
बागलुङ : बागलुङको बागलुङ नगर खानेपानी आयोजना सम्पन्न नहुँदै ट्यांकी जीर्ण भएका हुन् । बहुवर्षे खानेपानी आयोजना बनि नसक्दै खानेपानीका २ ट्यांकी जीर्ण भएका हुन्। झन्डै चार वर्षअघि बनेको ट्यांकी संरक्षण नभएर जमिन भासिएको छ । चुहिने गरी चिरिएका छन् । बागलुङ नगरपालिका-३ को रात्माटामा बनेका ती ट्यांकी चिरिएको स्थानीय भबिन्द्र विकले बताउनुभयो ।
बागलुङ बजारमा पानी आपूर्ति गर्न थालिएको लिफ्ट खानेपानी आयोजना भने कहिले पूरा हुन्छ भन्ने यकिन छैन । आयोजनाका इन्जिनियर विक्रम अधिकारीले आगामी असारसम्ममा काम पूरा हुने लक्ष्य रहेको बताउनुभयो । कामको गति हेर्दा भने समयमा आयोजना पूरा नहुने उपभोक्ता समितिका सदस्यको भनाइ छ । ‘अहिले त केही काम भएको छ, तर समयमा सकिने नसकिने भन्न सकिँदैन,’ समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले भन्नुभयो, ‘लामो समय भएकोले आयोजना पूरा हुनेमा शंका नै छ ।’
उपभोक्ता समिति भए पनि ठेकेदार र सरकारी निकाय बीच मात्रै काम भएकोले केही नभएको उहाँले बताउनुभयो । तत्कालीन खानेपानी तथा ढल निकास विभागले ६ वर्ष अघि आयोजना सुरु गरेको हो । अहिले यो आयोजना संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले हेर्दै आएको छ ।
आयोजनाले बागलुङ–३ को रात्माटामा बनाएका ५ लाख र ३ लाख लिटरका २ ट्याङ्की भीरलाँखुरीको अर्को ट्यांकी तथा काठेखोलामा निर्माणाधीन स्पर र रिजर्भ ट्यांकी भने जीर्ण छन् । यी ट्यांकीमा पानी जम्मा गरेपछि लिफ्ट गरी वडा ६ को भीरलाँकुरी लगेर बागलुङ बजारमा वितरण गर्ने योजना छ । उपभोक्ता समितिको ३० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत लगानी गर्ने गरी २०७३ सालमा आयोजना थालिएको हो । ‘खोलाको पानी जम्मा गर्ने, फिल्टर गर्ने र लिफ्टबाट बजारमा ल्याउने योजना हो, म्याद थप्दै ठेकेदारले काम अलपत्र पारेका छन्,’ श्रेष्ठले भन्नुभयो ‘दुईपटक म्याद थप भइसक्दा आधा काम पनि भएको छैन ।’
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख रामकृष्ण यादवले कोरोना र निषेधाज्ञाले समयमै काम नसकिएको दाबी गर्नुभयो । ‘अब एक बर्षमा काम सकिन्छ,’ यादवले भन्नुभयो, ‘नयाँ प्रविधि भएकोले केही अन्योल पनि थिए, त्यसले ढिलाइ गरेको हो ।’ उहाँले वित्तीय प्रगति ६४ प्रतिशत र भौतिक प्रगति ८५ प्रतिशत भएको दाबी गर्नुभयो । कान्तिपुर दैनिकबाट


1005 पटक हेरिएको 

