वास खवर सम्वाददाता/बिराटनगर (मोरङ) : वास खवर डिजिटल पत्रिकाका अतिथि सम्पादक विनोद धौलागिरि (शर्मा) लाई सुशीला चापागाई स्मृति समाजसेवा सम्मान प्रदान गरिएको छ । नेपालमा सरसफाइ प्रबर्द्वनको माध्यमबाट सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै धौलागिरिलाई सो सम्मान प्रदान गरिएको हो । शुक्रबार बिराटनगरमा आयोजित कार्यक्रममा उहाँलाई यो सम्मान प्रदान गरियो ।

यसैगरी, सुशीला चापागाई स्मृति समाजसेवा पुरस्कार बेलबारी नगरपालिकाका सरसफाइ च्याम्पियन रत्नादेवी खवासलाई प्रदान गरिएको छ । महिला अधिकार, प्रजनन् अधिकार, सरसफाइ प्रवद्र्धन र सामाजिक कुरीतिविरुद्ध पाँच दशकभन्दा लामो समयसम्म अथक रुपमा पु¥याएको योगदानको कदर गर्दै खवासलाई सो पुरस्कार प्रदान गरिएको हो । खवास अहिले बेलबारी नगरपालिका, वडा नं. ८ मा रहेको सफा र स्वच्छ क्षेत्र घोषित आदर्श बस्ती रैझार पूर्ण सरसफाइ व्यवस्थापन समितिको संयोजक समेत हुनुहुन्छ ।

पुरस्कृत एवम् सम्मानित दुबै व्यक्तित्वलाई जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नरेश प्रसाद पोखरेल र पुरस्कार संस्थापक नारी विकास संघ केन्द्रीय समिति अध्यक्ष सीता शर्मा दाहाले सम्मान गर्नुभयो ।
सम्मानित अतिथि सम्पादक धौलागिरि सन् २०६० देखि सामाजिक रुपान्तरण अभियानमा आवद्ध हुनुहुन्छ भने सन् २०६४ देखि पूर्ण सरसफाइ प्रवद्र्धनमा क्रियाशील हुनुहुन्छ । वि.सं.२०५५ सालदेखि औपचारिक रुपमा पत्रकारिताको थालनी गर्नुभएका धौलागिरि यसअघि ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको जिल्ला संयोजकको रुपमा धनुषा, महोत्तरी, झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा रहेर पूर्ण सरसफाइ अभियानको नेतृत्व गरिसक्नुभएको छ । यसैगरी सहजीकरण गर्ने संस्थाबाट कार्यक्रम संयोजकको रुपमा अर्घाखाँची, बाजुरा लगायतका जिल्लामा रहेर सरसफाइ प्रवद्र्धनमा योजना निर्माण, सहजीकरण, क्षमता अभिवृद्धि, अनुगमन ढाँचा एवम् मार्गदर्शन तयारी, दस्तावेजीकरण र क्षेत्रगत प्रज्वलन एवम् क्षेत्रगत समन्वयमा योगदान गरिसक्नुभएको छ । उहाँ अहिले १ नं. प्रदेश वास क्लस्टरको सहसंयोजकको रुपमा समेत क्रियाशील हुनुहुन्छ ।
पुरस्कृत रत्नादेवी खवास यसअघि पाँच दशकभन्दा बढी विभिन्न संघसंस्था र समितिमा रहेर सामाजिक परिवर्तन, महिला अधिकार र मूलतः सरसफाइ प्रवद्र्धनको माध्यमबाट सामाजिक रुपान्तरणमा क्रियाशील हुनुहुन्छ । उहाँकै नेतृत्वमा आदर्श बस्ती रैझार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको अनुगमन निर्देशिका बमोमिज संयुक्त अनुगमन गरी सफा र स्वच्छ क्षेत्र घोषित बस्ती हो । रैझारले अहिले पूर्ण सरसफाइउन्मुख समुदाय निर्माणको योजना कार्यान्वयन गरिरहेको छ, र खवासले सो अभियानको समेत नेतृत्व गरिरहनुभएको छ ।
दुबै अनुकरणीय व्यक्तित्व
सम्मान समारोहका प्रमुख अतिथि पोखरेलले दुबै सम्मानित व्यक्तित्वहरु अनुकरणीय भएको बताउनुभयो । “बुहारीको रुपमा बेलबारी भित्रिएर पाँच दशकभन्दा बढी समय निरन्तर रुपमा महिला अधिकार, मानव अधिकार, महिला सशक्तीकरण र आयआर्जन, सरसफाइ प्रवद्र्धनका माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान गर्दै अहिले पनि नेतृत्वदायी भूमिका खेल्ने रत्नादेवी खवासलाई जति सम्मान गरे पनि पुग्दैन”, पोखरेलको भनाइ छ, “सामाजिक परिवर्तन कार्यक्रमका लागि विभिन्न नागरिक समाज संस्था एवम् विकास साझेदारमा आवद्ध भएर त्यसलाई जागिरको रुपमा नहेरी समग्र सामाजिक रुपान्तरणका विभिन्न आयाममा क्रियाशील हुँदै नेतृत्व लिन सक्नु धौलागिरिको विशेषता हो ।” दुबै जना पूर्ण सरसफाइसँग सम्बन्धित भएकोले यो सम्मानबाट जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति र आफू समेत सम्मानित भएको महसुस गरेको पोखरेलले बताउनुभयो ।

नारी विकास संघका अध्यक्ष सीता शर्मा दाहालले पुरस्कृत र सम्मानित व्यक्तित्वको चयन निकै जटिल विषय भएको बताउँदै छनौट समितिले धौलागिरि र खवासलाई छनौट गरेकोमा खुशी व्यक्त गर्नुभयो । “समितिले साच्चिकै उदाहरणीय व्यक्तिहरुलाई चयन गरेको छ”, उहाँले भन्नुभयो, “स्व. सुशीला चापागाईको सामाजिक रुपान्तरण अभियानको मर्मलाई काँध थाप्न सक्ने व्यक्तित्व चयन हुनुभएको छ ।”
नारी विकास संघ विराटनगरका संस्थापक अध्यक्ष स्व. सुशीला चापागाईको स्मृतिमा संघले सो पुरस्कार स्थापना र सञ्चालन गरिरहेको छ । पाचौं सुशीला चापागाई स्मृति दिवसको अवसरमा शुक्रबार सो सम्मान प्रदान गरिएको थियो ।


1625 पटक हेरिएको 

