
हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक बर्ष ३ सय ४३ वटा खानेपानी आयोजना निर्माण सम्पन्न गर्ने भएको छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड बमोजिम खानेपानी गुणस्तर सुधार आयोजना मार्फत कार्यान्वयनको चरणमा रहेका १ सय ७ वटा नयाँ आयोजना र २ सय ६ क्रमागत गरी कुल ३ सय १३ वटा खानेपानी योजनाहरुको निर्माण सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य छ ।
यस्तै निर्माण कार्य अन्तिम चरणमा रहेका ३० वटा खानेपानी आयोजना÷कार्यक्रमहरु समेत आगामी आर्थिक बर्ष भित्रै सम्पन्न गर्न वाग्मती प्रदेश सरकारले बजेटको व्यवस्था गरेको छ । यसबाट ५९ हजार ४ सय ५० जनसंख्यालाई खानेपानी सेवा प्रदान गरिने वाग्मती प्रदेशको बजेट वक्तव्यमा उल्लेख छ ।
खानेपानीका लागि करिब २ अर्ब बजेट
वाग्मती प्रदेश सरकारले खानेपानी र सरसफाइ क्षेत्रका लागि १ अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट हिजो सार्वजनिक गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै खानेपानी र सरसफाइ क्षेत्रका लागि १ अर्ब ९२ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । बजेटमा प्रदेश भित्र रहेका सबै घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुर्याउन एक घर, एक धारा कार्यक्रमलाई निरन्तरता दिदै आधारभूत खानेपानी सेवा विस्तार गरिने जनाएको छ ।
यस्तै खानेपानीका स्रोत संरक्षण, भूमिगत जल व्यवस्थापन तथा पुनर्भरण कार्यक्रम अगाडि बढाउनुको साथै अति सुख्खाग्रस्त क्षेत्रमा स्वच्छ खानेपानी संकलन, भण्डारण र वितरण सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्न तथा ऐतिहासिक ढुङ्गेधारा र परम्परागत खानेपानीको स्रोतलाई सम्पदाको रुपमा संरक्षण गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ ।
हेटौडा र भरतपुर खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्य र सहलगानीमा खानेपानी योजना निर्माण तथा सञ्चालन गर्न तथा स्थानीय तहसँगको साझेदारीमा फोहोरमैला प्रशोधन र ढल निर्माण तथा सरसफाइ कार्यक्रम सञ्चालन गर्न पनि बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बजेट वक्तव्य मार्फत जानकारी गराउनुभयो ।


913 पटक हेरिएको 

