बागमती प्रदेशको नीति तथा कार्यक्रममा खानेपानी र सरसफाइ : एक घर एक धारालाई निरन्तरता, तत्काल प्रतिफल आउने आयोजनालाई प्राथमिकता

🔗
93
Shares


काठमाडौ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न योजना लागु गर्ने र उपचार सेवालाई प्रभावकारी बनाउने भएको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई केन्द्रमा राखिएको जानकारी गराउनुभयो ।

आगामी वर्ष कोरोना संक्रमणको उपचारलाई स्तरीय बनाउन सुविधा सम्पन्न अस्पताल, यन्त्र, उपकरण र जनशक्तिको उचित व्यवस्थापन गरिने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै कोरोना प्रभावित परिवारलाई आर्थिक सहायता कार्यक्रम र युवाहरुलाई उद्यमशीलतामा जोड्न स्वरोजगारमूलक उत्पादनमा आधारित अनुदानका कार्यक्रम पनि तर्जुमा गरिने जनाइएको छ ।

यस्तै नीति तथा कार्यक्रममा प्रत्येक घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुर्‍याउन ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ । यसका लागि आधारभूत खानेपानी सेवा विस्तार, राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड बमोजिम सेवा पुर्‍याउन खानेपानी गुणस्तर सुधार आयोजना कार्यान्वयनको साथै निर्माण कार्य अन्तिम चरणमा रहेका तत्काल प्रतिफल प्राप्त हुने आयोजना कार्यक्रमलाई प्राथमिकताका साथ आगामी आर्थिक बर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।

नीति तथा कार्यक्रममा ऐतिहासिक ढुङ्गेधारा र परम्परागत खानेपानीका स्रोतहरुलाई सम्पदाकै रुपमा संरक्षण गर्ने नीति लिइने उल्लेख छ । खानेपानीका स्रोत संरक्षण, भूमिगत जल व्यवस्थापन तथा पुनर्भरण कार्यक्रम अगाडि बढाउनुका साथै अति सुख्खाग्रस्त क्षेत्रमा स्वच्छ खानेपानी संकलन, भण्डारण र वितरण गर्न विशेष कार्यक्रम सञ्चालन जस्ता योजना प्रदेश सरकारको नीतिमा समेटिएको छ ।

स्थानीय तह तथा खानेपानी बोर्ड लगायतका निकायहरुसँगको सहकार्य र सहलगानीम खानेपानी योजना निर्माण तथा सञ्चालन गरिनुका साथै कोभिड १९ तथा स्वास्थ्य जोखिमबाट सुरक्षित हुन खानेपानी तथा पूर्ण सरसफाइका गतिविधिहरुलाई एकीकृत रुपमा सञ्चालन गरिने भनिएको छ । प्रमुख राजमार्गहरुमा स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक शौचालयहरुको निर्माण र व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेशको पानी, प्रदेशकै नागरिकको लगानी

प्रदेशमा उपलब्ध जलस्रोतको बहआयामिक उपयोग गरी अधिकतम प्रतिफल लिन तथा प्रभावकारी नियमनका लागि जल उपयोग, नदी व्यवस्थापन तथा सिँचाई ऐन तर्जुमा गरी कार्यान्वयन गरिने भनिएको छ । साथै प्रदेशको पानी, प्रदेशकै नागरिकको लगानी हुने गरी निजी क्षेत्र, सहकारी तथा सरकारको समन्वयमा कार्यक्रम सञ्चालन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै राष्ट्रिय गौरवका आयोजनाहरुको मुल्याङ्कन गरी आवश्यक बजेट विनियोजन गर्ने, बहुवर्षीय र क्रमागत योजनाहरुलाई प्राथमिकतामा राखेर पहिलो चरणमा बजेट विनियोजन गरिने र अन्य योजनालाई दोस्रो चरणमा बजेट प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रमलाई प्रदेशका ३८३ विद्यालयमा विस्तार गरिने, एक स्थानीय तह एक नर्सरी कार्यक्रम सञ्चालन गरिने, दूध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने र सो बापतको रकम कृषकको खातामा जम्मा गरिदिने तथा बाँझो जग्गामा खेती कार्यक्रम सञ्चालन गरिने जस्ता योजना समेटिएको छ ।

हेटौंडा स्थापना भइरहेको दुध पाउडर प्लान्टलाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य पनि प्रदेश सरकारले राखेको छ । त्यस्तै, कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्न प्रदेश सरकार मातहतका कर्मचारीलाई भ्रमण कार्यक्रम सञ्चालन गरिने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थापन र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिने जनाइएको छ ।

आगामी आर्थिक वर्षमा एक जिल्लामा एक बाल विकास कक्षाको व्यवस्था, प्रदेश परीक्षा बोर्ड गठन गरी माध्यमिकस्तरको परीक्षा सञ्चालन गर्ने, सामुदायिक क्याम्पसमा अध्ययनरत छोरी बुहारीका लागि वितरण गरिँदै आएको ‘छोरीबुहारी कार्यक्रम’लाई निरन्तरता दिइने प्रदेश सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

सामुदायिक विद्यालयको स्तर विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने तथा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिने, युवा वैज्ञानिकहरूलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धतासमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

‘किसानका गरा, सधैँ हराभरा’ कार्यक्रम सञ्चालन गर्ने, छोटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने र पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको कार्य सञ्चालन गरिने जनाइएको छ । प्रदेश चक्रपथको बाँकी रहेका निर्माण कार्य संचालन गरिने तथा काठमाडौं उपत्यका काँठ चक्रपथ अन्तर्गत तीनै जिल्लाका सडकलाई स्तरोन्नति गर्ने योजना प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार