महानगर र सिसडोलका बासिन्दा बीच कुरा मिलेन, काठमाडौको फोहोर अझै नउठ्ने

काठमाडौ : काठमाडौं महानगरपालिका र सिसडोलका बासिन्दा बीच कुरा नमिले पछि काठमाडौको फोहोर अझै केही दिन नउठ्ने भएको छ । उपत्यकाको फोहोर विसर्जनमा नुवाकोटको ओखरपौवास्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध तत्काल नहट्ने भएको छ । सिसडोलबासी र काठमाडौं महानगरपालिका बीच भएको वार्ता असफल भएपछि काठमाडौमा अझै फोहोर थुप्रिने संकेत देखिएको हो ।

सिसडोलबासी र काठमाडौं महानगरपालिका बीच बुधबार र बिहीबार काठमाडौंमा वार्ता भएको थियो । बिहीबारको वार्तामा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य बिरामी परेको भन्दै बीचमै उठेर हिँडेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको सिसडोल क्षेत्र फोहोरमैला व्यवस्थापन तथा सरोकार समितिका अध्यक्ष नवराज ढुङ्गानाले बताउनुभयो ।

मेयर शाक्यकै कारण आफूहरुका कुनैपनि माग पूरा नहुने स्थितिमा पुगेको र आफूहरु वार्तामा बस्दा अपमानित भएको महसुस गरेको उहाँको आरोप छ । उहाँले महानगरले हेपाहा प्रवृत्ति देखाएकाले फोहोर विसर्जनका लागि सडक बन्द गर्ने निष्कर्षमा पुगेको बताउनुभयो । सिसडोलबासीले अव्यवस्थित फोहोर विसर्जन हुँदा वातावरणमा प्रभाव पर्न गई स्वास्थ्यमा प्रतिकूल असर परेकोले यसअ घिका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आएका छन् ।

उनीहरुले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दी उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यस अघि भएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्ने काम चैत १३ गतेदेखि पूर्णरुपमा बन्द छ । ७ दिन देखि काठमाडौको सडक तथा गल्लीमा फोहोर थुप्रिदा शहरको शोभा घट्नुका साथै दुर्गन्ध फैलिन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार