विनोद धौलागिरि/काठमाण्डौ : राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता क्लस्टर (वास क्लस्टर) ले कोरोनाकालको एक वर्षको अवधिमा करिब २ लाख जनालाई प्रत्यक्ष सेवा पुर्याएको छ । क्लस्टरले सातवटै प्रदेशमा प्रदेश क्लस्टर समेत सक्रिय बनाई स्वास्थ्य संस्था, कोभिड उपचार केन्द्र, सार्वजनिक स्थल, क्वारेन्टिन, आइसोलेसन सेण्टर र विद्यालयका साथै प्रभावित समुदायमा समेत खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य सेवामा सहयोग पुर्याएको थियो ।
विकास साझेदार र सहजीकरण गर्ने संस्थाहरुले विपद्को समयमा क्लस्टरमार्फत सहयो गर्ने गर्दछन् । यही प्रावधान र अभ्यास अनुरुप कोरोना संक्रमण थाालनी भएपछि १७ मार्च २०२० मा राष्ट्रिय वास क्लस्टरको औपचारिक बैठक बसी सातवटै प्रदेशमा क्लस्टरमार्फत खानेपानी, सरसफाइ, स्वच्छता तथा मानवीय सहयोग थालनी गर्ने निर्णय गरिएको थियो ।
सातवटै प्रदेशमा क्लस्टर

२० मार्चमा राष्ट्रिय वास क्लस्टरले कोरोना प्रतिकार्य योजना तयार गरेपछि सातवटै प्रदेशमा प्रदेशस्तरीय वास क्लस्टरलाई सक्रिय बनाइएको थियो । केन्द्रीय तहमा खानेपानी मन्त्रालयका सहसचिवको संयोजकत्वमा रहने वास क्लस्टर प्रदेश तहमा भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ महाशाखा प्रमुखको संयोजकत्वमा रहन्छ, जहाँ विकास साझेदार र सहजीकरण गर्ने संस्थाहरु रहन्छन् ।
प्रदेश नं. १ मा यू.एन. ह्याबिट्याटको तर्फबाट विनोद प्रसाद शर्मा, प्रदेश नं. २ मा यूनिसेफको तर्फबाट वोधनारायण श्रेष्ठ, बागमती प्रदेशमा प्लान इण्टरनेशनल नेपालको तर्फबाट दीपेन्द्र सामन्त, गण्डकी प्रदेशमा कोस्डरको तर्फबाट काजिमान रोका, लुम्विनी प्रदेशमा यूनिसेफको तर्फबाट राकेश कुमार मल्लिक, कर्णाली प्रदेशमा किर्डाकको तर्फबाट नवीनकुमार शाही र सुदूरपश्चिम प्रदेशमा आरभीडब्लुआरएमपीको तर्फबाट वासुदेव पाण्डे सहसंयोजक रही क्लस्टरले सहयोग कार्यक्रम थालनी गरेको थियो ।
७५ संस्था आवद्ध
कोरोना कालको थालनीमा गैरसरकारी संस्थाहरु एवम् अन्तर्राष्ट्रिय गैरसरकारी निकायहरु कोरोना नियन्त्रणमा सक्रिय नभएको आरोप लाग्ने गरेको भए पनि क्लस्टर मार्फत सरकारी निकायसँगको समन्वयमा नै आफ्नो सेवा प्रवाह गरेको बताउनुहुन्छ खानेपानी मन्त्रालयका सहसचिव एवम् राष्ट्रिय वास क्लस्टरका संयोजक सुनिल कुमार दास । “क्लस्टरमा ६ वटा संयुक्त राष्ट्रसंघीय एजेन्सी, ३ वटा द्विपक्षीय अन्तर्राष्ट्रिय निकायहरु, विभिन्न देशका ३ रेडक्रस, २६ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र करिब ४० वटा राष्ट्रिय गैरसरकारी संस्थाले प्रत्यक्ष रुपमा क्लस्टरमा सहभागी भएर प्रतिकार्य, तयारी, खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा सहयोग गर्नुभयो”, उहाँको भनाइ छ ।

थालनीमा प्रत्येक साता बैठक गरी अवस्था अद्यावधिक गरेकोमा तीन महिनापछि पाक्षिक रुपमा बैठक बसी छलफल गर्ने गरिएको थियो । “१ सय ९० जनाले प्रत्यक्ष रुपमा क्लस्टरमार्फत समुदायमा जोखिम व्यवस्थापन सञ्चार, खानेपानी तथा सरसफाइ सुविधा विस्तार, समन्वय र सहयोग उपलब्ध गराउनुभयो”, संयोजक दासको भनाइ छ, “केन्द्रदेखि स्थानीय सरकारले तयार गरेका योजना र आवश्यकता अनुसार सहयोग गरेर क्लस्टरले उल्लेखनीय भूमिका खेल्न सफल भयो ।”
जोखिमको क्षेत्रमा बढी सक्रियता
क्लस्टर सहसंयोजक एवम् यूनिसेफ नेपालका खानेपानी तथा सरसफाइ विज्ञ अरिनिता मास्के श्रेष्ठका अनुसार एक वर्षको अवधिमा ३६ वटा कोभिड अस्पतालमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा व्यवस्थापन गर्न क्लस्टरले सहयोग पुर्यायो । सोही अवधिमा ६५ वटा अन्य स्वास्थ्य संस्था र ८३ हजार २ सय ६ जना स्वास्थ्यकर्मी तथा विरामीहरुलाई प्रत्यक्ष रुपमा सहयोग पुर्यायो ।

सोही अवधिमा संघीय सरकारको मातहतमा रहेका १३ अस्पताल, ६१ कोभिड अस्पताल, ५३ जिल्ला अस्पताल र १४५ हेल्थ पोष्ट एवम् प्राथमिक स्वास्थ्य केन्द्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापनमा सहयोग पुर्याएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रभात श्रेष्ठले जानकारी दिनुभयो । क्लस्टरको संयोजनमा सोही अवधिमा १ हजार ७३ साबुन पानीले हात धुने स्टेशन, ४७ वटा संस्थागत शौचालय निर्माण तथा ६० वटाको स्तरोन्नति, ७ हजार ९ सय ३५ थान स्वच्छता सामग्री, १ लाख ५० हजार ९ सय मास्क, ५० हजारभन्दा बढी साबुन स्वास्थ्य संस्थामा उपलब्ध गराइएको थियो ।
एक वर्षको अवधिमा क्लस्टरले सहयोग गरेका क्वारेन्टिन सेण्टरहरुमा १ सय ८५ नयाँ शौचालय बनाउनुका साथै ४७ संस्थागत शौचालयको मर्मतसम्भार तथा स्तरोन्नति, ५ सय ५६ वटा साबुन पानीले हात धुने स्टेशन, ८२ हजार मास्क, १ लाखभन्दा बढी साबुन र ८ हजारभन्दा बढी स्वच्छता सामग्री उपलब्ध गराइएको थियो ।
यसैगरी, एक वर्षको अवधिमा भारतबाट नेपाल प्रवेश गर्ने १४ नाकामा क्लस्टरले सहयोग उपलब्ध गराएको थियो । ३७ आइसोलेसन सेन्टरका ५ हजार ६ सय ८७ जना सोही अवधिमा क्लस्टरको सेवाबाट लाभान्वित भएका थिए ।
घट्यो क्षमता
एक वर्षभरि भए गरेका कामको बारेमा छलफल गर्दै आगामी वर्षका लागि रणनीति तय गर्न हालै क्लस्टरले संघीय एवम् प्रदेश मन्त्रालयका अधिकारी र क्लस्टर सदस्यहरुको समीक्षा बैठक आयोजना गरेको थियो ।
सो बैठकमा सम्भावित कोरोनाको जोखिम र वर्षा याममा हुने डुबान, बाढीपहिरो लगायतका विपद् व्यवस्थापनको बारेमा छलफल गरिएको थियो । सो अवसरमा दिइएको जानकारी अनुसार कतिपय विकास साझेदार र सहजीकरण गर्ने संस्थाको परियोजना अवधि समाप्त भएकोले अघिल्लो वर्षको तुलनामा यस वर्ष क्लस्टरको क्षमतामा केही कमी आउने देखिएको छ ।
यस वर्ष विभिन्न ३० निकायहरुले क्लस्टर अन्तर्गत कोभिड प्रतिकार्य र अन्य विपद् व्यवस्थापनमा सहयोग गर्न सक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तत्काल प्राकृतिक विपद् आइपरेमा ६२ हजार घरपरिवारलाई खानेपानी, सरसफाइ तथा स्वच्छतामा सहयोग गर्न सक्ने प्रतिवद्धता व्यक्त भएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष विपद् प्रतिकार्यमा सहयोग गर्ने मानव संसाधनमा वृद्धि भएको छ, जस अन्तर्गत विभिन्न तहमा गरी ३ सय ४७ जना तयारी अवस्थामा रहेका छन् । प्रतिकार्यको थालनीका लागि क्लस्टरअन्तर्गत १० वटा एजेन्सीबाट १ करोड ३३ लाख ६५ हजार रुपैयाँ तयारी अवस्थामा रहेको जनाइएको छ ।
वास क्लस्टरले स्वास्थ्य, शिक्षा, विपद् लगयातका अन्य क्लस्टरसँग समेत साझेदारीमा काम गर्दछ, जस अन्तर्गत अन्तरमन्त्रालय साझेदारी समेत पर्दछ ।

समन्वय र सूचना व्यवस्थापन वृद्धि गर्न सुझाव
खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले क्लस्टरले एक वर्षको अवधिमा गरेका कामहरुको प्रशंसा गर्दै कोरोनाको दोस्रो लहरको जोखिम बढ्दै गएकोले सक्रियता अझै बढाउनुपर्नेमा जोड दिनुभयो । “अघिल्लो वर्ष निर्माण गरिएका सरसफाइ तथा स्वच्छताका सुविधाहरुको नियमित मर्मतसम्भार, हेरचाह, समुचित प्रयोग र आवश्यकता अनुसार स्तरोन्नति गर्ने विषयलाई समेत प्राथमिकतामा राख्नुपर्छ”, सचिव बेल्बासेको भनाइ छ, “सरकारका तीन तह बीचमा नै पर्याप्त समन्वयको कमी हुन नदिनका लागि क्लस्टरले भूमिका खेल्नुपर्छ ।”
स्थानीय सरकार र प्रदेश तहमा सूचना संकलन, विश्लेषण र व्यवस्थापनका लागि प्रतिवद्ध समूह परिचालन गर्न समेत उहाँले सुझाव दिनुभयो । कोरोनाको सम्भावित जोखिम र मनसुनको जोखिमलाई सम्बोधन गर्नका लागि तयारी तथा प्रतिकार्य योजनालाई परिमार्जन गर्न समेत उहाँले सुझाव दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. समिर कुमार अधिकारी र शिक्षा मन्त्रालयका रामप्रसाद शर्माले सामुहिक प्रयासबाटमात्र विपद्हरुबाट पार पाउन सकिने बताउनुभयो ।


1110 पटक हेरिएको 

