वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा सडक अतिक्रमण गर्नेलाई जरिवाना तिराएको छ । जरिवाना बापत गत आर्थिक वर्ष २०७७÷७८ मा ७८ हजार १ सय रुपैयाँ राजश्व संकलन भएको छ ।
वीरगञ्ज महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अन्तर्गत उनीहरुलाई कारबाही गरिएको महानगरले जनाएको छ । ऐनमा कसूर अनुसार ५ सय देखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।
फुटपाथमा फोहोर राख्ने, शौचालय सफा गरेर नालामा हाल्ने, जथाभावी सडकमा फोहोर फाल्ने, म्याद नाघेको औषधि जथाभावी फाल्ने, नदीमा फोहोर फाल्ने र फुटपाथमा प्लाष्टिक राख्नेहरुलाई कारबाही गरिएको सरसफाइ शाखाका सहायक प्रमुख सर्र्फुदिन मियाँले जानकारी दिए ।
‘जथाभावी फोहोर नगर्न पटक–पटक भनेका छौं, तर अटेर गर्छन्,’ उनले भने, ‘पटक–पटक भन्दा पनि अटेर गर्नेलाई जरिवाना गरेका हौं ।’
चालु आर्थिक वर्ष २०७८र८९ मा सरसफाइ शाखाले विशेष अभियान नै सञ्चालन गरेर सडकमा ढुंगा, गिट्टी र बालुवा राख्नेलाई कारबाही गरेको उनी बताउँछन् । साउन महिनामा जेसीबीले नालाको प्लेट फोड्ने, मरेको बाच्छा नालामा फाल्ने र सडक पेटीमा कवाड राख्नेलाई जरिवाना गरिसकेको मियाँले जानकारी दिए । त्यसबाट महानगरपालिकाले १४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
कार्यदल गठन भयो, काम भएन
महानगरले सरसफाइका लागि सार्वजनिक–निजी साझेदारी अवधारणा अन्तर्गत काम गरेको छ । फोहोर संकलनको जिम्मा निजी साझेदारलाई दिएको छ भने जनचेतना जगाउने, अटेरी गर्नेलाई कारबाही गर्ने र निजी कम्पनीलाई आवश्यक नीतिगत गर्ने सहयोग काम महानगरले नै गर्दै आएको छ ।
तर पनि फोहोर मैला व्यवस्थापन, छाडा चौपाया नियन्त्रण, सडक फुटपाथ व्यवस्थापनमा महानगरले उपलब्धि हासिल गर्न गरेको छैन, जसका कारण जनगुनासो आइरहेको छ । त्यसैले महानगरले कार्ययोजना सहित काम गर्न तीन सदस्यीय कार्यदल समेत गठन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौलाका अनुसार कार्यदलमा सरसफाइ शाखा प्रमुख इन्जिनियर राजीव सिंह टिम लिडर र नासु सर्फुदिन मियाँ र नगर प्रहरी इन्चार्ज हरि भुसाल सदस्य छन् ।
२०७७ मंसिर २२ मा कार्यदल गठन गरिएको भए पनि हालसम्म कार्ययोजना समेत बनेको छैन । टिम लिडर इन्जिनियर सिंह कार्ययोजना तयार नै नभएको बताउँछन् ।
‘कार्यव्यस्तताले कार्ययोजना बनाउन पाएका छैनौं, सामूहिक छलफलपछि साउनदेखि नै सडकमा राखिएको निर्माण सामग्री हटाउन शुरु गरिसकेका छौं,’ उनले भने । अनलाइन खबरबाट साभार गरिएको ।