
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ धौलेका बासिन्दा स्वच्छ र सुरक्षित खानेपानीको व्यवस्था भएपछि खुसीले गदगद भएका छन् । सेवक नेपाल र मेलम्ची नगरपालिकाको साझेदारीमा १ घर १ धारा खानेपानी योजना सम्पन्न भई खानेपानी उपलब्ध भएपछि धौलेका बासिन्दा खुसीले गदगद भएका हुन् ।
धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न भएको खानेपानीको लागि मेलम्ची नगरपालिका को १३ लाख रुपैयाँ, सेवक नेपालको १० लाख १० हजार १९ रुपैयाँ लगानी भएको छ भने उपभोक्ताले ४ लाख ६७ हजार ३१४ रुपियाँ बराबरको श्रमदान गरेका छन् । धारा निर्माण भई पानी आएपछि गाउँलेको दैनिकी सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिला बहादुर थापाले बताउनुभयो ।
भूकम्प पछि खानेपानीको चरम अभाव झेल्दै आएका धौलेका २६ घर सुरक्षित खानेपानीबाट लाभान्वित भएका सेवक नेपालका कार्यक्रम संयोजक कुमार भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार २६ का ११६ जना प्रत्यक्ष लाभान्वित भएका छ्न् । घरघरै खानेपानी धारा निर्माण भएपछि खानेपानी सँग सम्बन्धित सबै समस्याहरूबाट मुक्त भएको कार्यक्रम संयोजक भट्टराईले बताउनुभयो ।

पिउने पानीको समेत अभाव झेलिरहेका धौलेका बासिन्दाले खानेपानीको उपलब्धता सँगै तरकारी खेतीमा सिंचाई गर्न, सरसफाइमा सुधार ल्याउन र बालबालिकाको पढाई तथा महिला सशक्तिकरणमा समेत टेवा पुग्ने आशा व्यक्त गरेका छन् ।


957 पटक हेरिएको 

