भवनको रकम समेत खानेपानीमा लगानी गरी घरघरै धारा

🔗
65
Shares

फाइल तस्बिर

काभ्रे : घरआँगनमै खानेपानी उपभोग गर्ने तेमाल–२ लप्सेका बासिन्दाको सपना बल्ल पूरा भएको छ । खानेपानी लिन सबेरै खोलामा जानुपर्ने बाध्यता हटेपछि स्थानीय खुसी छन् । ‘म ४३ वर्षको भएँ, खानेपानीका लागि सानैदेखि धेरै दुःख गरियो,’ स्थानीय बुद्धिमान तामाङले भने, ‘बाघ, भालुजस्ता जंगली जनावरको डर भए पनि छोराछोरीलाई एक्लै घरमा सुताएर जानुपर्थ्यो । अहिले आँगनमै पानी आएपछि त्यो बाध्यता हटेको छ ।’

स्थानीय सीता तामाङले पनि घरमा नै पानीको धारा बनेपछि निकै सहज भएको बताइन् । ‘पहिला एक घण्टा लगाएर याङबेल खोला पुग्नुपर्थ्यो । चैत, वैशाखमा त त्यो पनि सुक्थ्यो । छोराछोरीहरू पानी नल्याईकन स्कुल जान पनि पाउँदैनथे,’ उनले भनिन्, ‘अहिले आँगनमै धारामा पानी आएपछि धेरै सुख भएको छ नि ?’

विभिन्न समयमा खानेपानी योजना निर्माणको प्रयास भए पनि सफल हुन सकेको थिएन । सुरुमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको २० लाख र स्थानीय अस्बिर लामाले जापानबाट पठाएको ४ लाख गरी २४ लाख रुपैयाँको लागतमा ट्यांकी निर्माण भए पनि पर्याप्त थिएन । गत आर्थिक वर्ष ०७७/७८ मा खानेपानी कार्यालयले पाइपलाइनका लागि २० लाख रुपैयाँ विनियोजन गर्‍यो ।

वडा कार्यालयले पनि भवन निर्माणका लागि छुट्याइएको ४५ लाख मध्येबाट २० लाख रुपैयाँ लगानी गर्‍यो । ‘लप्सेमा जसरी पनि खानेपानी पुर्‍याउने मेरो योजना थियो,’ वडाध्यक्ष तेमालसिं तामाङले भने, ‘एक तलाको वडा कार्यालय भए पुगिहाल्छ भन्ने सोचेर भवनका लागि छुट्याएको मध्येबाट २० लाख खानेपानीका लागि छुट्याएर काम थाल्यौं तर त्यो पनि अपर्याप्त भयो ।’

सुनकोसी नदी किनारनजिकै रहेको मूलबाट लिफ्ट गरी करिब १५ सय मिटर उचाइमा रहेको गाउँमा पुर्‍याउनुपर्ने भौगोलिक अवस्थितिका कारण ६४ लाख खर्च गर्दा पनि योजना पूरा भएको थिएन । वडाध्यक्ष तामाङसहितको टोलीले खानेपानीको क्षेत्रमा काम गर्दै आएको शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामालाई भेटेर अवस्थाबारे जानकारी गराएपछि दाता खोजेर सम्पन्न गर्न पात्ले लामास्थान खानेपानी तथा सरसफाइ आयोजना गठन भयो ।

सीआरएस नेपाल र शान्ति केन्द्रको साझेदारीमा काभ्रे पुनर्लाभ तथा पुनःस्थापना परियोजनाअन्तर्गत २९ लाख ७१ हजार रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो । सबैको साथ र सहयोगका कारण ४ महिनामा योजना सम्पन्न भएको केन्द्र अध्यक्ष लामाले जानकारी दिए । योजना पूरा भएसँगै ५४ घरधुरीका ७ सय ९६ जना लाभान्वित भएका छन् । साभार : कान्तिपुर दैनिक


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार