खानेपानी सुविधा पुगेपछि गाउँ फर्केर तरकारी खेती


तनहुँ : तनहुँको देवघाट गाउँपालिका–२ ब्यागनबाट खानेपानीको चरम अभाव भएपछि गाउँ छाडेकाहरु फेरि गाउँ फर्किन थालेका छन् । ब्यागनमा एक घर एक धारा अभियान सञ्चालन भएपछि गाउँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिनुभयो ।

खानेपानीको सहज उपलब्धताले स्थानीयको जीवनयापन सहज भएपछि गाउँ फर्किन थालेको वडाध्यक्ष आलेले बताउनुभयो । ‘खानेपानीको सहज उपलब्धताले मानिसलाई यति धेरै प्रभावित बनाउँदो रहेछ’ वडाध्यक्ष आलेले भन्नुभयो । देवघाट गाउँपालिकाको ब्यागन तनहुँ जिल्लाको दुर्गम भनेर चिनिन्छ ।

गण्डकी प्रदेश सरकारको एक करोड ५८ लाख रुपैयाँ सहयोगमा दुर्गम ब्यागनमा एक घर एक धारा निर्माण भएको हो । आयोजनाबाट ब्यागनका ५२ घरपरिवारका करिब ३ सय जना लाभान्वित भएका छन् ।

कुवाको एक गाग्री पानी भर्न कठिनाई भोग्नुपर्ने ब्गायनमा घर आँगनमै खानेपानीको धारा जडान भएपछि गाउँमै फर्केर तरकारी खेती गर्न थालेका वडाध्यक्ष आलेले बताउनुभयो ।

वडा नं. २ कै छिपछिपे भञ्ज्याङ घोप्रे खोलाबाट ७ किलोमिटर टाढाबाट पानी ल्याएर वडाबासीलाई खानेपानी वितरण गरिएको वडाध्यक्ष आलेले जानकारी दिनुभयो । गाउँमा २४ सै घण्टा धारामा पानी आएपछि स्थानीयवासी निकै खुशी भएका छन् । ‘अहिले घरघरमा पानी पुगेपछि स्थानीयवासी व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर भएका छन्, गाउँ छाडेकाहरु समेत गाउँमै फर्केर व्यवसायिक खेती गर्न थाल्नु वडाकै लागि सकारात्मक पक्ष हो’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार