शहरी सरसफाइका चुनौती र नगरस्तरीय समावेशी सरसफाइ अवधारणा

शहरीकरण एउटा जटिल सामाजिक—आर्थिक रुपान्तरण प्रक्रिया हो। यसले ग्रामिण स्वरुपलाई शहरमा परिवर्तन गर्ने मात्र नभई स्थानीय जीवनशैली, संस्कार, आनीबानीमा समेत प्रत्यक्ष र ठोस परिवर्तन ल्याउँछ । यसबाहेक बढ्दो र अनियन्त्रित शहरीकरणले शहरी सौन्दर्यको साथै वातावरण र जनस्वास्थ्यमा समेत प्रत्यक्ष नकारात्मक असर पर्दछ ।

शहरीकरण, वातावरण र जनस्वास्थ्यको कुरा गर्दा शहरी सरसफाइका अवस्था र व्यवस्थाबारे विशेष ध्यान दिनु जरुरी हुन्छ । बढ्दो र अनियन्त्रित जनसंख्या वृद्धिलाई समयानुकुल सम्बोधन गर्न नसक्दा शहरी सरसफाइ थप जटिल बनेको छ भने अनियन्त्रित र अव्यवस्थित औपचारिक र अनौपचारिक वस्ती विकासले पनि शहरी सरसफाइलाई थप चुनौतीपूर्ण बनाएको छ । यसरी कमजोर सरसफाइको कारण शहरी सौन्दर्यमा मात्र ह्रास आएको नभई शहरी वातावरण र जनस्वास्थ्य जोखिमयुक्त बन्दै गइरहेको छ ।

संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित World Urbanization Prospects – The 2018 Revision मा उल्लेख भए अनुसार सन् २०१८ को विश्वव्यापी शहरी जनसंख्या ५५.३% पुगेको छ भने उक्त जनसंख्या विकसित र अल्पविकसित राष्ट्रहरुमा क्रमशः ७८.७% र ५०.६% रहेको छ । यसको विपरित विकसित र अल्पविकसित राष्ट्रहरुमा शहरी जनसंख्या वृद्धिदर क्रमशः ०.३% र १.३३% रहेको छ । यसले अल्पविकसित राष्ट्रहरुमा शहरी सरसफाइ थप चुनौतीपूर्ण बन्दै गएको वा जानेछ भन्ने प्रष्ट छ ।

नेपाल न्यून शहरीकरण भएका विश्वका १० राष्ट्रहरु मध्येमा पर्दछ भने सबैभन्दा बढी रफ्तारमा शहरीकरण भइरहेको विश्वका १० राष्ट्रहरुमध्ये नेपाल पनि पर्दछ र यो क्रम आउने सन् २०५० सम्म निरन्तर रहनेछ भन्ने अनुमान समेत गरिएको छ । सन् २०११ सम्म केवल १९% शहरी जनसंख्या भएको देशमा सन् २०१९ सम्म आइपुग्दा उक्त संख्या ६२% पुगेको छ ।

नेपालको शहरी विकास मन्त्रालयद्वारा प्रकाशित राष्ट्रिय शहरी विकास रणनीति २०१७ अनुसार कुल शहरी जनसंख्याको ४३.५% जनसंख्या साविकका पुराना ५८ वटा नगरपालिकामध्ये १ लाखभन्दा बढी जनसंख्या भएका १४ वटा शहरी क्षेत्रमा केन्द्रित छन्। यसले नेपालमा भइरहेको तिव्र शहरीकरण र यसबाट शहरी सरसफाइ थप जटिल बन्दै जाने र यसलाई तत्काल योजनावद्ध रुपमा प्राथमिकताका साथ व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

शहरीकरण र शहरको आकार बढेसँगै अनौपचारिक/अनधिकृत बस्ती र शहरी गरीबी पनि बढ्दै गएको छ जसको कारण सरसफाइको अवस्था सामान्य भन्दा निकै कमजोर हुँदै गएको छ । अर्कोतर्फ मौजुदा सरसफाइ सुविधा र सेवा प्रणालीलाई यी वस्ती र समुदायले समेट्न सकेको छैन । पहुँच मात्रै नभई सरसफाइको गुणस्तरमा समेत समावेशीकरणको अभाव देखिन्छ ।

बढ्दो शहरीकरण र जटिल सरसफाइ अनि मौजुदा सरसफाइको अभ्यासलाई मध्यनजर गरी सम्भावित भावी आवश्यकतासँग सम्झौता नगरीकन आजको आवश्यकता पूर्ती गर्नको लागि दिगो विकास लक्ष्य २०१६—३० लागु भएको छ । यसका १७ वटा लक्ष्यहरुमध्ये पानी र सरसफाइसँग सम्बन्धित लक्ष्य ६.२ मा भनिएको छ, सन् २०३० सम्ममा जोखिमयुक्त अवस्थामा रहेका महिलाको आवश्यकतालाई विशेष ध्यान दिई सबैको लागि पर्याप्त र समतामूलक सरसफाइ र स्वच्छतामा पहुँच सुनिश्चित गर्ने र खुल्ला दिसामुक्त गर्ने। (Goal 6.2. by 2030, achieve access to adequate and equitable sanitation and hygiene for all, and end open defecation, paying special attention to the needs of women and girls and those in vulnerable situations) यसबाहेक उक्त लक्ष्य मापनको लागि तय गरिएको विश्वव्यापी सूचक (Global Indicator) ६.२.१ मा सुरक्षित सरसफाइ (Safely Managed Sanitation) को उपभोग र साबुन पानीले हात धुने स्थानको व्यवस्था हुनुपर्ने उल्लेख छ ।

सुरक्षित सरसफाइ भन्नाले दिसाको स्थलगत सुरक्षित व्यवस्थापन वा दिसालाई ढुवानी गरी प्रशोधन गर्ने भन्ने बुझ्न सकिन्छ । दिगो विकास लक्ष्यले सरसफाइको दिगोपनासँगै सबैको लागि समतामूलक पहुँचलाई महत्वका साथ उल्लेख गरेको छ ।

शहरी फोहरमैला, फोहरपानी र दिसाजन्य लेदो व्यवस्थापन शहरी सरसफाइका तीनवटा आयामहरु हुन् जसलाई समग्रमा फोहर व्यवस्थापन भन्न सकिन्छ । यी तीनै आयामलाई एकिकृत रुपमा सम्बोधन र व्यवस्थापन गरेरै मात्र शहरी सरसफाइलाई पूर्णता दिन सकिन्छ । यसबाहेक भौतिक घ पूर्वाधारको साथै सरसफाइ सेवालाई पनि सँगसँगै र उत्तिकै महत्वकासाथ योजनावद्ध र कार्यान्वयन गर्न सकिएन भने सुरक्षित सरसफाइलाई फेरि पनि सुनिश्चित गर्न सकिंदैन ।

शहरी सरसफाइ असुरक्षित भईदिंदा सम्पूर्ण नगरबासी प्रभावित हुन्छ जसबाट शहरी गरीब र पिछडिएको वर्गको स्वास्थ्य अझ बढी जोखिमयुक्त हुन्छ । सुरक्षित वातावरण र जनस्वास्थ्यकोलागि सरसफाइ सुविधा र सेवा मात्रै पर्याप्त हुँदैन । यसको लागि सरसफाइ श्रृंखलाका सम्पूर्ण चरणमा सुरक्षित सुविधा र सेवाको प्रत्याभूत गर्नु पर्दछ ।

वर्तमान परिवेशमा सरसफाइको अवस्था र भइरहेको प्रयास अनि यसका अन्तर्निहित चुनौतीलाई विश्लेषण गर्ने हो भने सरसफाइ क्षेत्रको लागि दिगो विकास लक्ष्य चुनौतीपूर्ण देखिन्छ । नेपालको सन्दर्भमा यो थप जटिल र महत्वकांक्षी देखिन्छ । नेपालको दिगो विकास लक्ष्य २०१६—३० सम्बन्धि राष्ट्रिय प्रतिवेदनले ९५% घरधुरीमा उन्नत सरसफाइ (Improved Sanitation) र सम्पूर्ण शहरी घरधुरी (६२%) मा व्यवस्थित ढल निकासको पहुँच पु¥याउने लक्ष्य द्ध लिएको छ ।

सरकारले प्राथमिकतामा राखेर अभियानको रुपमा कार्यक्रम लागु गर्ने हो भने ९५% घरधुरीमा उन्नत सरसफाइ पु¥याउन सम्भव देखिएपनि शतप्रतिशत शहरी जनसंख्यालाई व्यवस्थित ढल निकासको सुविधा प्रदान गर्ने लक्ष्य सजिलो छैन । नेपालको नगर क्षेत्रको भौगोलिक अवस्था एवम्ढ ल निकासमा लाग्ने आर्थिक लगानीको आधारमा उक्त लक्ष्य प्राप्ति असम्भव प्रायः देखिन्छ । यस बाहेक नीतिगत र कानूनी व्यवस्थाको कमि, अपर्याप्त तथ्यांक, सचेतनाको कमि, पर्याप्त प्राविधिक जनशक्तिको कमि लगायतका परिस्थितिले पनि ढलनिकासमा पहुँच सम्बन्धि नेपालको दिगो विकास लक्ष्य चुनौतीपूर्ण छ ।

यद्यपी उपलब्ध साधन स्रोत, नीतिगत व्यवस्थाको आधारमा केहि सार्थक प्रयास गर्ने हो भने सुरक्षित सरसफाइ सेवा उपभोगको सुनिश्चिता गर्न सकिने देखिन्छ । यसको लागि फोहरपानी व्यवस्थापनको साथै दिसाजन्य लेदोलाई पनि समान प्राथमिकतामा राखेर अगाडि बढ्न जरुरी हुन्छ ।

नगरस्तरीय समावेशी सरसफाइ (Citywide Inclusive Sanitation) अवधारणाले शहरी सरसफाइको विद्यमान् अवस्था र यसका चुनौतीलाई उचित सम्बोधन गरी दिगो विकास लक्ष्य ६.२ हासिल गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ । समग्र सरसफाइ श्रृंखलाभर वातावरणमा कुनै प्रदुषण बिना केन्द्रिकृत वा विकेन्द्रिकृत प्रणालीमार्फत् सबै नगरबासीहरुमा पर्याप्त र सस्तो सरसफाइ सेवाको पहुँच पुगेको अवस्थालाई नगरस्तरीय समावेशी सरसफाइ भनिन्छ । यसका ७ वटा मुख्य सिद्धान्तहरु (सौजन्य : BMGF ) निम्नानुसार रहेका छन्।

१. शहरी गरीब समेत गरी शहरी क्षेत्रका हरेकले समानुपातिक सुरक्षित सरसफाइ सेवाबाट लाभान्वित हुनेछ ।

२. लैंगिक र सामाजिक समानतालाई सरसफाइ प्रणालीको योजना निर्माण, व्यवस्थापन र अनुगमनको चरणमा नै समावेश गरिनेछ ।

३. भण्डारणदेखि सम्पूर्ण सरसफाइ सेवा श्रृंखलामा मानव मलमूत्रलाई सुरक्षित व्यवस्थापन गरिनेछ ।

४. सेवा प्रदायकले स्पष्ट समावेशी दायित्व, लक्ष्य र उत्तरदायित्वसहित सेवा प्रदान गर्नेछ ।

५. लक्ष्य हासिल गर्न अधिकार प्राप्त निकायले विभिन्न अवधारणाहरुमार्फत् लगानी, व्यापार, सरसफाइ प्रणालीको निर्धारण गर्नेछ ।

६. आवश्यकता र श्रोत विश्लेषणको आधारमा निर्धारण गरिने विस्तृत दीर्घकालिन योजना र लगानीले नविनतम् विकासलाई प्रोत्साहन गर्नेछ ।

७. योजना, क्षमता अभिवृद्धि र नेतृत्व मार्फत राजनैतिक इच्छाशक्तिले दायित्व, श्रोत व्यवस्थापन र उत्तरदायित्वलाई सुदृढ गर्नेछ ।

समग्रमा नगरस्तरीय समावेशी सरसफाइ हासिल गर्न सरसफाइ र शहरी विकास अवधारणामाविद्यमान् मानसिकता र अभ्यासमा आमूल रुपान्तरणको आवश्यकता पर्दछ । तसर्थ नेपालको शहरी सरसफाइका चुनौतीहरुलाई व्यवस्थित ढंगले समाधान गर्न नगरस्तरीय समावेशी सरसफाइ अवधारणाको पैरवी गर्न जरुरी देखिन्छ ।

-राजेन्द्र श्रेष्ठ/विपीन डंगोल :वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्रकाशन अन्जुलीबाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार