धनकुटा : धनकुटाको अरुणोदय खानेपानी आयोजना,ओख्र खानेपानी आयोजना, खुडितरिटोल खानेपानी आयोजना र थलथले खानेपानी तथा सरसफाइ आयोजना सम्वन्धित वडालाई हस्तान्तरण गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति काठमाडौंको आर्थिक तथा सहयोगी संस्था गरिवी निवारण तथा ग्रामीण विकास कार्यक्रम (पर्डेप—नेपाल) धनकुटाको प्राविधिक सहयोगमा धनकुटा जिल्लामा निर्मित ८ वटा खानेपानी आयोजनाहरु मध्ये ४ वटा खानेपानी आयोजना सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो ।

खानेपानी आयोजना वडा कार्यालयमा हस्तान्तरण भएपछि आयोजनाको स्वामित्व स्थानीय तह वडा कार्यालयमा गएको छ भने उपभोक्ता समितिवाट खानेपानीको तथा रेखदेखको काम हुनेछ। बाँकी ४ वटा खानेपानी आयोजना पनि क्रमशः हस्तान्तरण गर्दै लगिने पर्डेप नेपालका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाइ आयोजना वडा कार्यालयलाई हस्तान्तरण गरिएको यो नै पहिलो आयोजना हुन सक्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
धनुकटा जिल्लाको विकट गाउँमा सम्पन्न सागुरिगढी गाउँपालिका वडा नं.८ स्थित महाभारतको खुडितरिटोल खानेपानी आयोजनाको वडाअध्यक्ष विनय राई, सहयोगी संस्थाका अध्यक्ष नरेश प्रसाद श्रेष्ठ र खुडितरिटोल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिल वहादुर नेपालीले संयुक्त हस्ताक्षर गरी वडा कार्यालयलाई हस्तान्तरण भएको छ । आयोजना हस्तान्तरण अघि वडा कार्यालय, सहयोगी संस्था पर्डेप र उपभोक्ता समितिका प्रतिनिधिहरु सम्मिलित संयुक्त टोलीवाट खानेपानीको श्रोत÷मूल र अन्य संरचनाहरुको अनुगमन गरिएको थियो ।

खानेपानी तथा सरसफाइ आयोजना खानेपानीका श्रोतहरु घटेर पानी पिउन धौधौ परिरहेको अवस्थामा २०७५ साल वैशाख ९ गते खानेपानी आयोजना सहयोगी संस्थाको सहजीकरणमा गाउँलेहरुले निर्माण गरेका थिए । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिबाट ३६ लाख ६६ हजार ८०१ रुपैयाँ आर्थिक सहयोग उपभोक्ताको तर्फबाट नगद र श्रमदान गरी ९ लाख ७९ हजार ९७ रुपैयाँ गरी ४६ लाख ४६ हजार ७७ रुपैयाँको लागतमा एक घर एक धाराको व्यवस्था गरिएको थियो । पर्डेपका अध्यक्ष नरेश प्रसाद श्रेष्ठका अनुसार हाल ९२ घरपरिवारका ५ सय ५७ जनाले खानेपानीको उपभोग गरिरहेका छन् ।
गाउँ देखि २ किलो मिटर टाढा खोलाको पानी ल्याएर खानेपानी खान परेको अवस्थामा उक्त खानेपानी हिउदमा पानी राम्रै भएपनि वर्षातको समयमा पानी धमिलो र प्रदुषण हुने भएकाले पानी सुरक्षित तरिकाले पिउने तरिकाबारे ध्यान दिनुपर्ने उपभोक्ता समितिका अध्यक्ष दिल वहादुर नेपालीले बताउनुभयो ।
पर्डेप नेपालका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले भने पानी शुद्धिकरणका लागि छिटो फिल्टर जडानका लागि फण्डवोर्ड समक्ष प्रस्ताव राखि सकिएको र फण्डवोर्ड यस विषयमा सकारात्मक भएको बताउनुभयो । खानेपानीको स्रोत नजिकै कावेली कोशी करिडोर सडक निर्माणका कारण खोलाको पानीमा मानिसहरुको आवातजावात वढेको, नुहाउने, लुगाधुने आदि कारणहरुले पिउने पानीमा प्रदुषण वढिरहेको, सडक खन्ने क्रममा खानेपानीका पाईपहरु, रिजर्भवयर टंकी र झोलुंगे पुल र सिचाई गर्ने कुलोमा क्षति पुगेको उपभोक्ता समितिका सचिव घनश्याम मगरले बताउनुभयो । उहाँले यसबारेमा ध्यानाकर्षण गर्दा पनि निर्माण कम्पनीले उपेक्षा गरेको र हालसम्म पनि क्षति भएको संरचनाहरुको मर्मत नहुँदा गाउँलेहरुलाई ठूलो मर्का परेको बताउनुभयो ।


1056 पटक हेरिएको 

