सफाइकर्मीलाई व्यवसायिक सुरक्षा तालिम र स्वास्थ्य शिविर


काठमाडौ : सफाईकर्मीको लागि स्वास्थ्य शिविर आयोजना गरिनुका साथै व्यवसायिक सुरक्षा तालिम प्रदान गरिएको छ ।  विश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा क्रिएशन, कोका–कोला फाउन्डेशन र बोतलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमा तालिम प्रदान गरिएको छ ।

कार्यक्रममा कामको बखत र काम सकिए पछि अपनाउनुपर्ने सुरक्षा उपायहरु, विभिन्न सुरक्षा गियरको प्रयोग, साइटमा व्यवसायिक दुर्घटनाहरुको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाको लागि आगो निभाउने उपकरण र अन्य सुरक्षा उपकरणहरुको प्रयोग सम्बन्धी प्रशिक्षण गरिएको थियो । कार्यक्रममा सुरक्षा गियर सहित सुरक्षात्मक जुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोभ्सहरु पनि सफाईकर्मीलाई हस्तान्तरण गरिएको थियो । साइटहरुमा आगो दुर्घटना र अन्य जोखिमलाई ध्यानमा राख्दै प्रत्येक साइटमा आगो निभाउने उपकरणहरु र अन्य सुरक्षा सुविधाहरु पनि सुसज्जित थिए ।

डा. अनुजराज कँडेलको नेतृत्वमा रहेको स्वास्थ्य शिविरमा सफाईकर्मीको स्वास्थ्य समस्या र मुद्दाहरुको बारेमा मेडिकल चेकअप र परामर्श सामेल गरिएको थियो । कार्यक्रममा बेलिङ्ग साइटका कर्मचारीका लागि श्रम सम्झौता हस्तान्तरण गरिएको थियो । यो सम्झौता बेलरहरुलाई काम गर्ने बेला अवस्थामा औपचारिक रुपमा उनीहरुलाई मद्दत गर्न र कामदारहरुको फाइदाको लागि सहयोग पुर्‍याउन ल्याइएको हो ।

कार्यक्रममा क्रियशनका संस्थापक र प्रेसिडेन्ट आनन्द मिश्राले सफाईकर्मीको असुरक्षित काम गर्ने स्थितिले उनीहरुको आजीविका लगायत हाम्रो वातावरण र समाजलाई जोखिममा पारेको बताउनुभयो । ‘हामी उनीहरुलाई सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरहरुको माध्यमबाट सहयोग पुराउदै आएका छौ र कोका–कोला फाउन्डेशनले गर्दै आएको सहयोगमा उनीहरुको लागि अझ राम्रो र स्वस्थ जीवनका लागि हाम्रो प्रयास जारी राख्नेछौँ ।” उहाँले भन्नुभयो ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले फोहोर र रिसाइकलिंग उद्योगमा काम गर्नेहरुले धेरै व्यवसायिक स्वास्थ्य जोखिमहरुको सामना गरिरहेको बताउनुभयो ।

कार्यक्रमको पहुँच संतुङगल, टेकु, बालकुमारी र जोरपाटीका ६ वटा भिन्न बेलिंग साइटहरुको ६७ सफाईकर्मीहरु सम्म पुगेको थियो । एक जना सफाईकर्मीले भन्नुभयो “हामी हाम्रो काममा आउने जोखिमहरुलाई परिवर्तन गर्न सक्दैनौँ तर बारम्बार सुरक्षा तालिम, मेडिकल चेकअपका साथ हामी यस्ता जोखिमहरुलाई रोक्न सक्षम छौँ र यसको लागि हामी आभारी छौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार