जलबर्ने गाउँमा जलले ल्याएको समृद्धि : विदेशको अनुभव , स्वदेशमा उपयोग

यो प्रसङ्ग हो पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं ११ अन्तर्गतको जलबर्ने गाउँको। केहि समय अघिसम्म कुनै चर्चामा नरहेको यो गाउँ आजभोलि ‘मेहेनतीहरुको गाउँ’ को रुपमा चिनिन थालेको छ। विकासको एउटा पहलले कैयौं अवसरहरुको सिर्जना गर्न सक्छ भने कुराको सजीव उदाहरण बनेको छ जलबर्ने गाउँ । विगतमा खानेपानीको चरम अभाव रहेको यस क्षेत्रका वासिन्दाहरुले गाउँमा खानेपानीको व्यवस्था गर्न धेरै प्रयास गरे, तापनि सफल हुन सकेका थिएनन् ।

ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग तथा सहयोगी संस्था मानव अधिकार सामाजिक सचेतन र विकास केन्द्र (HUSADEC) को प्राबिधिक सहयोग र सहजिकरणमा २०७४ मा खानेपानी आयोजना निर्माणको काम शुरु भए पछि मात्र यहाँका वासिन्दाले खानेपानी सुबिधा पाए। यहाँका ७३ घरधुरीका करिब ५०७ जना लाभान्वित भएका छन् ।

समुदायमा खानेपानीको सुविधा उपलब्ध भएपछि स्थानीय वासिन्दाले पानी ओसार्नको लागि टाढा जानुपर्ने बाध्यताबाट त मुक्त्ति पाएका छन् नै, उक्त समयमा सम्बृद्धिका अरु क्रियाकलापहरु संचालन गरेका छन् ।

सहज बन्दै जीवन

जलबर्नेका हिमालय बिकको परिवारमा १२ जना सदस्य छन् । केहि बर्ष अघिसम्म परिवारको गुजारा गर्न निकै कठिन हुने गरेको उहाँको परिवार अहिले व्यबसायिक तरकारी खेतीमा संलग्न भएको छ र यसबाट राम्रो आम्दानी पनि हुन थालेको छ । हिमालयले गाउँमा पानीको सुविधा भएपछि टनेल बनाएर तरकारी खेती शुरु गर्नुभएको छ। यसबाट आम्दानी वृद्धि हुन थालेपछि उहाँले जगेडाका रुपमा १३ हजार लिटर र २० हजार लिटर क्षमताको प्लाष्टिक पोखरीमा वर्षातको पानी समेत संकलन गरेर तरकारी खेती बिस्तार गर्नु भएको छ। दुई दशक अघि काममा मलेशिया जाँदा हासिल गरेको तरकारी खेती सम्बन्धि अनुभव आफुलाई यतिखेर काम लागेको वहाँ बताउनु हुन्छ।

टनेल खेतीमा उत्पादित तरकारी टिप्दै हिमालय विक

हिमालयका टनेलमा आलु, प्याज, मटर, काउली लगायतका मौसम अनुसारका तराकारी प्रशस्त फल्छन । तर बेलाबेलामा विभिन्न समस्याले सताउँछन्। कहिले किरा लाग्ने, कहिले मौसमले साथ नदिने समस्याले दुस्ख दिइरहन्छन्। यसका लागि स्थानीय सरकारले कृषक हरुलाई तरकारी खेती सम्बन्धि नयाँ जानकारी एवं तालिमहरु दिनुपर्ने उहाँ बताउनु हुन्छ।

उत्साही महिला , सक्रिय महिला प्राबिधिक समूह

गाउँमा खानेपानी सुविधा भएपछि स्थानीय वासिन्दा दिलु बिष्टले कुखुरा पालन गर्नुभएको छ। कुखुरा पालन सम्बन्धी कुनै तालिम बिनै उहाँले २५० वटासम्म कुखुरा पाल्नु भएको थियो। हाल कुखुराको संख्यामा केहि कमि आए पनि आफ्नो अनुभव र जोश – जाँगर बढेको उहाँ बताउनु हुन्छ। ‘ कुखुरापालन व्यवसायमा चुनौतीहरु धेरै छन् , दानाको मुल्य दिनहुँ जस्तै बढिरहन्छ , बेला बेलामा बर्ड-फ्लू लगायतका रोगले सताउला भन्ने त्यत्तिकै डर छ, सामान्य अवस्थामा पनि चल्लाहरु हुर्काउन कठीन छ, तर पनि यो व्यवसायले मेरो आर्थिक अवस्थामा सुधार ल्याएको छ’ दिलु भन्नुहुन्छ।

कुखुराको हेरचाहमा व्यस्त दिलु बिष्ट

जलबर्नेमा खानेपानी तथा सरसफाइ आयोजना निर्माणका क्रममा गठन भएका दुई वटै महिला प्राविधिक समूह हाल बचत तथा ऋण क्रियाकलापमा सकृय छन्। यसमध्येको सूर्योदय महिला प्राविधिक समूहकी सचिव दिलु बिष्ट हालसम्ममा आफ्नो समूहले एक लाख छत्तिस हजार रुपैया जम्मा गरिसकेको बताउनु हुन्छ। समुहका सदस्यहरु प्रत्येक महिना भेला बसेर बचत तथा ऋण क्रियाकलापलाई अघि बढाईरहेका छन् ।

विदेशको अनुभव , स्वदेशमा उपयोग

यसै गाउँका सीता न्यौपाने र इन्द्र न्यौपाने दम्पतिले तरकारी खेतीमा उल्लेखनीय प्रगति गर्नु भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया र साउदी अरब पुगेर थोपा सिंचाईं प्रबिधि बाट तरकारी खेती सम्बन्धी तरिका अहिले काम लागेको इन्द्र बताउनु हुन्छ। यसका लागि उहाँहरुले प्लाष्टिक पोखरी बनाउनु भएको छ। सूर्यमुखी महिला प्राविधिक समूहमा आवद्ध सीता गाउँमा खानेपानीको सुबिधा भएपछि पानी बोक्न टाढा जानु पर्ने बाध्यताको अन्त्य भएको र बचेको समयमा तरकारी खेती गर्न सकेको बताउनु हुन्छ।

करेसाबारीको सिंचाईका लागि निर्मित प्लाष्टिक पोखरीको छेउमा सीता न्यौपाने

जलबर्नेकै चेतना खतिवडा र कमला खतिवडाले प्रांगारिक खेतीलाई ब्यबसायिक रुपमा अपनाउनु भएको छ। उन्नत बिउ बिजनको प्रयोगद्वारा कृषिलाई आधुनिकीकरण गर्ने योजना अनुसार काम गरिरहेको उहाँहरुले बताउनु हुन्छ । सिंचाईका लागि प्लाष्टिक पोखरीको निर्माण गरेर चेतन – कमलाले उत्पादन गरेको तरकारी बिक्रीबाट डेढ लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्नुभएको छ।

हाल गाउँको स्थितिमा धेरै सुधार आए पनि गर्नु पर्ने काम अझै धेरै रहेको चेतन बताउनु हुन्छ। ‘यो खानेपानी आयोजनालाई दिगो बनाएर बिस्तार गर्नु आवश्यक छ , हामीले आफ्नो श्रोतको सदुपयोग गर्ने मात्रै हो भने विदेश गएर पसिना बगाउनु पर्दैन’ उहाँ भन्नुहुन्छ ।

 

चेतन खतिवडाले सिंचाईका लागि आफ्नो बारीमा बनाएको प्लाष्टिक पोखरी

चेतन खतिवडाले सिंचाईकालागि आफ्नो बारीमा बनाएको प्लाष्टिक पोखरी

घर घरबाट प्रयोग भएर निस्कने पानीलाई जम्मा गरी तरकारी खेतीमा प्रयोग गर्न वडा सदस्य तथा खानेपानी उपभोक्ता समितिका अध्यक्ष यज्ञ बिक्रम न्यौपानेको पहलमा ४५ वटा प्लाष्टिक पोखरी निर्माण गर्ने कार्य केहि समय अघि सम्पन्न भएको थियो। पानीकै कारण दिन प्रतिदिन सम्वृद्धितिर उन्मुख यहाँका वासिन्दाहरु आफ्नो गाउँमा आएको परिवर्तनको श्रेय ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समिति र सहयोगी संस्था मानव अधिकार सामाजिक सचेतन र विकास केन्द्र लाई (HUSADEC) दिन्छन्।

प्रदेश राष्ट्रिय आयोजना आयोगबाट अनुगमन र प्रशंसा

गत बर्षको माघ महिनामा प्रदेश राष्ट्रिय आयोजना आयोगको बहुक्षेत्रीय पोषण योजनाको ११ सदस्यीय टोलीले जलबर्ने खानेपानी आयोजनाको अनुगमन गरेको थियो। यस क्रममा टोलीका सदस्यहरुले समुदायका डेढ दर्जन जति घरधुरीहरुको स्थलगत निरिक्षण गर्नुका साथै विभिन्न महिला समूहका सदस्यहरुसंग उनीहरुले खानेपानी सुबिधा हुनु अघि र पछिको अवस्थाबारेमा विभिन्न प्रश्नहरु गर्दै जीविकोपार्जनका लागि गरेको क्रियाकलापहरूबारे जानकारी लिएको थियो । अनुगमन टोलीका सदस्यहरुले यहाँका बासिन्दाहरुले गरेको प्रगति उदाहरणीय भएको र यसको अनुसरण अन्य स्थानमा गराउन सक्दो पहलगर्ने पनि बताउनु भएको थियो।

संगिता गिरी दास, जीविका बिज्ञ – ग्रामिण खानेपानी तथा कोष विकास समिति/ यज्ञ बिक्रम न्योपाने, वडा सदस्य/अध्यक्ष उपभोक्ता समिति जलबर्ने खानेपानी तथा सरसफाइ आयोजना

साभार : कोष विकास समितिको बुकलेट ‘सफलताका कथाहरु’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार