सन्दर्भ : विश्व पानी दिवस मिथिला संस्कारको केन्द्रमा ‘पानी’

विनोद कुमार महतो/जनकपुरधाम : न त कुनै रंग छ, न कुनै स्वाद छ र न त कुनै गन्ध छ । यी तीनै चिज हो जसलाई जहाँ पनि जसरी जेमा मिलाए पनि रुप, आकार, स्वाद गन्ध र रंगमा परिवर्तित हुन्छ जान्छ । स्वादहिन, गन्धहिन, रंगहिन भनेर कसैलाई प्रश्न गर्दा पनि पानी भनेर सहजै जवाफ आउँछ होला । हो, आज हामी कुरा गर्दै छौ, यस धर्तीमा प्रकृतिले दिएको अमूल्य उपहार पानी को । भनिन्छ, स्वच्छ पानी, हाम्रो जिन्दगानी हो । यस धर्तीमा पानी विनाको जीव र जीवन कल्पना समेत गर्न सकिदैंन ।
यस भौतिक संसारमा जति पनि चिज संजिव, निर्जिव पदार्थहरु छन् अर्थात फल्ने, फुल्ने, बढ्ने, घुल्ने, सुक्ने, मर्ने सबैलाई पानी चान्हिन्छ । धर्तीमा अनेकौ जीवजन्तुहरु छन् । यी सबैको लागि पानी नभई नहुने चीज हो । पानी विना त पृथ्वीमा कुनै मानव वा जीवजन्तुको परिकल्पना पनि गर्न सकिदैंन ।

पृथ्वीमा ठोस, तरल र वाष्प गरी तीनवटै रुपमा पानी उपलब्ध छ । पानी महत्वपूर्ण प्राकृतिक संसाधन हो, जसले वातावरणमा सन्तुलन बनाएर राखेको हुन्छ । तर यहि पानीको सन्तुलन विग्रियो भने पृथ्वीको सन्तुलन नै विग्रिन जान्छ ।

पृथ्वीमा भएको पानीमध्ये जम्मा ३ प्रतिशत पानीमात्र पिउनयोग्य छ । अब चिन्ता छ, हामीले यस सीमित पिउनयोग्य पानी कसरी बचाउने र सुरक्षित गर्ने ? यदि हामी मानव जातिले यसको संरक्षण र बचाउने उपाय बारे कुनै कार्य गरेनौं भने कालान्तरमा पानी पानी भन्दै जिन्दगीको अन्तिम श्वास छोड्दै प्राण त्याग्नु बाहेक अर्को कुनै विकल्प रहदैंन ।

पानीको महत्वलाई बुझ्दै यसको संरक्षण र उपयोगको बारेमा जागरुकता ल्याउनुपर्ने आजको प्रमुख आवश्यकता हो । यसै आवश्यकतालाई चिन्तन मनन गर्दै मानव जातिले पानीको मुहान, स्रोतलाई संरक्षण गर्न जरुरी छ । यसको लागि साझा अभियान र प्रयास हुनुपर्छ । सबै निकायबाट खानेपानीको स्रोत र मुहानलाई संरक्षण गर्ने गरी पानी बचाउ अभियान चलाउनु पर्ने हुन्छ । जसले भविष्यको लागि समेत पानी संचित हुन्छ र हाम्रा आउने पुस्ताले पानीको अभाव झेल्नु पर्दैन ।

पानी जीवन हो । तर स्वच्छ र सफा पानी कहाँबाट आउँछ ? यसै चिन्तनका साथ खानेपानी स्वच्छता अभियान तथा मुहान र स्रोत संरक्षण गर्ने कार्य विश्वभरि नै अगाडि बढेको छ । यसको लागिसन् १९९३ मार्च २२ तारिख देखि नै प्रत्येक वर्ष विभिन्न सन्देशमूलक नारा, जनचेतनामूलक कार्यक्रमहरुका साथ विश्व पानी दिवस विश्वभरि मनाइँदै आएको छ ।

नेपालमा समेत विश्व पानी दिवसको अवसर पारेर हरेक वर्ष विविध जनेचतनामूलक, अभियान मूलक कार्यक्रमहरु हुँदै आएको छ । पानीको मुहान, स्रोत, ईनार, पोखरी, नदी, ताल तलैयाहरुको संरक्षण गर्नु अति आवश्यक छ । भूमिगत पानीको स्रोत संरक्षण पनि गर्नु पर्ने हुन्छ । भूमिगत पानी बचाउनका लागि सरकार, विभिन्न दातृ निकाय, संघसंस्था तथा अभियानीहरुको सहयोगमा रिचार्ज पोखरी, रिचार्ज इनारको कार्य समेत कतिपय ठाउँहरुमा अगाडि बढेको छ । यस्तै नदी, पोखरी, तालतलैया सरसफाइ र संरक्षण गर्ने अभियान समेत चलि रहेको छ । अब विश्व पानी दिवसको दिन मात्र हैन, वर्षैभरि पानीको स्रोत संरक्षण, सम्वद्र्धन र यसको बचाउको लागि सबैले जागरुक हुनै पर्छ र बचाउनै पर्छ ।


मिथिला संस्कारमा पानी

विश्वको आंकडालाई मान्ने हो भने, हाम्रो देश नेपाल विश्वमा पानीको दोस्रो धनी राष्ट्र हो । यहि पानीको दोस्रो धनी राष्ट्रको हाल ७ वटा प्रदेशमध्ये प्रदेश २ मा पर्ने भुभाग लाई मिथिला क्षेत्र भनेर चिनिन्छ । अब यहाँ हामी मिथिलाको क्षेत्रफल वा सिमानाको कुरा गर्दैनौं । हामी यहाँ मिथिला संस्कारमा पानीलाई कुन रुपमा लिएको छ र कसरी यसको उपयोग गरिँदै आएको छ, भने तर्फ मात्र केही कुरा गर्न चाहन्छौं ।

हाम्रो मिथिला संस्कारमा पानीलाई गंगा माता, कमलेशरी माई भनेर पनि चिनिन्छ र पुजिन्छ । यहाँको ईनार, नदी, पोखरी, ताल तलैयाको पानीलाई कमलेशरी माता (माई) भनेर पुजिन्छ । मिथिलामा मनाईने जुड़ शितल, छठ, माधे संक्रान्ति, पूर्णिमा स्नान, कार्तिक स्नान, जितिया लगायतका विभिन्न पर्वहरुमा समेत इनार, पोखरी, नदी, ताल, तलैयामा नुहाइ–धुवाइ गरी चोखो हुने र पानीको घाटमा पूजापाठ गर्ने चलन छ । यहाँ गेरुका स्नान, कमला स्नान, गंगा स्नान गर्ने गरिन्छ ।

मिथिला पञ्चांक अनुसार प्रत्येक नयाँ वर्षको दिन मिथिला क्षेत्रमा जुड़ शितल पर्व मनाईन्छ । मिथिलामा यस पवलाई विशिष्ट कृषि सांस्कृतिक पर्वको रुपमा मनाईन्छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वमा नयाँ वर्षको रूपमा मनाईन्छ भने थारू समुदायले यसलाई सिरुवा पर्व भनेर मनाउँछन् । यस पर्वको उद्देश्य सूर्यको तापले आकुल व्याकुल मानव, जीवजन्तु तथा बोटविरुवालाई पानीले शीतलता प्रदान गर्ने रहेको छ । मिथिला क्षेत्र मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले पनि यहाँ यस पर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । बैैशाखदेखि सूर्यको ताप वृद्धि भएकोले यस पर्वमा मानव मात्रको कल्याण नभएर बोटविरुवा को लागि समेत शीतलताको कामना गर्दै जरामा पानी हाल्ने गरिन्छ । साथै घरको बीचमा रहेको मूल खम्बा, पिलरमा समेत पानी हाल्ने चलन छ भने त्यहि दिन हिलोपानी (थालमाईट) खेल्ने संस्कृति रहिआएको छ ।

मिथिलामा पानीलाई जल देवी अर्थात कमलेश्री माता भनेर पुजिन्छ । यसै कारण यस क्षेत्रका नदी, पोखरी, ताल तलैया, ईनार, दह आदिलाई संरक्षण गर्न स्थानीबासीहरु सदैव लागि परेका हुन्छन् । यसको लागि संघसंस्था, स्थानीय सरकार, प्रदेश सरकार पनि स्वच्छ खानेपानी तथा पानीको स्रोतहरुको संरक्षण र सम्वद्र्धनका लागि अभियानहरु चलाई रहेको छ । ईनार, पोखरीको पानी नसुकोस् भन्ने उद्देश्यका साथ ईनार, पोखरीको विहे गराउने चलन समेत रहि आएको छ ।

५२ पोखरी ७२ कुण्डका नगरी भनेर चिनिने जनकपुरधामको सरोवरहरुमा प्रसिद्ध गंगा सागर, राम सागर, रत्न सागर, अग्निी कुण्ड, सूर्य कुण्ड, विहार कुण्ड, मुरलीसर, दुधमती नदि, दशरथ तलाउ आदि रहेको छ ।

मिथिलाको पवित्र र प्रसिद्ध गंगा सागरको पानीमा एक पटक डुबुल्की लगाएपछि सबै पाप धुलिन्छ भनिन्छ । त्यसैले त भनिन्छ, ‘अन्यत्र गरेको पापबाट जनकपुरधाममा मुक्ति पाइन्छ, तर जनकपुरधाममा गरेको पापबाट अन्यत्र कतै मुक्ति पाइदैँन ।’

गंगा सागर सफाइ अभियान र गंगा आरती

जनकपुर र जनकपुर बाहिरका दर्शनार्थीहरुका लागि जनकपुरमा अहिले निकै चर्चित बनेको छ, गंगा आरती अर्थात गंगा माताको आरती । ऐतिहासिक गंगा सागरको पश्चिमी उत्तरी डिलमा २०७० जेष्ठ २५ गते गंगा दशहराको दिनदेखि प्रत्येक दिन साँझ भव्य रुपमा गंगाा आरती अर्थात गंगा माता (पानी) को पूजा भइरहेको छ । सो गंगा आरतीमा दिनहुँ हजारौं आन्तरिक र बाह्य दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । सेभ द हिस्टोरिकल जनकपुरको परिकल्पना र आयोजनामा शुरु गंगा सागर संरक्षण र सफाइ अभियान र आरतीमा नेपाल र भारतका चर्चित राजनीतिज्ञ, विद्धान, समाजसेवीहरु सहभागी भैसकेका छन् । भारत वनारसका प्रख्यात विद्धान पण्डिजीहरुद्धारा गंगा दशहराका दिन गंगाआरतीको शुभारम्भ गरिएको थियो ।

जसमा हजारौ हजार दर्शनार्थी र भक्तजनको घुइँचो लागेको बताउनुहुन्छ हिस्टोरिकलका संस्थापक सदस्य प्राध्यापक विजय दत्त । पछिल्लो समय अत्यन्तै फोहर, दुर्गन्धित भएर स्थानीयहरुले गन्दा सागरको नामले चिन्न थालेपछि हिस्टोरिकलको संयोजनमा गंगा सागर संरक्षण, सफाइ र सौन्दर्यकरणको महाअभियान सञ्चालन गरियो । जसको फलस्वरुप अहिले गंगा सागरको पानी सफा, सुन्दर, रमणीय, पुजणीय र पर्यटकहरुको लागि आकर्षणको थलो बनेको छ । गंगा सागरमा घुम्ने उद्देश्यले दर्शक, आगन्तुक पर्यटकहरुको लागि डुंगा समेत सञ्चालन गरिएको छ । त्यति मात्र नभएर गंगा सागरको डिलमा बसेर कलकल चिसो पानीको आनन्द लिन जो कोही पनि एकचोटी पुग्ने गरेका छन् । दिनहूँ गंगा आरतीको रौनकले त्यहाँ हजारौ दर्शनार्थीहरुलाई तान्ने गरेको प्रदेशसभा सदस्य समेत रहेका स्वच्छता अभियानी एवम् सेभ द हिस्टोरिकलका रामअशिष यादव बताउनुहुन्छ । नियमित सरसफाइले अहिले कलकल पानी रहेको गंगा सागरमा जो कोही पुग्ने वितिकै एक डुबुल्की लगाएर आनन्द लिउ–लिउ जस्तो हुन थाल्छन् उहाँ भन्नुहुन्छ ।

पताल गंगा

मिथिलाको प्रसिद्ध धार्मिक स्थलहरु मध्यको एक हो, धनुषाधाम । धनुषाधाममा प्रसिद्ध धनुष मन्दिर छ जुन मन्दिरमा प्रत्येक वर्ष माघ मकर संक्रान्ति पछि हरेक आईतवार भव्य मेला लाग्ने गर्दछ । यहाँँ पताल गंगा पनि रहेको छ । जसबाट प्राकृतिक रुपमै जमिनमुनीबाट पानी आउने गर्दछ र त्यो पानी आउने क्रम घटियो भने विनाश हुने संकेत गर्ने गरेको धार्मिक विश्वास रहिआएको छ । यसले पनि पानीको महत्व झल्काउँछ । धनुषाधामबाट नजिकै पर्ने परशुराम तलाउ छ । जो तलाउ आफ्नै ऐतिहासिक धार्मिक महिमाले परिपूर्ण छ ।

गेरुका स्नान

यस्तै महोत्तरी जिल्लाको प्रसिद्ध ऐतिहासिक, धार्मिक गेरुका नदी र पानीको संरक्षणका लागि लोहरपट्टी नगरपालिकाले घाट निर्माण र सरसफाइको अभियान चलाई रहेको नगरपालिकाका प्रमुख शैलेन्द्र यादव बताउँछन् । खुट्टापिराढीमा रहेको गेरुका नदीको पानीमा स्नान गरेपछि चर्मरोग निको हुने लोकमान्यता रहेको छ । गेरुका र विरजी नदीको संगम स्थल गेरुकाधाम हो, जहाँ प्रत्येक मलेमाश अर्थात पुरुषोत्तम मासमा गेरुका स्नान गर्ने भक्तजन, श्रद्धालुहरुको अत्यधिक घुइँचो लाग्ने गरेको छ । गेरुका नदीसँग माता सीताको अनेकौं प्रसंगहरु जोडिएको छ । त्रेतायुगमा माता सीता गौर पूजन गरेर गेरुका नदीमा स्नान गर्दै विसर्जन गरेको भनिन्छ । त्यही बेला माताले सीताले गेरुका नदीलाई मलेमाशमा सबै देवीदेवताको जमघट भई गेरुका स्नान गर्ने वरदान दिएको भनिन्छ । गेरुका नदीको पानीमा स्नान गर्ने मलेमाशको मकरमा भव्य मेला लाग्ने गरेको छ । जसले मिथिला संस्कारमा पानीको महत्व कति छ भने दर्शाउँदछ ।


मिथिलाको १५ वटा नदीलाई पुण्य र मोक्षता मानिएको छ । मिथिलाको कोशी, कमला, विलुमती, जलाधी, यमुना, गेरुका, दुधमती, व्याघ्रवती, इच्छावती, विरजा, मण्डना, लक्ष्मणा, बागमती, गण्डकी र नारायणीलाई पुण्य र मोक्ष प्राप्तिका लागि फलदायी मानिदैँ आएको । यी ऐतिहासिक, धार्मिक र दैवीय शक्ति र आस्था बोकेको यी नदीहरुको पानीमा नुहाएर नदीको तटमा जप, तप, दान, तपस्या, सिद्धी गर्ने गरिन्छ । माता सीताको प्रिय सखीहरुको स्वरुपमा रहेको यी नदीहरुको पानीमा स्नान गर्नु फलदायी मानिन्छ । जसले पानीसँग मिथिला संस्कारको अपार सम्बन्ध रहेको दर्शाउँछ ।

जनजीविकासँग जोडेर हेर्ने हो भने यी नदीहरु मानव जीवन, प्रकृति र वातावरणीय सन्तुलनका लाइफ लाइन (जीवनरेखा) हुन् । त्यसैले पनि, यी नदीहरुलाई पुण्य र मोक्षका प्रतीक मानिएको हुनुपर्छ ।

मुख्यमन्त्री स्वच्छता अभियानको केन्द्रमा ‘पानी’

मिथिला क्षेत्रमा पर्ने प्रदेश २ मा अहिले मुख्यमन्त्री स्वच्छता अभियान सञ्चालनमा रहेको छ, जसको केन्द्रमा पानी नै रहेको छ । यस्तै विदेह मिथिला क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिले पनि पानीको स्रोतहरु नदी, पोखरी, ताल, इनार आदि लगायतको मर्मतसम्भार, संरक्षण, सम्वद्र्धन र सरसफाइ गर्ने कार्यमा सहयोग गरिरहेको छ ।
प्रदेश सरकारले प्रदेशका ८ वटै जिल्लामा २७ वटा पोखरीको संरक्षण, सम्वद्र्धन र सौन्दर्यकरणका लागि युदस्तरमा कार्य गरिरहेको प्रदेश २ का मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख इन्जिनियर भगवान झा बताउनुहुन्छ ।

