खानेपानी आयोजनामा गुणस्तरहीन सामग्रीको प्रयोग

ढलान फोरेर पुनः बनाईदै

खोटाङ : दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम गुणस्तरहीन भएको स्थानीयले गुनासो गरेका छन् । नगरपालिकाको दिक्तेल बजार लगायत आसपासका क्षेत्रका उपभोक्तालाई वितरण गरिएको खानेपानी योजनामा गुणस्तरहीन सामान प्रयोग गरिए पछि जताततै पानी चुहिएको छ ।

निर्माण कम्पनीको लापरबाहीका कारण बजारमा भर्खरै गरिएको ढलान पानी चुहिएर फुटाउनु परेको दिक्तेल शहरी खानेपानी आयोजना उपभोक्ता समितिका सदस्य सुमन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बजार क्षेत्रका प्रायः प्रत्येक उपभोक्तालाई वितरण गरिएको पानी चुहिएकाले ढलान फोरेर बनाउनु परेको श्रेष्ठले सुनाउनुभयो । ‘निर्माण लापरबाहीका कारण खानेपानी चुहिएको छ, सम्बन्धित निकायको ध्यान जानुपर्छ’ उहाँले भन्नुभयो ।

दिक्तेल सहरी खानेपानी आयोजना उपभोक्ता समितिका सचिव नवराज जोशीले भने वर्षाको बेला जडान गरिएकाले समस्या आएको बताउनुभयो। ‘वर्षामा सडक ढलानको बेला पाइप पनि गाड्नु पर्ने भयो’ जोशीले भन्नुभयो ‘झरिको बेला हतार–हतार पाइप गाड्दा जडान राम्रो भएनछ, त्यसैले समस्या आयो ।’ उक्त आयोजनाको ठेक्का आशिष निर्माण सेवा मार्फत पिइए–बीएन निर्माण कम्पनी जेभीले लिएको हो ।

यो नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५९ हजार लागतमा सञ्चालित आयोजना हो । स्टिमेट भन्दा करिब दस करोड कममा आशिष निर्माण सेवाले ठेक्का पारेको हो । ईकान्तिपुर डटकमबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार