कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन नहुँदा मसानघाट दुर्गन्धित

डडेल्धुरा : कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन नहुँदा डडेलधुराकोअमरगढी नगरपालिका–३ घटाल थानस्थित मसानघाटमा दुर्गन्ध फैलिन थालेको छ । अमरगढी नगरपालिकाका २ र ३ वडाका १७ वटा गाउँको बीचमा रहेको मसानघाटमा कोरोनाबाट मृत्यु भएकाको शव नजलाई खाडलमा गाड्दा कुहिएर दुर्गन्धित हुन थालेको हो । घटालथानको मसानघाट डडेल्धुरा सहित सुदूरपश्चिम प्रदेशको धार्मिक आस्थाको केन्द्र मानिन्छ ।

घटाल थानमा सिमित गाउँका मात्रै शवहरू ल्याउने गरेको भए पनि कोरोना महामारी पश्चात कोरोनाले मृत्यु भएकाको शवहरू पनि घटाल थानमा अन्त्येष्टी गर्ने गरिएको छ । सिमीत क्षेत्र बाहेक अन्यत्रको शव नपठाउँन आग्रह गर्दै घटाल क्षेत्र विकास समाजले जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई पत्र पठाएको छ । घटाल थानमा शव राम्रोसँग व्यवस्थापन नगर्दा समस्या भएको भन्दै शव लैजान रोक लगाउँदा पनि प्रहरी लगाएर शव लैजाने गरेको वडाअध्यक्ष गोबिन्दराज बोहराले बताउनु भयो ।

हेर्नुहोस् घटाल क्षेत्र विकास समाजले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्र

नेपाल सरकारको कार्यविधिमा नै चलनचल्तिमा रहेको मसानमा शव व्यवस्थापन गर्नुपर्ने रहेको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताउनुभयो । डडेल्धुरामा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा मृतकको संख्या पनि बढ्दो छ । कोरोना संक्रमितको शव आधा जलाएर उत्तिकै छोड्ने गरेकोले कोरोना महामारी संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीय चिन्तित भएका छन् ।

घटाल क्षेत्र विकास समाजले दाउराको व्यवस्था गर्दागर्दै पनि शव जलाउनुको साटो चरम लापरवाही हुने गरेको स्थानीय राजेन्द्र जैशीले बताउनुभयो । ‘शव नजलाएर खाडलमा गाडदा समस्या भएको छ । खाडलमा पुरिएको शव कुकुर र स्यालले निकालेर खान्छन् । यसले घटाल क्षेत्रमा दुर्गन्ध फैलाएको छ,’ उँहाले भन्नुभयो,‘ यसबाट महामारीको जोखिम बढेको छ ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले यस बारेमा आफू अनविज्ञ रहेको बताउनुभयो । घटाल क्षेत्र विकास समाजले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई सकेको भए पनि सिडीओ घिमिरेले अनविज्ञता प्रकट गर्नु भयो । सर्वपक्षिय निर्णय अनुसार मसान घाटमा लगेर शव जलाउने भनेको हो । प्रशासनले पठाउने पनि होइन्, स्थानीय तहले देखाउने हो । नेपाली सेनाले शव व्यवस्थापन गर्ने हो ।’ सिडीओ घिमिरेले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार