२ सय सरसफाइकर्मीका परिवारलाई खाद्यान्न तथा स्वच्छता किट वितरण

काठमाडौ : काठमाडौ उपत्यकामा सरसफाइको क्षेत्रमा क्रियाशील २ सय जना सरसफाइकर्मीका परिवारहरुलाई खाद्यान्न तथ स्वच्छता सामग्री वितरण गरेको छ । गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा (CNCA) र कोभिड १९ र्‍यापिड याक्सन टास्क फोर्स (C-19 RAT) ले संयुक्त रुपमा खाद्यान्न तथा स्वच्छता किट वितरण गरेको हो । उक्त सहयोगले करिब १ हजार जना अनौपचारिक क्षेत्रका सरसफाइकर्मी र उनका परिवारहरुलाई खाद्यान्न सहयोग पुग्ने CNCA का कोषाध्यक्ष निर्मल न्यौपानेले जानकारी दिनुभयो । यसका साथै सरसफाइकर्मीहरुका लागि मास्कको सही सदुपयोगका लागि जनचेतनामूलक अभिमुखिकरण समेत दिइयो ।

कार्यक्रममा संविधान सभाका पूर्व साँसद विमल केडियाले सरसफाईकर्मीहरु समाजका सरसफाई दुत भएको बताउँदै उहाँहरुले सफाइ क्षेत्रमा पुर्‍याएको योगदानको सराहना गर्नुभयो । जनस्वास्थ्यमा सरसफाइको महत्व सवैले मनन गरी सरफाइकर्मीहरुको कार्यलाई सम्मान गर्नु आवश्यक रहेको भन्दै उहाँले सरसफाइकर्मीहरुको सहकारी स्वाभिमानी सरसफाइकर्मी सहकारी समुहका लागि केडियाले रु ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभयो ।


‘महानगरलाई स्वच्छ राख्न सरसफाइकर्मीहरुले गरेको योगदान निक्कै महत्वपूर्ण छ । सिसडोल २/४ दिन बन्द हुँदा हाम्रो नगरको विभिन्न स्थानमा फोहोरको डंगुर थुप्रिएको देखिन्छ । सर्वसाधारणहरु फोहोरका कारण दुर्गन्धित भएको कुरा राख्न वडा कार्यालयमा आउँदछन् । यदि सरसफाईकर्मीहरुले दिनहु सफा नगर्ने हो भने समाजमा विभिन्न रोगहरु फैलने त्रासको वातावरण रहन्थ्यो । त्यसैले सरसफाईकर्मीहरुको कार्यलाई सम्मान दिनु आवश्यक रहेको छ’ काठमाडौं महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष र कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रत्येक दिन काठमाडौं उपत्यकामा १२०० मेट्रिक टन फोहोर उत्पादन हुन्छ भने यसको ५०% फोहोर काठमाडौं महानगरपालिकावाट उत्पादन हुने गर्दछ । कोरोनाको महामारीको समयमा संक्रमणको जोखिमको अवस्थामा पनि सरसफाईकर्मीहरुले फोहोर व्यवस्थापनको कार्य नगरेको भए उपत्यकामा फेहोरको डंगुर हुने थियो र अर्को महामारीको सम्भावना हुन सक्थ्यो ।

‘सरसफाईकर्मीहरुलाई सरकारले अरु त के भन्नु स्वास्थ्य सुविधा पनि उपलब्ध गरेको छैन । प्रत्येक दिन मास्क र पन्जा आफ्नै खर्चमा लगाई सरसफाईकर्मीहरुले काम गरिहेका हुन्छन । संक्रमण हुने भन्ने डर एकातिर छ भने काम बन्द भए कहाँबाट कमाउने र के खाने भन्ने चिन्ता अर्को तिर लिएर काम गर्न बाध्य छन । अहिले सिस्डोल बन्द हुँदा सवै सरसफाईकर्मीहरुमा अर्को चिन्ता बढेको छ’ गुथिका प्राविधिक सल्लाकार प्रकाश अमात्यले बताउनुभयो ।

‘फोहोर संकलन गर्दा संक्रमण हुने पो हो कि भन्ने डर सधै रहन्छ ।’ सफाईकर्मी माया तामाङ्गले भन्नुभयो । उहाँले गैरसरकारी संस्था मार्फत महामारीको सुरुवातमा सर्जीकल मास्क र पन्जा पाएको तर अहिले सम्म सरकारबाट कुनै सहयोग नपाएको गुनासो राख्नु हुँदै अहिले त आर्थिक अभावले बिना मास्क काम गर्नुप र्ने अवस्था रहेको बताउनुभयो ।

सिसडोलमा समस्या हुँदा काम खोसिएला भन्ने पीर


‘अधिकतम सरसफाइकर्मीहरु अनपढ छन् र उनीहरुलाई कुनै एक ठाउँमा काम गरेर जीविकोपार्जन गर्न पुग्ने तलब पाउदैनन् । त्यसैले दैनिक २–३ ठाउँमा काम गर्नु पर्दछ । महामारीका कारण लकडाउनले कार्यालय, व्यवसायहरु बन्द भएपछि आयस्रोत पनि बन्द भयो । सडक बढार्ने काम पनि एक महिना काम भए अर्को महिना नपाए पछि मलाई खानको लागि पनि निकै समस्या भयो । भोकै बाँच्न नसक्ने भएपछि ऋण लिएर रासन घरमा ल्याउन बाध्य भए अझै पनि त्यो कर्जा चुक्ता गर्न सकेको छ्रैन’ स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहका अध्यक्ष अन्जु पोडेले भन्नुभयो ।

‘सरसफाइकर्मीहरुले दिनहँु संक्रमणको सन्त्रास संगै काम गरिरहेका हुन्छन । उनीहरुलाई पनि डाक्टरहरुले प्रयोग गर्ने सुरक्षा सामग्रीको जरुरी भएको कुरा स्वास्थ्य मन्त्रालयलाई राख्दा डाक्टरहरुलाई त अहिले सुरक्षा सामग्री प्रदान गर्न नसक्ने अवस्थामा सरसफाईकर्मीहरुलाई कुनै सहयोग दिन नसक्ने कुरा भन्नुभयो ।’ सरसफाइ व्यवस्थापन संघ नेपालका पुर्व अध्यक्ष बासु उप्रेतिले भन्नुभयो ।

धेरै समय पछि जीवन सामान्यतर्फ जाँदै गरेको तर सरसफाईकर्मीहरुमा अझै त्रास रहेको गुनासो स्वाभिमानी सरसफाईकर्मी सहकारी समुहका उपाध्यक्ष रामेश्वर पोखरेलले गर्नुभयो । ‘कोरोनाको महामारी पनि हामीले सम्पूर्ण सफाईकर्मीहरुलाई काममा राख्न थालेका थियौ तर फेरी यो वर्षातका कारण सिस्डोल ल्याण्डफिल बन्द भएपछि पूर्ण सरसफाईकर्मीमा काम नपाउने डर भएको छ र हाम्रो कम्पनीले पनि काम नभई तलब दिने क्षमता हाम्रो छैन ।’ उहाँले भन्नुभयो ।

सार्वजनिक शौचालयमा काम गर्दै आएका परमा देउलाले लकडाउनको समयमा शौचालय सञ्चालन गर्न सकिएन भने आज खुकुलो भइसकेपछिको आवस्थामा पनि शौचालय प्रयोगकर्ताबाट संकलित शुल्कबाट यसको व्यवस्थापन र संचालन गर्न नै गाह्रो भएको बताउनुभयो ।

सडक बढारेर जीविकोपार्जन गर्दै आएका अनौपचारिक सरसफाईकर्मी कल्पना थापाले लकडाउन खुल्यो कोरोना हट्यो भनेर खुसी भएकै बेलब सिस्डोल बन्द बन्द हुँदा आफ्नो काम बन्द हुने चिन्ताले सताउन थालेको बताउनुभयो । ‘कोरोनाको समयमा संक्रमण हुने डर र काम जाने डर थियो । अहिले पनि हामी जस्ता सरसफाइ क्षेत्रमा कार्यरत कामदारहरुको काम खोसिएला कि भन्ने डर सधै रहिरहन्छ ।’ उहाँको गुनासो छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार