काठमाडौं : काठमाडौं उपत्यकामा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ। काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भए पछि काठमाडौको फोहोर उठाउन थालिएको हो ।
सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमति अनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिनेछ । साथै सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने उल्लेख छ ।
यो सहमतिसँगै उपत्यकामा थुप्रिएको फोहर सिसडोलमा व्यवस्थापन गर्ने काम सुरु भएको छ । महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब एक महिना लाग्ने अनुमान छ । करिब १५० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लैजान सकेमा ४ हप्तामा मात्रै शहरमा थुप्रिएका फोहोर उठाइ सकिनेछ । त्यसपछि मात्रै फोहोर उठाउने काम नियमित तालिकामा फर्किन सम्भव हुन्छ ।
काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिक रुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिग्रिएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी शहर दुर्गन्धित बनेको छ। हाल उपत्यकाभर ३० हजार टन फोहोर थुप्रिएको महानगरपालिकाको वातावरण विभागको अनुमान छ ।