यसरी गरिदैछ वालिङमा मानव मलमूत्रको व्यवस्थापन

स्याङजा : फोहरमैला व्यवस्थापनको क्षेत्रमा देशमै उत्कृष्ट कहलिएको वालिङ नगरपालिकाले दिसाजन्य लेदो प्रशोधन प्लान्ट सञ्चालन गर्ने भएको छ । फोहरमैला व्यवस्थापनकोे क्षेत्रमा उदाहरणीय बन्दै आएको नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापनका लागि प्रशोधन प्लान्ट निर्माण गरी सञ्चालनको अन्तिम तयारी गरेको हो ।

मानव मलमूत्रले सेफ्टी ट्याङ्की भरिएपछि खुला वातावरणमा लगेर आफूखुशी फाल्ने गरेका कारण दिसाजन्य लेदो प्रशोधन प्लान्ट निर्माण गरिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । खुला ठाउँमा बिसर्जन गरिएको दिसाले खोलानाला, पानीका स्रोत तथा वातावरण प्रदूषित भएकाले यसको उचित व्यवस्थापनका लागि प्रशोधन प्लान्ट निर्माण गरिएको उहाँको भनाइ छ ।

“अहिले घर–घरमा निर्माण भएका सेफ्टी ट्याङ्की दिसाजन्य लेदो भण्डारण गर्ने ट्याङ्की मात्रै हुन्भ, भरिएपछि अन्यत्रै लगेर फाल्नुपर्ने अवस्थाको अन्त्य गरी अब नगरपालिकाले बनाएको प्लान्टमा व्यवस्थापन गरी बायोग्यास तथा कम्पोष्ट मल बनाउनेछौँ ।” नगरप्रमुख खाँणले भन्नुभयो ।

नगरभित्रका खानेपानी तथा अन्य खोला नदीका पानीका स्रोतमा ‘कोलिफर्म’ अत्यधिक मात्रामा देखा परेकाले पानी प्रदूषित भई अनेक खालका महामारीजन्य रोग उत्पन्न हुनसक्ने भएकाले जनस्वास्थ्यलाई मध्यनजर गरी प्लान्ट निर्माण गरिएको उहाँले बताउनुभयो ।

नेपाल नगरपालिका सङ्घसँग समन्वय गर्दै नगरपालिकाले वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोग, राष्ट्रिय योजना आयोग, सङ्घीय मन्त्रालय, सिटी नेट, एसप्याक, युएनडिपी, बिलगेट्स एण्ड मेलिन्दा फाउण्डेशनको सहयोगमा एकीकृत फोहर व्यवस्थापन कार्यक्रम अन्तर्गत निर्माण अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । “प्लान्टबाट आधुनिक कम्पोष्ट मल बनाउने, बायोग्यास निकाल्ने र पानीलाई प्रशोधन गरी सिँचाईका लागि प्रयोग गर्ने योजना सहित अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो ।

अब छिट्टै सञ्चालनमा आउने यो प्लान्ट एकीकृत फोहरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिका स्तरमा नेपालकै पहिलो प्लान्ट हुने नगरपालिकाको दाबी छ । दिसापिसाबको व्यवस्थित सङ्कलनदेखि सुरक्षित विसर्जनसम्मको चरणबद्ध प्रक्रिया सरसफाइ प्रणाली हो । यो प्रणाली अन्तर्गत सङ्कलन, भण्डारण, रित्याउने र ढुवानी गर्ने, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन रहेका छन् । नगरपालिकाले फोहरमैला व्यवस्थापनका क्षेत्रमा देशभरमै उत्कृष्ट स्थान प्राप्त गरी पुरस्कृत भएसँगै वालिङमा बाहिरी जिल्ला, नगरपालिका तथा विभिन्न सङ्घसंस्थाबाट अध्ययन अवलोकन भ्रमणका लागि आउने गरेका छन् ।

घर–घरमा निर्माण भएका सेफ्टीट्याङ्की तथा खाल्डो भरिएपछि खाली जमिन, खेतबारी, जङ्गलमा ट्याङ्कर मार्फत विसर्जन गरिँदै आएकामा अब प्लान्ट सञ्चालनमा आएपछि व्यवस्थित हुने प्राविधिक सहयोग गर्दै आएको वातावरण जनस्वास्थ्य संस्था (एन्फो) का परियोजना संयोजक बुद्ध बज्राचार्यले बताउनुभयो । नेपाल नगरपालिका सङ्घको सहयोगमा सो नगरपालिका सहित लहान, धुलिखेल, लमही र भीमदत्त नगरपालिकामा यसप्रकारको प्लान्ट निर्माण गरिने भएकोछ ।

“छ हजार लिटर क्षमताको प्लान्ट निर्माणको तयारी अन्तिम चरणमा छ”, परियोजना संयोजक बज्राचार्यले भन्नुभयो, “प्लान्टबाट निस्कने बायोग्यास, कम्पोष्ट मल तथा पानीलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिनेछ ।” निजी केही व्यवसायीले व्यवस्थापनमा काम गर्दै आए पनि अब प्लान्ट निर्माणसँगै नगरवासीलाई थप सहज र सस्तो पर्ने भएपछि स्थानीयवासी खुशी छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार