सजिलो मात्र हैन, भरपर्दो उपायतिर नि लाग्नु पर्‍यो सरकार

♦ फुर्बा साङ्गे मोक्तान

मेरो घरको भुइतलामा किरना पसल छ। जहाँ दुई-तीन दिन अघि पिउने पानीको जार बोक्ने गाडी आएर रोकियो। गाडीमा चालक सहित ४ जना। दुई जना चालकको छेउमा, १ जना पछाडि । पानीको जार राख्न र हिसाब गर्न दुई जना झरे तर एउटाको मास्क छैन अनि अर्कोको मास्क च्यापुमा। मैले यस्तो बेलामा पनि यस्तो काममा हिंडेको मान्छे मास्क लाउनु पर्दैन भनेको नबोली गयो। हिजो आज हेर्न पाको छैन, मैले त्यती भनेपछी लगाउन थाल्यो कि ?
………………………………….
भनिन्छ कसैको बानी परिवर्तन गर्नु छ भने, एउटै कुरा कम्तीमा २२ पटक गर्नुपर्छ रे। यहाँ त लक्डाउनको चै बानी पर्ने भो, तर सुरक्षित भएर हिंड्ने कुरो चै त्यस्तै भो। घाटीमा हात पुग्यो भने जसरी अकस्मातै हातमा फु गरिन्छ। त्यसरी नै मानिसहरुको दिमागमा घर बाहिर निस्कनसाथै मास्क र स्यानीटाइजर खोज्ने बनाउनलाई त कम्तीमा पनि २२ पल्ट त अनुगमन गर्नुपर्‍यो, सम्झाउनै पर्‍यो, बुझाउनै पर्‍यो। सुरुमा नमस्कार र धेरै समय पश्चात पनि नसुध्रेपछी मात्र अनुशासनको कारबाही पनि गर्नुपर्‍यो। अनि हुन्छ परिवर्तन। त्यो पनि सुरुमा त सानै परिवर्तन होला, तर दिशा सही परे दिगो परिवर्तन पनि सम्भव छ। कोरोनाको निराकरण सम्भव छ।

१ बर्ष पहिले पनि हतारमा ताल्चा लगाउने काम गरियो, तीन महिना पछी अलमस्त छोडियो। अनी, अक्टोबर नोभेम्बरमा शिखरतिर पुगेको थियो कोरोना (लकडाउन सकेको तीन-चार महिनातिर)। यो बर्ष पनि कोरोना उकालो लाग्न थालेको १ हप्तामै ब्रम्हास्त्र हानियो। अझै घट्ने नाम लिएको छैन। घटोस पनि कसरी, पेटले लकडाउन भन्दैन, सरकारले पसल बन्द गर्‍यो कि गरेन, गाडी कुदायो कि कुदाएन मात्र हेर्ने भो। सुरक्षित भएर बसेको, हिंडेको, गाडी कुदाएको, पानी लगायतका अत्यवस्यक सामाग्रीहरु सप्लाई गरेको कुरा हेर्ने फुर्सद जुटाएको छैन। आक्कल झुक्कल हेरेजस्तो गरे नि ड्युटी पुर्याउने काम मात्र भाको छ। दिगो र भरपर्दो अनुगमन हुन सकेको छैन। निरन्तरताको त कुरै छोडौ ।
……………………..
अचेल मलाई मेरो बाल्यकालको सम्झना आउन थालेको छ। हामी ३/४ भाई मिलेर लङ्गुरबुर्जा हल्लाउने गर्थेउ, जहाँ दुई जना खालमा र बाँकी १/२ जना चै पुलिश आउछ कि भनेर हेर्नेमा पर्थेउ। र पुलिश आको सुइको पाउने बित्तिकै लङुरबुर्जाको पसल बन्द गरीहाल्थेउ । आज भोली मेरोतिरका पसलहरु (किराना लगायतका अत्यवस्यक पसलहरुको पनि बेलुकातिर चै) को अवस्था म उस्तै देख्छु। पसल आधा जती खोल्ने र कोही मान्छे आयो भने पनि सोधिहल्ने, ‘पुलिश आको हो परतिर ?’

………………………………….
पुलिस र प्रशासनले मात्र यो सम्भव नै हुन्न। बरु शिक्षा, स्वास्थ्य, युवा, सबै निकाय परिचालन गरौ । वडा, टोल, गाउ, समुदाय सबै परिचालन गरौ। युवा क्लब, बाल क्लब, बाआमा समुह सबै परिचालन गरौ, मास्क लगाउने अभियानमा, स्यानिटाइजर बोक्ने अभियानमा, पसल खोल्दा सुरक्षित खोल्ने अभियानमा, होटल चलाऊदा सुरक्षित चलाऊने अभियानमा, अनि भाषण गर्दा, अन्तर्वाता दिदा पनि सुरक्षितताको नमुना पेस गर्ने अभियानमा। त्यसपछी पो हुन्छ त भरपर्दो समाधान ।

गाइबस्तुलाई पनि जबरजस्ती थुनियो भने, गेट खोलेपछी पुच्छर उचालेर डौडन्छ। मानिस त फेरि पनि सामाजिक प्राणी हो, बुझ्ला। तर फेरि पनि दोहोर्याउ, पेटले त आज लकडाउन भोक नलाग त भन्दैन, नि सरकार। एक बिन्दु भन्दा पर त उस्ले पनि सक्दैन। काम र मामको खोजिमा त लाग्नै पर्‍यो। यो त ब्यवहारिक ज्ञानकै कुरा हो। अनि यो कसरी भरपर्दो उपाय भयो त ?

अस्तीको बर्ष जस्तै लकडाउन सकेको दिन बग्रेल्ती मानिसहरु बिना सुरक्षित उपाये हिंड्न थाले भने अर्को भयाभव अवस्था लकडाउन सकेको २०/२५ दिन मै आउन सक्ने कुरामा दुईमत छैन। त्यसैले, अब भरपर्दो उपाय भनेको सन्क्रमण हुनै नदिन हरेक ब्यक्तीको सुरक्षित आनीबानीमा कडा निगरानी राख्ने, हरेक चोकमा लकडाउन चेकिङ भाको जस्तो सुरक्षा चेकिङ गर्ने, लाईसेन्स बिलबूक चेक गरेजस्तो मास्क र स्यानीटाइजर हेर्ने, त्यो पनि भौतीक दुरी कायम गर्दै। चेक गर्नेले पनि अनिबार्य सुरक्षित उपायहरुसहित बस्ने। नत्र फेरि चुरोट नखाउ भन्ने शिक्षकले आँफैले चुरोट तानेजस्तो गर्दा जो अगुवा उही केजाती पनि हुन सक्दछनि त। भईराखेको पनि त्यही त हो। ।

अतस् लकडाउन सजिलो उपाय मात्र हो, दिगो उपाय हैन। दिगो भनेको सुरक्षाका उपायहरुलाई मन मस्तिष्कमा पुर्‍याउन सक्नु र सोको अनुगमन र उत्तरदायित्व बहन गर्नु हो। यसमा चै नचुकौ सरकार । जय नेपाल (देशवाला) ।

लेखक जनश्वास्थ्य स्वच्छता बिज्ञ हुनुहुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार