सुदूरपश्चिममा ३० अर्ब ३३ करोडको बजेट : खानेपानीमा १ अर्ब ३४ करोड

कैलाली : सुदुरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । ती मध्ये खानेपानी तर्फ १ अर्ब ३४ करोड ३८ लाख बजेट विनियोजन गरेको छ । खानेपानी क्षेत्रमा विनियोजित बजेटबाट खानेपानीको सुविधाबाट बञ्चित रहेका समुदायलाई सफा र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन खानेपानी संरचना निर्माण गर्ने र क्रमागत लिफ्ट खानेपानी आयोजनाहरु सम्पन्न गरी नौ वटै जिल्लाका थप सम्भावित स्थानहरुका लिफ्ट खानेपानी आयोजनाहरुको थप अध्ययन गर्ने जनाएको छ । यसबाट आगामी आर्थिक बर्षमा थप १५ हजार जनसंख्यालाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने सुदुरपश्चिम प्रदेश सरकारको योजना छ ।

यस्तै शहरी विकास तथा भवन कार्यालय मार्फत सरकारी तथा सामुदायिक भवन, अन्य सार्वजनिक निर्माण र ढल निकास तथा सरसफाइ संरचना निर्माण गर्न ५८ करोड ६ लाख विनियोजन गरेको जनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने उपरोक्त बमोजिमको कार्यक्रमका लागि ११ अर्ब ७५ करोड ८३ लाख विनियोजन गरिएको बजेट बक्तव्यमा उल्लेख छ ।

खानेपानी नमुना परिक्षणका लागि बजेट

सुदुरपश्चिम प्रदेश सरकारले खानेपानी नमुना परिक्षणका लागि ४८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सबै जिल्लाका स्वास्थ्य कार्यालयहरुमा खानेपानी नमुना परिक्षणको लागि प्रयोगशाला विस्तार एवं परिक्षण कार्यक्रमको निरन्तरताको लागि उक्त बजेट विनियोजन गरिएको बजेट बक्तव्यमा उल्लेख छ । प्रदेशमा देखिएका मुख्य १० वटा रोगहरु मध्ये खानेपानीसँग सम्बन्धित ४ वटा रोगहरु नियन्त्रणका लागि खानेपानीको नमुना परिक्षण गरिन लागेको हो ।

खानेपानी र सरसफाइमा प्रदेश २ सरकारको बजेट

प्रदेश २ को सरकारले भने डिप ट्युबेल, स्यालो ट्यूबेलको सुदृढीकरण तथा आधुनिकीरकण र नदीहरुको व्यवस्थापन गरी विद्यमान कृषि सिंचाई प्रणालीहरुको क्षमता अभिवृद्धि कार्यलाई निरन्तरता दिई स्थानीय स्तरमा रहेका साना सिंचाई पूर्वाधारहरुलाई समुदायबाटै व्यवस्थापन हुने गरी सञ्चालनमा ल्याउन १० करोड २० लाख बजेट विनियोजन गरेको जनाएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा एक जलाशय/पोखरीको संरक्षण संबद्र्धनन एवम् व्यवस्थापनको लागि रु. ३२ करोड विनियोजन गरेको छ भने हरित एवं स्वच्छ प्रदेशको परिकल्पनालाई साकार पार्न प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा हरित पार्क निर्माणका लागि १६ करोड बजेट विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
प्रदेश २ सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत विगतमा सञ्चालित तथा स्रोत सुनिश्चितता भएका क्रमागत आयोजनाहरुलाई सम्पन्न गर्न ३१ करोड बजेट विनियोजन बजेट विनियोजन गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार