चितवनको ढोडेनीमा खानेपानी आयोजना सम्पन्न

८३ घरपरिवार लाभान्वित

चितवन : खानेपानी अभाव झेलिरहेको चितवनको भरतपुर महानगरपालिकाको ढोडेनीमा खानेपानी आयोजना निर्माण गरिएको छ । यस अघि ५०० मिटर तलको खोलामा पानी लिन जान बाध्य भएका ढोडेनीका बासिन्दाका लागि ५०० मिटर तल खोलाको पानीलाई लिफ्टिङ गरेर माथि ट्यांकीमा तानेर घरघरमा वितरण गरिएको हो ।

१ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको खानेपानी योजनाको महानगरकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहले उदघाटन गर्नुभयो । भरतपुर महानगरपालिका वडा नम्बर २९ ढोडेनीमा निर्माण गरिएको खानेपानी आयोजनाबाट ८३ परिवार लाभान्वित भएका छन् ।

 

ढोडेनी खानेपानी आयोजना निर्माणमा संघीय सरकारको १ करोड, भरतपुर महानगरको ३५ लाख रुपैयाँ लगानी रहेको छ । वडा नं. २९ कै चौकीडाँडा खानेपानी योजना समेत निर्माणको अन्तिम चरणमा पुगेको छ ।

महानगर प्रमुख दाहालले वडा नम्बर २९ को खानेपानी समस्या अब सधैँका लागि अन्त्य भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले ढोडेनी र चौकीडाँडा खानेपानी योजनाबाट वडावासी लाभान्वित भएको बताउनुभयो । उपप्रमुख शाहले जनप्रतिनिधि आएसँगै खानेपानीलाई प्रमुख प्रथामिकतामा राख्दै काम गरिएको दाबी गर्नुभयो ।

भरतपुर महानगर वडा नम्बर २९ का वडाध्यक्ष मानबहादुर रानाले बिहान भरि लगाएर खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले पानी अभावमा बारीमा तरकारी लागाउन समस्या भएको ढोडेनीका बासिन्दाको करेसाबारीमा हरियाली देख्न पाईने आशा व्यक्त गर्नुभयो । खानेपानीको सबै समस्या हटेपछि मानिसको दैनिकी फेरिने र पानी ल्याउन लाग्ने समयलाई अर्थोपार्जनमा लगाउन सकिने उहाँको भनाइ थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार