बझाङ : बझाङको जयपृथ्वी नगरपालिका वडा नंं. ८ बारिलका बासिन्दाले खानेपानी, विजुली र सडक सुविधाको माग गर्दै नगरपालिकामा धर्ना दिएका छन् । जन निर्वाचित प्रतिनिधीले नगरपालिकाबाट कुनै बजेट तथा कार्यक्रम नराखेको भन्दै नाराबाजी गर्दै बारिलका बासिन्दाले धर्ना दिएका हुन् ।

खाराबगर बारील सडक खण्डमा आवश्यक बजेट विनियोजन नगरेको हुँदा थप बजेटको माग गर्दै बारिलका बासिन्दालेदबाब गर्नु परेको खाराबगर बारील सडक खण्ड उपभोक्ता समितिका अध्यक्ष मंगलबहादुर बोहराले बताउनुभयो । पहिराले बाटो नै अवरुद्ध गरेको र सडक निर्माण गर्न पर्याप्त बजेट नभएका कारण बाटो गाउँसम्म जोड्न नसक्दा समस्या भएको बताउनुभयो ।
सडक सुविधाको अभावमा गर्भवती, सुत्केरी महिला तथा विरामीहरुलाई झनै समय परेको छ । उपचारको लागि लैजानु परे ३–४ घण्टा पैदल यात्रा पछि मात्र यातायातको साधन भेटिने बारिलबासी बताउँछन् । कतिपय सुत्केरी तथा गर्भवती महिलाहरुको त बाटोमै ज्यान जाने गरेको छ । बाटो समेत साँघुरो भएकाले ढुक्क तरिकाले यात्रा गर्न नसकिने अध्यक्ष बोहराले बताउनुभयो ।
गाउँमा खानेपानीको सुविधा नहुँदा अझै कुवाको पानी पिउनुपर्ने र त्यो पनि पालैपालो भर्नुपर्ने अवस्था रहेको बारिलका बासिन्दा बताउँछन् । खानेपानी अभावमा महिलाहरुको आङ खस्ने समस्या जस्ता विभिन्न स्वास्थ्य समस्या सिर्जना भएकाले घरघरमै खानेपानीको उपलब्ध गराउन धर्ना दिनुपरेको बारिलकी सपना बोहोराले बताउनुभयो ।
जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले भने बारिलमा सडक यातायातको सुविधा पुर्याउन भरमग्दुर प्रयास गरिने र यसका लागि नगरपालिकाको कार्यापालिका बैठक बसेर आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हालका लागि ५ लाख रुपैयाँ सडक निर्माणका लागि विनियोजन गरिएको र केही बजेट थप गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बारिलका बासिन्दाले भने गाउँमा खानेपानी, सडक र विजुलीको प्रबन्ध नभएसम्म नगरपालिकाको ध्यान केन्द्रित गर्न पनि धर्ना दिईने बताएका छन् ।


846 पटक हेरिएको 

