संघीय खानेपानी आयोजनामा जनशक्ति अभाव, साना खालको योजना स्थानीय तहलाई हस्तान्तरण गरिने

काठमाडौ : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका प्रमुख मोहनलाल जैसीले आयोजना कार्यालयमा जनशक्तिको अभाव रहेको बताउनुभएको छ । आयोजना कार्यालयहरु थप भएपनि कर्मचारी दरबन्दी थप नहुँदा जनशक्ति अभाव झेल्नुपरेको उहाँले बताउनुभयो ।

सुरुमा देशभर १५ वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु मात्र थिए । चालु आर्थिक बर्षमा पाँच वटा थपिएर २० वटा संघीय कार्यालयहरु भए पनि थप जनशक्तिको व्यवस्थापन नगरिएको उहाँले बताउनुभयो । ‘मुख्य गरी आयोजना प्रमुख थप गरेर बाँकी भएकै जनशक्तिबाट विभाजन गरेर थप गरिएका आयोजना कार्यालयहरु व्यवस्थापन गरिएको छ । यसले गर्दा मानव स्रोत साधनको अभाव रहेको छ’ उहाँले भन्नुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडा मकवानपुर अन्तर्गत जम्मा पाँच वटा शीर्षकमा खानेपानी निर्माणका कामहरु भईरहेका छन् । जसमा खानेपानी सेवा विस्तार तथा पुनःस्थापना कार्यक्रम, खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम, ढल निर्माण तथा प्रशोधन कार्यक्रम, खानेपानी तथा सरसफाइ सहलगानी आयोजना र केन्द्रीय खानेपानी आयोजना गरी पाँच वटा उपशीर्षकमा १०३ वटा खानेपानी आयोजनाहरु सञ्चालन भईरहेका छन् ।

खानेपानी सेवा विस्तार तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत साना खालका खानेपानी आयोजनाहरु समेत सञ्चालन गर्नुपरेको आयोजना प्रमुख जैसीले बताउनुभयो । उहाँले साना खालको आयोजना समेत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले सञ्चालन गर्ने काम संघीयताको मर्म सँग मेल नखाएको र निकट भविश्यमा यसलाई स्थानीय तहमा हन्तान्तरण गर्दै जाने बताउनुभयो ।

साना खालका आयोजनाहरु स्थानीय तहलाई हस्तान्तरण गरेर बाँकी ढलका आयोजनाहरु तथा जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाहरु र सहलगानीका खानेपानी आयोजनाहरुं सञ्चालन गर्ने लक्ष्य लिएर अगाडि बढिरहेको उहाँको भनाइ छ । ‘अब बिस्तारै सुधार गरेर साना प्रकृतिका योजनाहरुलाई प्रदेश तथा स्थानीय स्तरमा हस्तान्तरण गर्ने र ठूला प्रकृतिका (पाँच हजार भन्दा बढी घरधुरी लाभान्वित जनसंख्या भएका) आयोजनाहरु मात्र सञ्चालन गर्न प्रयत्नरत छौं’ उहाँले भन्नुभयो ।

सुरुको आर्थिक बर्षमा कार्यालय स्थापना र जनशक्ति व्यवस्थापन जस्ता कामले ८० प्रतिशत मात्र भौतिक प्रगति हासिल गर्न सफल भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय हेटौंडाले गत साल कोभिडको कारण आशातित लक्ष्य प्राप्त गर्न सकेको थिएन । चालु आर्थिक बर्षमा भने ९० प्रतिशतको हाराहारीमा भौतिक प्रगति हासिल गर्ने लक्ष्य रहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार