गुल्मी : आकाशेपानीलाई घैंटोमा संकलन गरेर पिउनुपर्नेसम्मको दुःख झेलेका गुल्मीको रुरुक्षेत्र गाउँपालिका ४ मा अहिले घरघरै खानेपानी पुगेको छ । स्थानीय बिरौटा–मसारी खोलाको पानी २ चरणमा लिफ्टिङ गरी ३.२ किलोमिटर उचाईमा रहेको बलेटक्सारको लेखमा निर्मित एक/एक लाख लिटर क्षमताका दुईवटा ट्याङ्कीबाट पानी वितरण गरिएको हो । बलेटक्सार बजार लिफ्ट खानेपानी आयोजनाबाट रुरुक्षेत्र गाउँपालिका – ४ को बलेटक्सार बजार, रानीबास, थप्लुङ लगायत क्षेत्रका ३ सय ५९ घरपरिवार लाभान्वित भएका छन् ।

बलेटक्सार बजार लिफ्ट खानेपानी आयोजनाको बुधबार पूर्व परराष्ट्रमन्त्री एवं नेकपा एमालेका संघीय सांसद प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभयो । खानेपानी आयोजनाको उदघाटन गर्दै पूर्वमन्त्री ज्ञवालीले आजभन्दा २० बर्ष पहिले प्यास लागेर पानी माग्दा समेत पानी नदिएको स्मरण गर्नुभयो । ‘हामी राजनीतिकर्मीहरुका लागि पानीको लागि बर्खा नै कुनुपर्ने होला भन्ने लाग्थ्यो ।’ उहाँले भन्नुभयो ।
पूर्वमन्त्री ज्ञवालीले विगतमा पानीका स्रोतहरु दिगो र भरपर्दा नभएकाले गाउँलेले दुःख झेल्नुपरेको उल्लेख गर्दै अब यो स्रोत दिगो हुने भएकाले पानीको दुःख नहुने बताउनुभयो । उहाँले एक घर एक धारा तीन तहको सरकारको अवधारणा रहेकाले बाँकी घरपरिवारलाई समेत एक घर एक धारा उपलब्ध गराउन आफू लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष पर्शुराम ज्ञवालीले विगतमा खानेपानीको समस्या रहेको र अबको दिनमा खानेपानीको समस्या झेल्नु नपर्ने बताउनुभयो । हाललाई ३ सय ५९ घरका लागि खानेपानी वितरण गरेको बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चालु आर्थिक बर्षभित्रै ५ सय घरपरिवारमा पुर्याउने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष देवनारायण ज्ञवालीले बताउनुभयो ।
कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी पन्तले ग्रामीण क्षेत्रमा महिलालाई पानीको अभावमा चुलोचौका गर्नै मुश्किल परेको उल्लेख गर्दै पानीको उपलब्ध भएपछि समय बचत हुने र बचेको समय उत्पादनमूलक काममा लगाउन सकिने बताउनुभयो ।

पानीको अभावमा रुरुक्षेत्रका बासिन्दाले ट्याङ्करको पानी समेत किनेर आपूर्ति गर्नुपर्ने अवस्थाबाट मुक्ति मिलेको स्थानीय शंकर पौड्यालले बताउनुभयो । उहाँका अनुसार यस अघि रेसुङ्गा स्थित अग्नि छहराको पानी गुल्मी –अर्घाखाँची ग्रामीण विकास कोषको सहयोग मार्फत ल्याएको भए पनि हिउँदको लागि पर्याप्त थिएन । पानीको सहज उपलब्ध भएपछि विभिन्न अवसरहरु समेत सिर्जना हुने उहाँको भनाइ छ ।
फोटो : शंकर पौड्याल, रुरुक्षेत्र गाउँपालिका/गुल्मी


888 पटक हेरिएको 

