एयरपोर्टमा पनि ग्राउण्ड वाटर रिचार्ज सिस्टम बनाउन सकिने

काठमाडौ : काठमाडौ उपत्यकामा बढ्दो शहरीकरणका कारण खुला क्षेत्र कंक्रिटले छोपिदै गएको छ । कुनै समयका खुला ठाउँहरु सबैतिर घर बनेका छन् । हरियाली मासिएर घरमात्र ठडिएका छन् । अर्थात रिचार्ज सिस्टम सिल गरिरहेका छौं ।

काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) का पूर्व निर्देशक राजीव जोशी भन्नुहुन्छ ‘रानीबारीको जंगल, गोकर्णको जंगल, टुडिखेल जस्ता खुला ठाउँहरु अन्यत्र पनि थिए । अहिले चाहिं सबै घर र रोडले ढाकिसकेको छ । आकाशबाट परेको पानी अहिले रिचार्ज हुन नपाएर ड्रेन आउट भएर खोलानाला हुँदै काठमाडौ बाहिर जान्छ ।

उहाँका अनुसार यसका लागि नाला, पोखरीहरु रिभाइव गर्नुपर्छ । रिचार्ज हुने ठाउँहरु पोखरीहरु, ग्राउण्डहरु, एयरपोर्टलाई पनि रिचार्ज सिस्टम बनाउन सकिन्छ । अर्को कुरा रेन वाटर हार्भेस्टिङले पनि रिचार्ज सिस्टमको प्रबद्र्धन गर्छ ।

आकाशेपानी संकलन गरेर घरायसी प्रयोग गर्न सक्छौं भने बाँकी रहेको पानी ग्राउण्ड वाटर रिचार्ज सिस्टम बनाएर जमिनमुनि पठाउन सक्छौं । यो हरेक घरले गर्न सक्छ । ४ आना देखि रोपनीका रोपनी एरिया भएका ठाउँमा पनि रिचार्ज सिस्टम अनिवार्य गर्न सकिने उहाँको भनाइ छ ।

बर्षातको समयमा रेष्ट दिनुपर्छ

काठमाडौ उपत्यकामा आपूर्ति हुने खानेपानी मध्ये करिब ४ करोड लिटर पानी जमिन मुनिकै पानी हो । भ्याली बोर्डका पूर्व निर्देशक जोशी प्राकृतिक सन्तुलन बिगार्न नदिन दिनमा करिब ८ घण्टा मात्र ट्यूबेल चलाउनुपर्ने भएपनि खानेपानी अभाव परिपूर्तिका लागि १६ देखि १८ घण्टासम्म पानी तान्ने काम भईरहेको बताउनुहुन्छ ।

उहाँका अनुसार सुख्खा समयमा खोलानाला, इनार सुक्ने भएकाले भूमिगत पानी बढी निकाल्नुपर्छ । यसको सट्टा बर्षातको समयमा रेष्ट दिनुपर्छ । बर्षातको समयमा ४ देखि ६ महिनासम्म रेष्ट दिनुपर्ने भएपनि काठमाडौ उपत्यकामा बाह्रै महिना भूमिगत पानीको दोहन भईरहेको छ । यसले गर्दा जमिनमुनिको पानीको सतह दिनानुदिन घट्दै गईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार