
काठमाडौ : खानेपानीको पाइप होस् वा विजुलीको तार, या त ढलको पाइप नै किन नहोस्, शहरी इलाकामा सडक खनेरै गाड्ने चलन छ । सडक खनेर जमिनमुनि पाइप विछ्याउदा सडकको क्षति हुने त छँदैछ, महिनौं दिनसम्म लाग्ने र सवारी जाम समेत हुने भएकाले उपभोक्ताले समेत सास्ती झेल्नुपर्छ । सडक खनेर पाइप गाड्दा हुने यिनै समस्यालाई हल गर्न नेपालमा कुलो नखनी पाईप विछ्याउन सकिने प्रविधि (ट्रेन्चलेस) भित्र्याईएको छ ।

कुलो नखनी पाईप विछ्याउन सकिने (Trenchless) प्रविधि र नेपालमा यसको प्रयोग बिषयक छलफल कार्यक्रममा नेपाल विद्युत प्राधिकरणले यो प्रविधिलाई अपनाई रहेको प्राधिकरणका उपप्रबन्धक अभिषेक अधिकारीले जानकारी गराउनुभयो । म्यापिङ भएका मुख्य बाटोहरुमा ट्रे्न्चलेस प्रविधिबाट सजिलै खन्न सकिने भएपनि भित्री बाटोहरुमा सम्भव नभएको उहाँले बताउनुभयो । उहाँले राम्रोसँग स्थान छनौट गरेर मात्र यो प्रविधिलाई अपनाउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले पनि यो प्रविधि मार्फत कार्य अगाडि बढाउन ठेकेदार कम्पनीसँग सम्झौता गरिसकेको र कम्पनीले आवश्यक उपकरण समेत भित्र्याईसकेको पिआईडीका प्रोजेक्ट म्यानेजर इन्जिनियर रबिन्द्र पोख्रेलले जानकारी गराउनुभयो । उहाँले कार्यान्वयन निर्देशनालयले मेलम्चीको पाइप विछ्याउन खनिने ६ सय किलोमिटर कुलो मध्ये सय किलोमिटर Trenchless प्रविधिबाट खन्न लागेको बताउनुभयो । नेपालका लागि ट्रेन्चलेस प्रविधि नयाँ भएकाले पाइलटिङको रुपमा सय मिटर मात्र खन्न लागेको र राम्रो नतिजा आएमा यसलाई बढावा दिदै लगिने जानकारी गराउनुभयो ।

कार्यक्रममा इन्स्टिट्यूट फर प्रोफेस्नल ट्रे्निङ एण्ड म्यानेज्मेन्ट (IPTM) नेपालका अध्यक्ष किशोर शाक्यले नेपालले समयानुकुल ट्रेन्चलेस प्रविधि अपनाउदै जानुपर्नेमा जोड दिनुभयो । उहाँले ट्राफिक जाम बढ्दै गएका धरान, बीरगन्ज, नेपालगन्ज जस्ता शहरहरुमा सडक खनेर पाईप विछ्याउन नसकिने भएकाले त्यस्ता ठाउँमा ट्रेन्चलेस प्रविधि अति उपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स (सोफेन) का अध्यक्ष अनिल भद्र खनालले शहरी क्षेत्रमा भविश्यमा धेरै सुविधाहरु बढाउनुपर्ने र सधैं सडक खन्न पनि सम्भव नहुने भएकाले यो प्रविधि नेपालका लागि भविश्यमा उपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा सहभागी इन्जिनियरहरुले यो प्रविधिको प्रयोग गर्दा आउन सक्ने जटिलता र नेपालमा यसको सम्भावनाका बिषयमा प्रश्न गरेका थिए ।

जवाफमा अमेरिकामा बसेर Trenchless प्रविधिको कार्यान्वयन गर्दै आउनुभएका नेपाली इन्जिनियर डा. ज्वालाराज शर्माले नेपालमा यसको सम्भावना रहेको तर यसका लागि समन्वय गर्ने संयन्त्रको जरुरत रहेको बताउनुभयो ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहयोगमा सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स (सोफेन) र इन्स्टिट्यूट फर प्रोफेस्नल ट्रे्निङ एण्ड म्यानेज्मेन्ट (आईपीटीएम) नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठ, नेपाल विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, खानेपानी आयोजनाको क्षेत्रमा काम गर्दै आएका ठेकेदार कम्पनीका प्रतिनिधी एवं अन्य सरोकारवाला क्षेत्रका प्रतिनिधीहरुको सहभागिता थियो ।
नोट :यस सम्बन्धी भिडियो वास खबरको युट्यूब च्यानलमा प्रकाशन हुनेछ -सम्पादक





1615 पटक हेरिएको 