केही जिल्लामा स्थानीय सरकार र संघसस्थाहरु मिलेर पोखरीको संरक्षण, सम्वद्र्धन र सरसफाइका लागि घाट निर्माण, पानीको मुहान संरक्षण, वृक्षारोपण लगायतको अभियान चलाइरहेको छ । मैथिल ब्राह्मण महासभाका केन्द्रीय अध्यक्ष समेत रहेको झाका अनुसार मुख्यमन्त्री स्वच्छता अभियानले महोत्तरी जिल्लाको एतिहासिक मधवा पोखरी, सर्लाही मलंगवास्थित मुसैली पोखरी, बाराको सिम्रौनगस्थित ईश्वर पोखरी लगायत आठ वटै जिल्लाको २७ वटा ऐतिहासिक तथा धार्मिक महत्व रहेको पोखरीको सौन्दर्यकरण गरी पानी सरंक्षण गर्ने कार्य भइरहेको छ ।


यस्तै जनकपुरधाम उपमहानगरपालिकाको अगुवाइमा ऐतिहासिक नोचा पोखरी, मिथिला नगरपालिकाको अगुवाणर््मा मिथिला सागरलाई संरक्षण र सौन्दर्यकरणको अभियान चलिरहेको छ, जो पछिल्लो समय पर्यटकको आकर्षणका केन्द्र समेत बन्न थालेको छ । धनुषाको बसविट्टीमा ऐतिहासिक दुधमती नदी संरक्षण तथा महासफाइ अभियान स्थानीय सफाइ अभियानीहरुको अगुवाइमा चलिरहेको छ । अहिले दुधमती नदीको स्वरुप नै फेरिएको छ ।

सिराहाको बन्दीपुरमा रहेको बाबा ताल, कमल दह, सप्तरीको लोहजरा दह, सर्हालीको विहुला पोखरी, पर्साको विरगंजस्थित घडिअर्वा पोखरीको आफ्नै महत्व छ । यी ऐतिहासिक, धार्मिक, सांस्कृतिक ताल तलैया, कुण्ड, पोखरी, नदीले पनि मिथिला संस्कारसँग जोडिएको छ र मिथिलामा पानीको महत्व दर्शाउँछ ।

सुरक्षित खानेपानी क्षेत्र

पछिलो समय सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रमले समेत निरन्तरता पाउन थालेको छ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वार्ड १३ लाई सुरक्षित खानेपानी युक्त वडाको रुपमा घोषणा गरिएको छ । त्यहाँ दुरबिन डाँडा खानेपानी तथा सरसफाइ आयोजनाले मुहानको पानी लाई विद्युतिय लिफ्टिङको सहायताले २० हजार लिटरको पानी ट्याङ्की मार्फत ४२ घरधुरीलाई सुरक्षित खानेपानी वितरण गरिएको छ ।

अहिले ठाउँ ठाउम्मा डिप ट्युवेल मार्फत शुद्ध, सफा र सुरक्षित खानेपानीको लागि समेत कार्य भईरहेको छ ।

सिरहा र धनुषाको सिमाना रहेको कमला नदी बचाउ अभियानले हरेक वर्ष प्रत्येक पूर्णिमाको दिन संचालित महाकमला पुजापाठ आरतीको आयोजना गर्दै आएको कमला बचाउ अभियानका बिरेन्द्र यादव बताउँछन् । कमला नदीको ऐतिहासिक महत्वलाई कायम राख्न र नदीको संरक्षण गरी वातावरण तथा जलवायु परिवर्तन रोक्नका लागि अभियान संचालन गरिरहेको अभियानीहरु बताउँछन् ।

यस वर्षको पानी दिवसको नारा समेत रहेको छ : पानीलाई महत्व दिउँ । पानी रहेमात्र जीवन बाँच्छ, संस्कृति र संस्कार समेत जीवित रहन्छ ।

…र जाँदाजाँदै

पानी जीवन हो, जुन कुरा मिथिला संस्कार, संस्कृति र परम्पराले समेत प्रमाणित गर्दछ । यस वर्षको विश्व पानी दिवसको नारा समेत पानीलाई महत्व दिउँ ९ख्बगिष्लन ध्बतभच० रहेको छ । मिथिला संस्कार होस् या सनातन धर्म या प्राकृत धर्म, सबैले पानीलाई सृष्टिका लागि आधारभूत तत्वको रुपमा ग्रहण गरेका छन् । त्यसैले, आजैका दिनदेखि पानीलाई महत्व दिउँ । पानी जीवन हो, र सरसफाइ जीवन पद्धति हो, यी दुईबीच अन्यौन्यास्रित सम्बन्ध छ । सफाइ भएन भने पानी पानीजस्तो रहँदैन, सिर्फ फोहर तरलमा परिणत हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार