कैलाली : कैलालीको लमही नगरपालिकामा दिसाजन्य फोहोर व्यवस्थापनका लागि भौतिक निर्माणको काम अगाडि बढाइने भएको छ । यसका लागि ठेक्का गरी सम्झौता भइसकेको र केही दिनमा काम सुरु नगरपालिकाले जनाएको छ । लमही नगरपालिका र नेपाल नगरपालिका संघ बीच २०७५ पुस १० मै सम्झौता भएपनि कोभिड तथा प्राविधिक समस्याका कारण काम सुरु गर्न ढिलाइ भएको परियोजनाका फोकल पर्सन गायत्रीकुमारी थापाले जानकारी दिनुभयो ।
परियोजना अन्तर्गत लमही नगरपालिका–३ टिकुलीगढमा भौतिक संरचना निर्माण गरिने भएको छ । यसअघि निर्माण गर्ने भनिएको स्थानमा समस्या उत्पन्न भएपछि अर्को स्थान खोजी गरिएको थियो । अहिले निर्माण गर्न थालिएको स्थानमा १५ कठ्ठा जग्गामा संरचना निर्माण गरिने भएको छ । स्थान छनोट भइसकेको र ठेक्का सम्झौता समेत भइसकेकाले अब छिट्टै निर्माण सम्पन्न हुने नगरपालिकाको अपेक्षा छ । केही समयअघि ठेक्का सम्झौता भएको र आउँदो पुस मसान्तसम्म सकिने गरी सम्झौता भएको फोकल पर्सन थापाले बताउनुभयो। लगातारको वर्षातका कारण पानी जम्ने समस्या रहेकाले काम सुरु हुन नसकेको उहाँले बताउनुभयो ।
भौतिक निर्माणका लागि नगरपालिकाले दुई करोड विनियोजन गरेको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट काम हुने थापाकोे भनाइ छ ।
डीपीआर निर्माण तथा पोलिसी निर्माणमा नेपाल नगरपालिका संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफै गर्नुपर्नेछ । “नगरपालिका संघले प्राविधिक सहयोग प्रदान गरेको छ भौतिक संरचना निर्माण लमही नगरपालिकाले नै गर्ने छ,” थापाले भन्नुभयो ।
परियोजनाले दिसाजन्य लेदो व्यवस्थापन गर्ने थापाको भनाइ छ । यस प्रकारको परियोजना सुरु भएपछि शौचालयको सेफ्टी ट्यांकीबाट निकालेर बाहिर फालिने दिसाजन्य लेदोलाई व्यवस्थापन गर्न सहज हुनेछ । यसले वातावरण सफा राख्न समेत सहयोग पुग्ने बताइएको छ । यसका लागि प्लान्ट निर्माण गरेर त्यसमा सेप्टी ट्यांकीबाट निकालिएको मानवमलमूत्र राखेर त्यसलाई प्रशोधन गरिनेछ।
जसलाई कम्पोस्ट मल बनाएर बिक्री समेत गर्न सकिने उहाँले बताउनुभयो । यस परियोजनाको कार्यान्वयन पश्चात फोहोर व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । “अहिले हरेक स्थानीय तहले फोहोर व्यवस्थापनमा धेरै समस्या भोग्दै आएका छन्, पूर्व–पश्चिम राजमार्ग भएकाले पनि लमहीमा फोहोर व्यवस्थापनमा समस्या हुने गरेको छ । यो निर्माण भएमा फोहोर व्यवस्थापनमा केही मात्रामा भए पनि सहजता ल्याउन सकिनेछ ।” फोकल पर्सन थापाले भन्नुभयो ।
अहिले घर घरबाट शौचालयको सेफ्टी ट्यांकीबाट ल्याइएको दिसाजन्य फोहोर ल्यान्डफिल्ड साइटमा विसर्जन गरिदै आएको छ । नगरपालिकाले निजी क्षेत्रको सहकार्यमा दिसाजन्य लेदो व्यवस्थापन गर्दै आएको बताएको छ ।
नगरपालिका संघको सहकार्यमा लमही नगरपालिका, लहान नगरपालिका, धुलिखेल नगरपालिका, वालिङ नगरपालिका र भीमदत्त नगरपालिका गरी देशभरका पाँचवटा नगपालिका यस प्रकारको परियोजना लागू गर्नका लागि छनोट गरिएको थियो । नेपाल नगरपालिका संघको सहकार्यमा नगरमा सहरी सरसफाइ सम्बन्धीको कार्य नमुना परीक्षणको रूपमा अगाडि बढाइएको हो ।