
काठमाडौ : वातावरण अभियन्ता तथा संरक्षणकर्ताहरुले मानवमलमूत्र शहरी प्रदुषणको मुख्य कारक भएको र सार्वजनिक शौचालय सफा नराखे रोगको स्रोत बन्न सक्ने प्रति सचेत गराएका छन् । विश्व वातावरण दिवसको अवसरमा गैरसरकारी संस्था गुथि, जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) र वातावरण विभाग, ख्वप कलेजको संयुक्त आयोजनामा रसायन सुरक्षा वातावरण र प्रारिस्थितिक प्रणालीको पुनःस्थापना (Chemical Safety, Environment and Ecosystem Restoration) विषयक अनलाइन कार्यशालामा नेपाल विज्ञान तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले ६० प्रतिशतभन्दा बढी जनसंख्या शहरमा बसोवास रहेको र प्रदुषणको श्रोत शहर केन्द्रित रहेकोले वातावरणीय संरक्षण र सुरक्षाको लागि नवीनतम र दिगो प्रयास प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
शहरी प्रदुषणका लागि मानव मलमूत्र प्रमुख कारक रहेको विभिन्न तथ्याङकले देखाएको र यस्ता बस्तीहरुमा निर्माण भएका शौचालय र सार्वजनिक स्थानमा रहेका शौचालयहरुलाई वातावरणीय र दिगो प्रकारले व्यवस्थापन गर्न सकिने एरोसानको प्रस्तुतीकरण पछि यसलाई प्रर्वद्धन गर्नुपर्ने र स्थानिय पालिकाहरुमा सार्वजनिक शौचालयको दिगो व्यवस्थापन र संरक्षणको लागि अनुसरण गरी विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं उपत्यकामा २० बर्ष अगाडि सम्म खेतीयोग्य उर्वरा जमिन रहेको स्मरण गर्दै वातावरण विनासले ल्याएको परिवर्तन सँगै खाद्य सुरक्षामा आएको संकटलाई टार्न कौसी खेती एक भरपर्दो उपाय भएको तर्फ इंगित गर्दै वातावरणीय पूनःस्थापनाको लागि रणनीतिको रुपमा अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै कोभिड १९ महामारीको समयमा अस्पताल तथा सार्वजनिक स्थानका शौचालयहरुको सरसफाइमा विशेष ध्यान नप¥ुयाउने हो भने कुनै पनि समयमा यस्ता महामारी फैलाउन सार्वजनिक शौचालय प्रतिकुल हुन सक्ने एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले बताउनुभयो ।
‘‘सफा शौचालयलाई प्राथमिकतामा नराख्ने हो भने रोगको केन्द्रविन्दु शौचालय बन्न सक्दछ । हामीले अहिले बुझिसकेका छौ सरसफाइ कति महत्वपूर्ण छ र यस महामारीको समयमा स्वास्थ्य सेवामा जस्तै हाम्रो शौचालयमा पनि लगानी गर्नुपर्ने सही समय आइसकेको छ ।’’ सरसफाइ विशेषज्ञ अमात्यले भन्नूभयो ।
उहाँले सहरीकरण संगै जनसंख्या बढेको र राजधानीमा सार्वजनिक शौचालयको अभाव तथा यसको उचित व्यवस्थापनको कमीले वातावरण र जनस्वास्थ्यमा ठूलो असर पारेको उल्लेख गर्दै यसको समाधानको रुपमा एरोसानहवले उपत्यकाको ३ स्थानमा स्वस्थकर र वातावरणमैत्री सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको जानकारी गराउनुभयो ।
उक्त शौचालयहरुमा आकासे पानी संकलन प्रविधि, वायो ग्यास, फोहोर पानी प्रसोधन विधि जस्ता सुविधाका कारण स्वच्छ वातावरणमा टेवा पु¥याउनाका साथ पिछडिएको वर्गलाई रोजगारीको अवसर प्रदान भएको जानकारी प्रस्तुतीकरणमा दिनुभयो । एरोसानहव शौचालयले अवलम्बन गरेको वातावरणीय सरसफाइको नमुनालाई प्रत्येक घर परिवारले अनुसरण गरी त्यहाँबाट उत्पादन भएको पूनःप्रयोगिय पानी र मललाई कौसी खेतीमा प्रयोग गर्न सकिने उदाहरण दिदै यसले खाद्यचक्र र वातावरण संरक्षणमा दिगो योगदान दिन सक्ने उहाँले बताउनुभयो ।


768 पटक हेरिएको 

