
कालिकोट : कालिकोटको खाँडाचक्र नगरपालिकाको ४ वटा खानेपानी योजनाको लाभान्वित क्षेत्रलाई एकै दिन सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । खाँडाचक्र नगरपालिकाको वडा नं. ५ को बिहानी खानेपानी योजनाबाट लाभान्वित १६ घरपरिवार, वडा नं. ११ को जिमजेडि खानेपानी योजनाको सेवा क्षेत्रका ५० घरपरिवार, वरातु खानेपानी योजनाको पानी पिउँदै आएका ३३ घरपरिवार र ववेडि खानेपानी योजनाबाट लाभान्वित २५ घरपरिवारलाई एकैदिन सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।
खानेपानी योजनाको सेवा क्षेत्रलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नु अघि खानेपानी सुरक्षा योजना कार्यान्वयन गरिएको थियो । यस अन्तर्गत खानेपानी गुणस्तर मापन तथा तिनको प्रभावकारिताको मुल्याङ्कन, समितिद्वारा स्वःघोषणा, स्वतन्त्र अनुगमन टोलीबाट समुदायको अनुगमन तथा अनुगमन टोलीद्वारा सुरक्षित खानेपानीयुक्त समुदायको प्रमाणीकरण गरिएको कालिकोटका वास को-अर्डिनेटर गणेश बहादर रावलले जानकारी दिनुभयो । सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाका लागि युनिसेफ नेपाल र जिल्ला खानेपानी कार्यालयले सहयोग गरिएको थियो ।

सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा सभामा खानेपानी सुरक्षित छ भन्ने सन्देशका साथ नगर प्रमुख जसि प्रसाद पाण्डे, उप प्रमुख विजया विष्ट लगायतले धाराको पानी कुनै शुद्धिकरण बिना नै करुवाबाट पिउनु भएको थियो । चारै वटा समुदायका गरी १ सय २४ घरपरिवार सुरक्षित खानेपानी समुदायमा थपिएका छन् ।
सुरक्षित खानेपानीयुक्त घोषणाका सबै मापदण्डहरु पूरा भएपछि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको नगर प्रमुख पाण्डेले बताउनुभयो । उहाँले भावी दिनमा अन्य समुदायलाई समेत मापदण्ड पूरा गराई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिने र एक बर्षभित्र नगरपालिका नै सुरक्षित खानेपानीयुक्त नगरपालिकाका घोषणा हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसअघि खाँडाचक्र नगरपालिकाको वडा नं. ७ पिली, सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भईसकेको छ । सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भएको पिली नै कर्णाली प्रदेशको पहिलो समुदाय हुनसक्ने नगरपालिकाले जनाएको छ । सुरक्षित खानेपानीयुक्त घोषणा भएको समुदायमा मुहान देखि धारासम्मको भोेतिक र सामाजिक अवस्था राम्रो रहेको र पानीमा कुनै कोलिफर्म नभेटिएको कालिकोटका वास को-अर्डिनेटर गणेश बहादर रावलले जानकारी दिनुभयो ।



1827 पटक हेरिएको 

