
गोरखा : दरौदी खोलाको पानी गोरखा सदरमुकामको बासिन्दालाई खुवाउने महत्वाकाङ्क्षी योजना सफल भएको छ । दरौदीको पानी पिउने गोरखा सदरमुकामबासीको सपना सर्वे गरेको ५ बर्षपछि पूरा भएको हो । दरौदी गोरखा (वृहत पम्पिङ) खानेपानी तथा सरसफाइ आयोजनाले पाँच तहमा लिफ्टिङ गरी उपल्लोकोट (गोरखा दरबार) मा निर्माण गरिएको वितरण ट्याङ्कीबाट सोमबार देखि खानेपानी वितरण गर्न थालेको हो । २०७२/०७३ मा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरी खानेपानी आयोजनाको सर्वे गरिएको थियो ।
दरौंदी खोलाको पानी गोरखा सदरमुकाम पुर्याएपछि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लम्जुङका आयोजना प्रमुख देवेन्द्र कुमार झाले गोरखाबासीको एउटा ठूलो सपना पूरा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘संयोगले यो खानेपानी आयोजना कार्यान्वयन गर्ने शीलशीलामा म पनि एउटा हिस्सेदार हुन पाएँ, दरौदी खोलाको पानी गोरखाको सदरमुकाम पुर्याउनु चानचुने कुरा थिएन । तर खानेपानी उपभोक्ता समिति, ठेकेदार कम्पनी, स्थानीयबासिन्दा सबैको सहयोगले पुर्याएरै छाड्यौं’ उहाँले भन्नुभयो ।

आयोजना प्रमुख झा ले यो गोरखाको मात्र नभई देशकै गौरवको आयोजना भएकाले खानेपानी सम्पन्न गरेर वितरण गर्न पाउँदा गौरवान्वित भएको बताउनुभयो । गोरखा सदरमुकाममा भोगिरहेको खानेपानी समस्याको दिर्घकालीन समाधानका लागि दरौदीको पानी लिफ्टिङ गर्न तत्कालीन खानेपानी तथा सरसफाइ डिािजन कार्यालय गोरखा र टुँडी रमन जेभी बीच २०७४ असार २७ गते सम्झौता भएको थियो । ‘तत्कालीन डिभिजन प्रमुख रत्न लामिछाने हुँदा नै यो खानेपानीको सम्झौता भएको हो’ आयोजना प्रमुख झा ले भन्नुभयो ‘संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय स्थापना भएपछि तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाबाट हस्तान्तरण भएर आएको आयोजना हो ।’
२०७७ असारमै सम्पन्न गरिसक्नुपर्ने भएपनि कोभिड महामारीका कारण काम रोक्नुपर्दा म्याद थप गर्नुपरेको थियो । पहिलो पटक थप गरिएको म्याद यही माघ २६ गते सम्पन्न हुँदैछ, तर म्याद सक्नु अघि नै ठेकेदार कम्पनीले दरौंदीको पानी लिफ्टिङ गरी गोरखा पुर्याएका हुन् ।

५ तहमा लिफ्टिङ गरी दरौंदीको पानी गोरखामा
दरौंदी खोलामा बगिरहेको पानीलाई पाँच तहमा लिफ्टिङ गरेपछि बल्ल गोरखा सदरमुकाम पुर्याएको आयोजना प्रमुख देवेन्द्र कुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार दरौंदी खोलाको किनारमा २ वटा सम्पवेल (इनार) बनाएको छ । त्यहाँ सम्पवेलमा जम्मा भएको पानीलाई घलाङ भन्ने ठाउँमा बनेको पानी प्रशोधन केन्द्रमा लिफ्टिङ गरिएको छ ।
प्रशोधन केन्द्रमा ५ सय घनमिटरका २ वटा ट्याङ्की छन् । त्यहाँ मन्द गति वालुवा फिल्टर (स्लो स्याण्ड फिल्टर) मार्फत तीन चरणमा फिल्ट्रेसन भई ६०० घनमिटरको ट्याङ्कीमा प्रशोधित पानी जम्मा हुनेछ । उक्त पानी जलकिनी भन्ने ठाउँमा बनाएको द्धितिय पम्पिङ केन्द्रमा लिफ्टिङ गरिन्छ । द्धितिय पम्पिङ केन्द्र २०० घनमिटर क्षमताको छ ।

यस्तै २०० घनमिटर क्षमताकै तृतीय पम्पिङ केन्द्र काफलघारीमा निर्माण गरिएको छ । जलकिनी देखि काफलघारी सम्मको दुरी १९३६.७५ मिटर रहेको छ । त्यसपछि गैरीकुँवा भन्ने स्थानमा ५०० घनमिटरको ट्याङ्की बनाईएको छ । यो चौथो पम्पिङ केन्द्र हो । तेस्रो पम्पिङ केन्द्र रहेको काफलघारी देखि गैरीकुवा सम्मको दुरी ९२५ मिटर छ । र चौथो पम्पिङ केन्द्रदेखि पाँचौं तथा अन्तिम स्टेशन रहेको उपल्लाकोट अर्थात गोरखा दरबार सम्मको दुरी ९७५ मिटर छ । पाँचौं ट्याङ्की १०० घनमिटरको छ । त्यसपछि विभिन्न ठाउँमा बनेका २२ वटा वितरण ट्याङ्कीहरु बाट गोरखा नगरपालिकाको वडा नं.देखि ८ सम्मका ४ हजार ८ सय ४८ घरपरिवारका लागि खानेपानी वितरण गरिनेछ ।
दरौदी गोरखा (वृहत पम्पिङ) खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले २२ वटा वितरण ट्याङ्कीहरुमा पुर्याएपछि खानेपानी वितरणको जिम्मेवारी यस अघि नै पानी वितरण गर्दै आएका खानेपानी उपभोक्ता समितिहरुको हुने दरौदी गोरखा (वृहत पम्पिङ) खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव विनोद अर्यालले बताउनुभयो ।
उहाँका अनुसार पृथ्वीनारायण सानो सहरी खानेपानी तथा सरसफाइ आयोजनाले सोमबार देखि नै गोरखा सदरमुकामको वडा नंं ३, ४, ६, ७ र ८ का करिब १५ सय घरधुरीलाई दरौंदीको पानी वितरण गर्न थालेको छ ।
यस्तै कर्नेखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, तीनचापे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, पोखराथोक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र तीनधारे खानेपानी तथा सरसफाइ आयोजनाले पनि हिजैदेखि खानेपानी वितरण गर्न थालेका छन् । आज देखि अन्य वितरण ट्याङ्कीहरुमा समेत पानी पठाईने र नयाँ संरचना बनाउनुपर्ने बाहेकका ठाउँमा क्रमशः खानेपानी वितरण गर्दै लगिने उहाँले जानकारी दिनुभयो ।
पानीले पर्यटनको विकास गर्ने पक्का : अध्यक्ष मास्के

दरौदी गोरखा (वृहत पम्पिङ) खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछि गोरखा बजारमा खानेपानीको समस्या नहुने र पानीकै कारण पर्यटक अन्यत्र नजाने समितिका अध्यक्ष बद्री मास्के बताउनुहुन्छ । ‘गोरखा सदरमुकाममा पानी नहुँदा यहाँ आएका पर्यटक बास बस्न कि कुरिनटार कि नारायणगढ जान्छन् । अब गोरखा सदरमुकाममा २४ सैं घण्टा पानीको आपूर्ति भएपछि पर्यटकले गोरखालाई छाडेर जाने छैनन् ।’
पानीको अभावकै कारण गोरखाबाट भाग्नुपर्ने अवस्था अब नआउने उहाँले बताउनुभयो । ‘हामीले ४ बर्षको दौरानमा बल्ल खानेपानी वितरण गर्न सफल भएका छौं, अब हामी ढुक्क छौं गोरखामा पानीको समस्या हुने छैन, अड्कलेर पिउनुपर्ने छैन ।’ अध्यक्ष मास्केले भन्नुभयो ।
जग्गा उपलब्ध गराउने, विद्युत लाइन विस्तार गर्ने जस्ता कार्यमा आउने सामान्य विवादको निरुपण गर्न खानेपानी उपभोक्ता समितिको तदारुकता, उपभोक्ता समितिको सहयोगी भावना र निर्माण कम्पनीको लगावका कारण गोरखा बजारमा दरौदीको पानी ल्याउन सफल भएको उहाँले बताउनुभयो ।
बोनस खाने दाउ थियो, कोरोनाले म्याद थप्नुपर्ने बनायोे : प्रोजेक्ट म्यानेजर चालिसे
खानेपानी उपभोक्ता समिति र सरकारको तर्फबाट समेत प्रशंसा बटुलेको निर्माण कम्पनीले कोरोना महामारीका कारण काम रोक्नु नपरेको भए सम्झौता म्याद सकिनु अगावै सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका सह निर्माण कम्पनी सगुन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर टिकाराम चालिसेले बताउनुभयो । ‘बोनस खाने गरी काम गरिरहेका थियौं, बीचमा कोरोनाका कारण कामदारहरु सबैलाई बिदा गर्नुपर्दा म्याद पो थपेर गर्नुपर्यो’ उहाँले भन्नुभयो ।
गोरखा सदरमुकामका बासिन्दाले झेलिरहेको खानेपानी समस्या समाधानका लागि आफूहरुको तर्फबाट बढी भन्दा बढी जनशक्ति परिचालन गरी सबैतिर एकैपटक काम सञ्चालन गरिएको चालिसेले बताउनुभयो । ‘हामीले दैनिक ३ सय जना कामदार परिचालन गर्यौं, एकैपटक ८/१० वटा ट्याङ्कीहरु निर्माण भईरहेको हुन्थ्यो, सम्पन्न हुँदा पनि एक एक वटा होइन, एकै पटक ८/१० वटै सम्पन्न हुन्थ्यो’ उहाँले भन्नुभयो ।
खानेपानी आयोजना समयमै सम्पन्न गर्न खानेपानी उपभोक्ता समिति, निर्माण कम्पनी, उपभोक्ता समिति बीच समन्वयकारी र सहयोगी भूमिका हुनुपर्ने उहाँको भनाइ छ । सरकारको तर्फबाट बेला बेलामा अनुगमन गरी पृष्ठपोषण प्रदान गर्ने र कामको मूल्याङ्कन गरी समयमै रकम निकाशा गर्दा कामको वातावरण बन्ने उहाँले बताउनुभयो ।

भेरिएसन पछि ३ करोड लागत थपियो
२०७४ असार २७ गते सम्झौता हुँदा भ्याट सहित ४२ करोड ८ लाख १० हजार ८०६ रुपैयाँ १६ पैसामा सम्झौता भएको थियो । पछि खानेपानी संरचनाका केही भागहरु छुट्टिन गएकाले आयोजनाको भेरिएसन गर्दा आयोजनाको लागत ३ करोड थपिएको छ । भेरिएसन पछि ४५ करोड १९ लाख ३५ हजार ३१७ रुपैयाँमा सम्झौता भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लम्जुङले जनाएको छ ।



1694 पटक हेरिएको 

