कर्णालीको नीति तथा कार्यक्रम : सरसफाइ प्राथमिकता बाहिर, खानेपानीको लागि नवीन प्रविधिको सहायता

🔗
39
Shares


काठमाडौ : कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा सरसफाइको बिषय ओझेलमा परेको छ । सामाजिक, आर्थिक न्याय सहितको विकासका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार स् दिगो विकास र समृद्धिको लागि पूर्वाधार’ भन्ने मूल ध्येय लिई नीति तथा कार्यक्रम ल्याएको जनाए पनि सरसफाइको बिषयलाई भने प्राथमिकतामा नराखिएको हो ।
कोरोना नियन्त्रण, स्वास्थ्य, शिक्षा, कृषि, वन, सडक यातायात लगायत क्षेत्रका लागि नीति तथा कार्यक्रमले समेटेको भएपनि नीति तथा कार्यक्रमको बुँदा नं. २५.४ स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक शौचालय, ढल व्यवस्थापन र फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्न प्रोत्साहित गर्ने बाहेक सरसफाइ क्षेत्रका लागि केही कुरा उल्लेख गरिएको छैन ।

कर्णाली प्रदेशसभामा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘कर्णालीको पानी जनताको लगानी’ अभियान सञ्चालनका लागि जलस्रोत गुरुयोजना तयार गरी सिंचाइ, खानेपानी, जलालय र जलविद्युतको विकास र बहुद्देश्यीय उपयोग गर्ने नीति लिइने उल्लेख गर्नुभयो ।

खानेपानी आपूर्तिको लागि नवीन प्रविधिको सहायता लिईने

जनतालाई आधारभूत खानेपानीको व्यवस्था र सबै खेतीयोग्य जमिनमा सिचाई सुविधा उपलब्ध गराउन आवश्यकता अनुसार बर्षातको पानी संकलन, डिप बोरिङ तथा लिफ्ट खानेपानी लगायतका नवीन प्रविधिहरुको माध्यमबाट सबैलाई स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सिँचाई सुविधा विस्तार गर्ने नीति लिने उल्लेख छ ।

यस्तै प्रदेश राजधानी वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान गर्न भेरी लिफ्ट खानेपानी आयोजना कार्यान्वयन गर्न नेपाल सरकारसँग साझेदारी गरिने उल्लेख छ ।

कर्णाली जलस्रोत नीतिको प्रभावकारी कार्यान्वयन गरिने

नीति तथा कार्यक्रममा प्रदेशको जलस्रोतको व्यवस्थित र प्रभावकारी उपयोगका लागि कर्णाली जलस्रोत नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने जनाएको छ । भेरी, कर्णाली, शारदा, तिला, हिमा लगायतका नदी किनारका असिँचित फाँट, टार र क्षेत्र लक्षित लिफ्ट, डिपबोरिङ तथा ट्यूवेल मार्फत सिँचाईको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै सार्वजनिक निजी तथा उपभोक्ताको साझेदारीमा खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पुराना आयोजना र कार्यक्रमलाई निरन्तरता

नीति तथा कार्यक्रमले प्रायः पुराना आयोजना र कार्यक्रमलाई निरन्तरता दिइएको छ । कोभिड–१९ को प्रभावका कारण विकास प्रयासमा गतिरोध उत्पन्न भएको यस प्रतिकूल परिस्थिति बीच सुझबुझपूर्ण प्रतिकार्य गर्दै कर्णाली प्रदेशको ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ को दीर्घकालीन सोच हासिल गर्न प्रथम पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक–सामाजिक रुपान्तरण सहितको समानुपातिक समावेशी विकास हासिल गर्ने दिशामा आगामी कार्यक्रमहरू केन्द्रित गरिएको प्रदेश प्रमुख कलौनीले बताउनुभयो ।

नीति तथा कार्यक्रममा कर्णाली प्रदेशकै ठुलो अस्पतालमा रहेको प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा रुपान्तरण गर्ने र कर्णालीका प्रत्येक जिल्लाहरुमा सरुवा रोग अस्पतालको स्थापना, जिल्ला अस्पतालहरूमा कम्तीमा एक भेन्टिलेटर र पाँच आई.सी.यू. उपचार, प्रत्येक स्थानीय तहहरुमा १५ शैयाको अस्पताल र प्रयोगशालाको व्यवस्थापन गरिने उल्लेख छ ।

साथै कर्णालीका सबै नागरिकलाई कोरोना खोप लगाउँने र कोभिड पुष्टि भएका नागरिकलाई निःशुल्क उपचार तथा पोसिलो खानेकुराको व्यवस्था मिलाउने, भारत तथा तेस्रो मुलुकबाट कर्णाली फर्किएका जो सुकै नागरिकलाई नाकाहरुमा कोरोना परिक्षण गरिने, उच्च हिमाली जिल्लाहरुमा कोरोनाका जटिल बिरामीलाई हवाई उद्धार गरी सम्बन्धित कोभिड अस्पतालमा लगेर उपाचार गर्ने साथै कोरोना संक्रमितलाई मनोवल बढाउनको लागि विज्ञ व्यक्ति तथा स्वास्थ्यकर्मीहरूबाट ध्यान, योगा गराइने, कर्णालीका विभिन्न ठाउँमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक तथा एक स्थानीय तह एक स्वास्थ्यकर्मी खटाइने भनिएको छ ।

ज्याला मजदुरी गरी जिविका चलाउँदै आएका घरपरिवारलाई राहतको व्यवस्था गरिने, प्राथमिक तथा घरेलु उपचारलाई प्रोत्साहन, नागरिकको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने, अल्जाईमर, क्यान्सर, पार्किन्सन, सिकलसेल एनिमिया, मुटु, मृगौला, रिकेट्स, अटिज्मजस्ता दीर्घरोगबाट पीडित बिरामीको उपचारमा सहयोग गर्न उपचार सहायता कोष स्थापना गरिने प्रदेश सरकारको नीति छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार