
म्याग्दी : नेपाली सेनाको सफा हिमाल अभियानको टोलीले धौलागिरी हिमालको विभिन्न क्याम्पका साथै पैदलमार्गमा थुप्रिएको ५ हजार २० किलो फोहर संकलन गरेको छ । धौलागिरी हिमालको आरोहणका क्रममा आरोहीले गरेको फोहर संकलन गरी अवनी भेन्चर्सलाई बुझाइएको नेपाली सेनाले जनाएको छ । सफा हिमाल अभियानको टोलीले संकलन गरेको फोहोर मध्ये ३ सय किलो गाउँपालिका र ४ हजार ७२० किलो नकुहिने फोहर ‘रिसाइकल’ गरी व्यवस्थापन गर्ने अवनी भेन्चर्सले जनाएको छ । सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले फोहर हस्तान्तरण गर्नु भएको थियो ।
हिमालबाट संकलन गरिएको फोहर प्रभु हेलिकप्टरबाट धवलागिरी गाउँपालिका–७ ताकममा ल्याएर गाउँपालिकालाई बुझाइएको स्थानीय युवा गोपाल आचार्यले बताउनुभयो ।
फोहोर संकलन अभियानका क्रममा धौलागिरी बेसक्याम्पदेखि दुईसय मिटर दक्षिणतर्फ माउन्टेन इक्युपमेन्ट सहितका दुईवटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी इटाली बेस क्याम्पतर्फ ९ एनएसीआर कलसाइनको हेलिकप्टरको अवशेष समेत फेला परेको थियो । सन् २००६ मा दुर्घटना भएको एयर डाइनेस्टिको हेलिकप्टर हिमाली भेगमा भेटिएको भएपनि मृतकको पहिचान हुन सकेको थिएन। दुईवटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानूनी प्रकृयाका लागि ताकम प्रहरी चौकी मार्फत जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई बुझाइएको छ ।
यता आरोहणमा जाने पर्यटकलाई समेत फोहोर नगर्न र फोहोर संकलन गरी ल्याउन स्थानीयले अनुरोध गर्ने गरेपनि आरोहण पुरा भएपछि अक्सिजन सिलिन्डर सहित आवश्यक सामान समेत फर्किने बेलामा छोडेर आउने गरेको स्थानीय पर्यटन ब्यवसायीको भनाई छ ।
सफा हिमाल अभियान अन्तर्गत विभिन्न ६ वटा हिमालहरुको सफाई कार्यक्रम जेठ १० गतेसम्म रहेकोमा फोहरको उपलब्धता तथा कार्य प्रगतिलाई मनन गरेर धौलागिरी तथा आमादब्लम हिमालको सफाई जेठ ३ गते सम्पन्न गरिएको नेपाली सेनाले जनाएको छ ।


960 पटक हेरिएको 

