नगरपालिकाले जलाएको फोहोरको धुँवाले गाउँ नै ढाकियो (भिडियो)


सोलुखुम्बु : सोलु दुधकुण्ड नगरपालिकाले जलाएको फोहोरको धुँवाले नगरपालिका क्षेत्रको गार्मा, नेमार, भित्ताखर्क लगायत गाउँमा बसिनसक्नु भएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनको नाममा सदरमुकाम सल्लेरी र आसपासको फोहोर संकलन गरेर डम्पिङ साईटमा लगेर जलाउँदा गाउँभरि फोहोरको धुँवा फैलिएको हो ।

हेर्नुहोस् यो भिडियो :

सोलु दुधकुण्ड नगरपालिकाले सोलुखोला नजिकै भित्ताखर्क जाने बाटो भन्दा तलतिर डम्पिङ साईट बनाएर फोहोर थुपारेर जलाउँदै आएको छ । वस्ती भन्दा टाढा भएपछि दुर्गन्ध नआउने र फोहोर व्यवस्थापनमा सघाउ पुग्ने आशा गरेका स्थानीय बासिन्दा अहिले नगरपालिकाको कामले आजित भएका छन् । ‘एक दिन होइन, सधैं यसरी नै फोहोर जलाउँदै आएको छ’ गार्मा माध्यमिक विद्यालयका शिक्षिका समेत रहेकी साधना श्रेष्ठ भन्नुहुन्छ ‘फोहोर जलाएको धुँवा र गन्धले विद्यालयमा अध्ययनरत बालबालिका, बृद्धबृद्धा सबैभन्दा बढी प्रभावित भएपनि यसले सबैलाई असर पारेको छ ।’ उहाँका अनुसार नगरपालिकाले फोहोर जलाउँदा त्यसको धुँवा गार्मा, नेमार, भित्ताखर्क, खोरियासम्म फैलिने गरेको छ । त्यस क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी तथा मानववस्ती रहेका छन् ।

फोहोरलाई गन्धरहित तरिकाले आधुनिक प्रविधि अपनाएर व्यवस्थापन गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । अहिले जस्तै जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी फोहोरलाई जलाई रहे नगरपालिकाको काम विरुद्ध आन्दोलित हुने स्थानीयले चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार