नेपालको सरसफाइ अभियानका विभिन्न आयामहरुलाई समेटेका दुई दस्तावेज हालसालै प्रकाशन भएका छन् । संयुक्त अधिराज्यस्थित Institute of Development Studies (IDS) को Sanitation Learning Hub (SLH) द्वारा आफ्नो नियमित प्रकाशन Frontiers of Sanitation को पछिल्लो अंक ९ जुन २०२१, अंक १८० मा नेपाल र भारतमा सञ्चालित समग्र सरसफाइ अभियानका उल्लेखनीय पक्षहरुलाई समेटेर Monitoring Sanitation Campaigns: Targets, Reporting and Realism शीर्षकको प्रतिवेदन प्रकाशित गरिएको छ ।
उक्त दस्तावेज तयार गर्नका लागि नेपालबाट सरसफाइ गुरुयोजना २०६८ का मस्यौदाकार मध्येका एक कमल अधिकारी र सरसफाइ र सञ्चार क्षेत्र बीचको सम्बन्ध स्थापना गर्न अग्रणी भूमिका निर्वाह गर्नु भएका भरत अधिकारी संलग्न हुनुभएको थियो । भारतबाट भने सन्तोष मेहरोत्रा रविजेता राव बेज्जांकी सहभागी हुनुहुन्थ्यो । त्यसै गरी सू कैविल तथा म्याथुज भान डेर भेल्डनको पनि यस दस्तावेजको तयारीमा सहभागिता रहेको थियो ।
अनेकौं चुनौतीका वावजुद नेपाल सन् २०१९ मा खुला दिसामुक्त (ODF) राष्ट्र घोषित भएको छ भने भारतमा पनि सरसफाइ प्रवर्धनका लागि उल्लेखनीय कार्यहरु भइरहेका छन् । एशिया र अफ्रिकाका धेरै देशका सरकारहरूले आफ्ना देशहरूलाई ODF अवस्था हासिल गर्ने महत्वाकांक्षी लक्ष्य तोकेका छन्।
यस सन्दर्भमा नेपाल र भारतमा सञ्चिलत सरसफाइ अभियानका वहुआयामिक पक्षहरुलाई उजागर गरेर खुला दिसामुक्त अभियान सञ्चालन भइरहेका देशहरुमा यी सिकाईहरुको अनुसरण गर्न सघाउ पुर्याउने उद्देश्यले यो प्रतिवेदन तयार पारिएको हो । सरसफाइ अभियान र यसले लिएको लक्ष्य, अनुगमन प्रणाली, रिपोर्टिङ र प्रमाणीकरण प्रक्रियाका बारेमा उल्लेख गरिएको यस प्रतिवेदनले अन्यत्र सञ्चालन हुने यस्तै किसिमका अभियानहरुलाई सुदृढ पार्न सहयोग पुग्ने विश्वास लिइएको छ । यस प्रकाशनको अनलाइन संस्करण तलको लिंकमा दिइएको छ।
नेपालको सरसफाइ अभियान सम्बन्धी केस स्टडी

उल्लेखित प्रकाशनसँगै IDS को SLH ले Nepal Sanitation Movement Lessons Learnt on Targets and Monitoring शीर्षकको केस स्टडी पनि प्रकाशित गरेको छ । सरसफाइ गुरुयोजनाको कार्यान्वयन र यस अन्तर्गतका नीतिगत एवं संस्थागत प्रावधानहरुका माध्यमबाट नेपालको सरसफाइ अभियान कसरी सफलताको विन्दुसम्म पुग्यो भन्ने कुरालाई उजागर गरिएको यो केस स्टडी पनि नेपालको सरसफाइ अभियानलाई विगत दुई दशक देखिजीवन्त र गतिशील बनाउन निरन्तर रुपमा महत्वपूर्ण योगदान दिनु भएका कमल अधिकारी र भरत अधिकारीले नै तयार गर्नु भएको हो । यस प्रकाशनको अनलाइन संस्करण तलको लिंकमा दिइएको छ :
नेपालको सरसफाइ सम्वन्धी उपलव्धिहरु लाई अन्तर्राष्ट्रिय रङ्गमञ्चमा उजागर गर्न यी दस्तावेजहरुको योगदान महत्वपूर्ण हुने देखिन्छ ।


1902 पटक हेरिएको 

