
मुगु : ‘मुगुको राराताल पुग्ने पर्यटक शौचालय छाडेर जंगल कुद्छन् ।’ यो खबरले कस्ता आचरण नभएको पर्यटक भन्ने लाग्न सक्छ । तर त्यहाँ पुग्ने जो कोही पर्यटकलाई शौचालय छाडेर जंगल तिर जान बाध्य बनाउँछ ।
रारामा शौचालयको अभाव भएर जंगलतिर दौडिएका पनि होइन् । प्रशस्त शौचालय भएपनि शौचालय जत्ति फोहोर र दुर्गन्धित भएपछि रारा पुग्ने जो कोही पर्यटक दिसापिसाब गर्न शौचालय छाडेर जंगल जान बाध्य भएका हुन् । कर्णाली प्रदेश सरकार र रारा राष्ट्रिय निकुन्जले प्रत्येक वर्ष रारा तालको किनारमा लाखौ रकम खर्च गरेर शौचालय बनाउँछन् तर त्यसको सरसफाइ र संरक्षणको अभाव छ ।
शौचालयमा पानीको व्यवस्था समेत नभएको बर्दियाबाट रारा घुम्न पुगेको शंकर चौधरीले बताउनुभयो । ‘शौचालय भित्र जताततै दिसापिसाब छ, दिसापिसाब पखाल्न लगेको बोतल समेत त्यसै छाडिएको छ, झ्याल, ढोका तोडफोड समेत गरिएको छ । यस्तो अवस्थामा शौचालय प्रयोग गर्न सकिने कुनै अवस्था छैन ।’ उहाँले भन्नुभयो ।
शौचालय प्रयोगमा नआउँदा शौचालय र वरिपरिको जंगल दुवै दुर्गन्धित भएको चौधरीले बताउनुभयो । ‘म मात्र होइन, यहाँ आउने कसैले पनि शौचालयको प्रयोग गर्न सक्ने अवस्था छैन ।’ उहाँले भन्नुभयो ।
भएको शौचालयको उचित संरक्षण र व्यवस्थापनमा स्थानीय बासिन्दाले ध्यान दिनुपर्ने त्यहाँ पुग्ने पर्यटकहरु बताउँछन् । रारामा एउटा मात्र होटल छ । होटलमा पनि सीमित शौचालय रहेको र बाहिर रहेका शौचालय समेत फोहोर हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई शौच गर्न समस्या छ ।


2947 पटक हेरिएको 

