विद्यालयका सरसफाइ सुविधा बालमैत्री बन्दै

सुर्खेत : सामुदायिक विद्यालयका सरसफाइ सुविधा बालमैत्री बनाउने अभियान थालिएको छ । यसका लागि विद्यालयले शौचालयको मर्मत तथा पुनर्निर्माण, सुरक्षित खानेपानीको धारा निर्माण, छात्राहरु महिनावारी हुँदा आराम गर्ने कक्ष निर्माण, स्यानेटरी प्याड डिस्पोज निर्माण, वालबालिकामैत्री कक्षा कोठाको मर्मत तथा व्यवस्थापन लगायत काम गरिएको छ । सुरक्षित विद्यालय निर्माण गर्दै बालबालिकाको सिकाइ दर बढाउन यो अभियान थालिएको हो ।


सरसफाइ सुविधा बालमैत्री बनाउन जिल्लाका १२ वटा विद्यालयलाई १५ लाख रुपैयाँ वरावरको सहयोग प्रदान गरिएको छ । भिएसओ नेपालको सहयोगमा आसमान नेपालले सुर्खेत जिल्लाका पाँच वटा गाउँपालिकामा रहेका विभिन्न १२ वटा विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त रकमबाट विद्यालयहरुले भौतिक सुधार गरेका छन् । विद्यालयहरुसँग सम्झौता गरेर काम अगाडि बढाइएको भिएसओ नेपालका राष्ट्रिय स्यंमसेवक जेसन तामाङले जानकारी दिनुभयो । यसबाट विद्यालयमा अध्ययन गर्ने छात्रछात्राले विद्यालयमा रहँदा सुरक्षित रुपमा सिकाइ गर्न सक्ने अपेक्षा गरिएको छ । सहयोग रकमबाट सुरक्षित शौचालय निर्माण गरिएको र यसले विद्यार्थीलाई सहज भएको भेरी माध्यमिक विद्यालय रानीघाटका प्रधानाध्यापक रन्तवहादुर वुढाले जानकारी दिनुभयो । विद्यालयमा खानेपानीको धारा निर्माण भएपछि आफुहरुलाई सहज भएको जनक मावि गमखोलाकी छात्रा ताजगी हमालले बताउनुभयो ।

सुरक्षित सिकाइ परियोजनाले सहयोग गरेपछि शौचालय प्रयोगमा ल्याइएको उहाँको भनाइ छ । विद्यालयसँग स्रोत नहुँदा लामो समयसम्म समस्या भोग्नु परेको र सहयोग रकम पाएपछि अन्य विद्यालयले पनि सुरक्षित सिकाइका लागि काम गरेको उहाँले बताउनुभयो । हाल सुरक्षित सिकाइ परियोजनाले विद्यालयमा मर्मत संहारका कार्य सहित अभिभावक सचेतना, वालवालिकाहरुका लागि सुरक्षित विद्यालय निर्माणका लागि आत्मरक्षा तालिम, वालविवाह सम्वन्धी सचेतना लगायतका कार्य गर्दै आएको परियोजना अधिकृत जानकी घर्तीले बताउनुभयो ।

सामुदायिक विद्यालयमा बालबालिकाहरुले शौचालय जीर्ण भएको, शौचालय सफाइ नभएको, विद्यालयमा खानेपानीको समस्या भएको बारम्बार गुनासो गरेपछि त्यसको समाधानका लागि परियोजनाले सहयोग उपलब्ध गराएको हो । हाल शौचालय मर्मत र विद्यालयमा खानेपानी उपलब्ध भएपछि परियोजना संचालन भएका विद्यालयका पाँच हजार भन्दा धेरै विद्यार्थी लाभान्वित भएका छन् ।

परियोजनाले अब महिनावारीको बेलामा छात्राहरुलाई समस्या नहोस् भन्नका लागि ६ लाख वरावरको सुरक्षित आराम कक्ष निर्माणको योजना बनाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार