
कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा १९ करोड १० लाख ५७ हजार रुपियाँ लगानीम खानेपानी आयोजना निर्माण हुने भएको छ । नगरपालिकाको वडा नं. २ भरिको सबै बस्तीमा खानेपानी तथा सरसफाइ सेवा पुर्याउने हेतुले आयोजना सञ्चालन हुन लागेको हो । आयोजना सञ्चालन तथा व्यवस्थापनका लागि नगर विकास कोष र गोरुसिङ्गे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबीच सम्झौता भएको हो । नगर विकास कोषको तर्फबाट कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र उपभोक्ता समितिको तर्फबाट अध्यक्ष नरेन्द्रराज टण्डन बीच ऋण सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
ऋण सम्झौतामा जमानतकर्ताको रुपमा हस्ताक्षर गर्नुभएका बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले शहरीकरण उन्मुख वडामा ठूला योजना सञ्चालन हुँदा नगरमा विकास भएको अनुभुति हुने बताउनुभयो । बुद्धभूमि नगरपालिकाका लागि आयोजनाको महत्वमाथि प्रकाश पार्दै आयोजना नगरपालिकाकै महत्वपूर्ण आयोजना भएकोले नमुनाको रुपमा सम्पन्न गर्न नगरपालिकाले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
कार्यकारी निर्देशक सापकोटाले आगामी दिनमा बुद्धभूमि नगरपालिकासँग शहरी पूर्वाधार, कृषि पूर्वाधार, पर्यटकीय पूर्वाधार, फोहरमैला व्यवस्थापन लगायतका अन्य आयोजनामा समेत सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । सम्झौता कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष टण्डनले आयोजना सम्पन्न गराउन नगर विकास कोष, आयोजना व्यवस्थापन कार्यालय र नगरपालिकाबाट निरन्तर व्यवस्थापकीय तथा प्राविधिक सहयोग प्राप्त भएमा समयमा योजना सम्पन्न गराउने प्रतिवद्धता जनाउनुभयो ।
एशियाली विकास बैंंकको वित्तिय सहयोगमा सञ्चालित हुने आयोजनाको कुल लागत १९ करोड १० लाख ५७ हजार रुपियाँ छ । जसमा नेपाल सरकारको तर्फबाट ७० प्रतिशत अनुदान वापत १३ करोड ३७ लाख, नगर विकास कोषको तर्फबाट २५ प्रतिशत ऋण वापत ४ करोड ७७ लाख ६४ हजार तथा आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको तर्फबाट ५ प्रतिशत वापत ९५ लाख ५२ हजार रुपियाँ छ । आयोजनाबाट २ हजार ८ सय ५८ घरधुरीका सोह्र हजार ४ सय ७५ जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित हुने बुद्धभूमि नगरपालिका २ का अध्यक्ष भेषराज शर्मा खनालले बताउनुभयो ।


832 पटक हेरिएको 

