काठमाडौ : महाशिवरात्रि मेलापछि पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गर्न थालिएको छ । वाग्मती सफाइ महाअभियानको ४०९औँ हप्तामा पशुपति क्षेत्रको हंसमण्डपमा सफाइ गरी २० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । महाशिवरात्रिका अवसरमा फागुन २७ गते हंसमण्डप क्षेत्रमा खाना खुवाउने, सांस्कृतिक कार्यक्रमसहित भक्ति सङ्गीत समेत आयोजना गरिएको थियो ।
हंसमण्डप क्षेत्रमा प्लाष्टिक, कागजका प्लेट, प्लाष्टिक र कागजका गिलास, बोत्तललगायत फोहर यत्रतत्र फालिएका अवस्थामा वाग्मती सफाइ महाअभियानले सफा गरेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलले जानकारी दिनुभयो । फोहरको डङ्गुर जम्मा भए पनि तीन दिनदेखि सफा नगरी थुप्रिएको अवस्थामा भेटिएको अभियानकर्मीको गुनासो छ । भोजन एवं अन्य गतिविधि गर्ने समूहलाई नै सफा गराउन नसकिएको भेटिएको जनाइएको छ । सफाइमा मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डे, तिलगङ्गा सफाइ समूह, चक्रपथको उत्तरखण्ड र मैतीदेवी सफाइ समूह पनि पशुपति क्षेत्रको सफाइमा केन्द्रित भएका जनाइएको छ ।
महाअभियानले यसअघि फागुन २२ गतेको सफाइ पनि पशुपति क्षेत्रको सूर्यघाटबाट आर्यघाटसम्म गरेको थियो । महाशिवरात्रिमा पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले महाशिवरात्रि अघि र पछिका दुवै शनिबार पशुपति क्षेत्रमै सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताउनुभयो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारीका बेलासमेत निरन्तर हुँदै आएको छ ।
वाग्मती सफाइ महाअभियान शुरु भएपछि नदीका विभिन्न स्थानका साथै यसका सहायक नदीसमेत सफाइ भइरहेको छ । महाअभियानबाट प्रभावित भएर देशका मुख्य शहर एवं नदी क्षेत्रमा सफाइ शुरु भएको छ । हाल देशभर १०७ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । वाग्मती नदी किनारमा रहेका मठमन्दिरमा विशेष मेला लाग्ने बेलामा सफाइ महाअभियान तिनै मठमन्दिर केन्द्रित हुने गरेको छ । नदी किनारमा रहेका मठमन्दिर व्यवस्थापन समिति एवं स्थानीय सरकारका एकाइ सफाइमा केन्द्रित नभएको भेटिएको अभियानकर्मीको गुनासो छ । शहर, नदी, सम्पदा सफा राख्ने हो भने सबै संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ ।