
दोलखा : समयमै व्यवस्थापन नहुँदा सडक निर्माणको क्रममा काटिएका ५० लाख बढीको काठ खेर जाने अवस्थामा पुगेको छ । दोलखाको चरिकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक विस्तारको क्रममा दुई बर्ष अघि काटिएका वन क्षेत्रको काठ खेर जान लागेको हो । सडक बिस्तारको क्रममा सडकको दायाँबायाँ रहेका रुखबाट १७ हजार क्युफिट काठ निस्केको थियो । सडक विस्तारको क्रममा रुख काटेर निर्माण व्यवसायी आफैंले घाटगद्दी गरेको काठ समयमै व्यवस्थापन नहुँदा खेर जाने अवस्थामा पुगेको हो ।
सडक विस्तारका क्रममा काटिएका काठ व्यवस्थापनका लागि दुई पटक लिलामीको सूचना निकाल्दा पनि बिक्री हुन नसकेको डिभिजन वन कार्यालय चरिकोटका प्रमुख शिवप्रसाद सापकोटाले बताउनुभयो । यो वर्षात व्यवस्थापन गर्न नसक्ने हो भने अब दाउरामा पनि काम नलाग्ने अवस्थामा पुग्ने सापकोटाको भनाइ छ । लिलामी हुन नसकेका काठ सम्बन्धित क्षेत्रको सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । कानुनी झण्झटका कारण टिप्पणी उठाएर बागमती प्रदेश उद्योग, वन मन्त्रालयमा पठाएको छ । मन्त्रालयबाट निर्णय हुने बित्तिकै समूहलाई काठ हस्तान्तरण गर्ने योजना छ । सापकोटाले भन्नुभयो ।
२०४४ साल अगाडि सडक निर्माण हुँदा सडकको दुवै किनाराको ३० मिटर चौडाइ जग्गा सडककै नाममा ल्याएको थियो । सडकको आफ्नै नाममा भएको जग्गाको काठ सामुदायिक वनको नहुने भएपछि कानुनी रूपमा उपभोक्ता समितिले नपाएका हुन् । सिमाना समूहलाई हस्तान्तरण गरेको वन क्षेत्र भए पनि सडकको जग्गाकै भएको डिभिजन वन कार्यालय चरिकोटका प्रमुख सापकोटाले बताउनुभयो । काठ कुहाएर फाल्नुभन्दा समूहलाई हस्तान्तरण गर्नु नै उपयुक्त देखिएको छ’ उहाँले भन्नुभयो । चरिकोटदेखि जिरीसम्मको सडक क्षेत्रमा ९ वटा वन उपभोक्ता समूह रहेका छन् । ‘उपभोक्ता समूहलाई दिँंदा आफ्नै उपभोक्तालाई समूहले दिन्छ ।
सडक किनारमा काटिएका अधिकांश रुख सल्लो र उत्तिसका छन् । तिनको प्रचलित बजार मूल्य अनुसार ५० लाखभन्दा बढीको छ । सडक किनारको चरिकोटदेखि नाम्दूसम्मको वन क्षेत्रमा केही दिनअघि डढेलो लाग्दा घाटगद्दी गरिएका ती काठ समेत जलेका छन् ।


873 पटक हेरिएको 

