुनैमा १० वटा सम्म पनि छन्, त्यहाँको आवश्यकता हेरी निर्माण भईरहेको छ । यसको ९० प्रतिशत भन्दा बढी काम सम्पन्न भईसकेको छ’’ झाले भन्नुभयो ।

चालु आर्थिक बर्षको बजेटबाट ३५ वटा अपाङ्गतामैत्री शौचालय

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत नै चालु आर्थिक बर्षभित्रै ३५ वटा सार्वजनिक शौचालय निर्माण हुने भएको छ । सार्वजनिक शौचालय निर्माणका लागि टेण्डरको अन्तिम तयारीमा रहेको र केही दिनभित्रै टेण्डर गरी ठेक्का प्रक्रियामा लैजाने इन्जिनियर भगवान झाले जानकारी दिनुभयो । ‘‘आर्थिक अभावका कारण अघिल्ला ६० वटा शौचालयमा पनि अपाङ्गतामैत्री कोठा बनाउन सकेनौं, चालु आर्थिक बर्षमा बन्ने शौचालयमा त्यो डिजाइन राखेका छौं, तर रकमकै अभाव छ’’ उहाँले भन्नुभयो ।

सार्वजनिक शौचालय निर्माण सम्पन्न भएपछि सञ्चालनको जिम्मा सम्बन्धित स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना मुख्यमन्त्री स्वच्छता अभियानको छ । अभियानका सरसफाइ संयोजक सलाउदीन अहमद भन्नुहुन्छ ‘‘शौचालय निर्माण सम्पन्न भएपछि प्रदेश सरकारले नै सञ्चालन गर्न र रेखदेख गर्न सम्भव छैन । निर्माण सम्पन्न भएपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्छौ । त्यसपछि कसरी सञ्चालन गर्ने ? पुरानै तरिकाले निजी क्षेत्रलाई ठेक्का दिएर सञ्चालन गर्ने वा कसरी गर्ने भन्ने सम्बन्धित स्थानीय सरकारकै जिम्मा हुन्छ’’ उहाँले भन्नुभयो ।

प्रदेश २ सरकारले चालु आर्थिक बर्ष मुख्यमन्त्री स्वच्छता अभियानका लागि ५३ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार