२० वर्षयताका खानेपानी आयोजना अलपत्र, ४१ आयोजनामा १ अर्ब रूपैयाँभन्दा बढी खर्च

सप्तरी : हनुमाननगर कंकालिनी नगरपालिका–७ स्थित खानेपानी आयोजनाको निर्माण थालिएको २० वर्ष भइसक्यो तर काम अझै आधा पनि पूरा भएको छैन । ६ हजार १४ घरधुरीलाई खानेपानी पुर्‍याउने लक्ष्य अनुसार ६ करोड रुपैयाँको लागतमा आर्थिक वर्ष ०५७/५८ देखि नै आयोजनाको काम सुरु भएको थियो । १ करोड ४३ लाख रुपैयाँ खर्च भइसके पनि हालसम्म भौतिक प्रगति ३० प्रतिशत मात्रै छ ।

छिन्नमस्ता गाउँपालिकाको सखडास्थित खानेपानी आयोजना निर्माण सकिएको वर्षौं भइसकेको छ । आयोजना उपभोक्तालाई हस्तान्तरण पनि भइसकेको छ तर अझै पनि उपभोक्ताको घर–घरमा पानी पुग्न सकेको छैन ।

तिलाठीकोइलाडी गाउँपालिका–१ तिलाठीस्थित खानेपानी आयोजनामा हालसम्म २ करोड ३६ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ । संरचना, ट्यांकी निर्माण, बोरिङ धसाउनेलगायत काम भइसक्दा पाइपलाइन विस्तार र विद्युत् सेवा जडान नहुँदा काम अलपत्र छ ।

नेपानी आयोजना निर्माणको नाममा २० वर्षयता सप्तरीमा १ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च भइसकेको छ । तर, कुनै पनि आयोजना सकिएर पानी अझैसम्म उपभोक्ताले उपयोग गर्न पाएका छैनन् । न्यूनतम १० लाख र अधिकतम साढे २ करोड रुपैयाँसम्म खर्च भएका खानेपानी आयोजनाहरू निर्माण भएर अलपत्र छन् । केही आयोजनाको ट्यांकी निर्माण, भवन, बोरिङ, घेराबेरा भइसके पनि पाइपलाइन विस्तार हुन नसक्दा उपभोक्ता शुद्ध पानी पिउनबाट वञ्चित छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजका निमित्त प्रमुख अजय कर्ण पनि जिल्लाभरमा सदरमुकाम राजविराज बाहेक कतै पनि खानेपानी आयोजनाबाट उपभोक्ताले लाभ लिन नपाएको स्विकार्छन् । उनका अनुसार २० वर्षमा संघीय सरकारबाट ३३ र प्रदेश सरकारबाट ८ गरी कुल ४१ वटा खानेपानी आयोजनामा बजेट छुट्टिने गरेको छ । तर, सबै निर्माणाधीन छन् । निर्माण भइसकेका आयोजनाबाट पनि खानेपानी सुविधा प्रदान भइरहेको छैन । कतै पाइपलाइन नबिछ्याउनु त कतै अन्य प्राविधिक समस्याका कारण करोडौं लगानीका खानेपानी आयोजनाको उपलब्धि न्यून छ ।

‘४१ वटै आयोजनाको पटक–पटक थपिएको म्याद आगामी चैत मसान्तमा सकिँदै छ,’ कर्णले भने, ‘यो अवधिमा पनि कुनै आयोजनाबाट उपभोक्तालाई पानी सप्लाइ हुन सक्ने अवस्था छैन ।’ हाल सप्तरीमा निर्माण भई अलपत्र रहेका र निर्माणाधीन आयोजनामा कुल कति रकम खर्च भइसकेको छ, यसको यकिन विवरण खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग पनि छैन । ‘सबै आयोजनामा हालसम्म खर्च भएको यकिन रकम एकत्रित गर्ने काम भइरहेको छ,’ कर्णले भने, ‘निर्माणाधीन ४१ वटै आयोजनामा गरी अहिलेसम्म भएको खर्च १ अर्ब रुपैयाँ नाघ्छ ।’

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लाभरका ३३ वटा खानेपानी आयोजनाका लागि ४ करोड ७९ लाख रुपैयाँ रकम विनियोजन भएको छ । यस्तै, प्रदेश सरकारका ८ वटा आयोजनामा साढे २ करोड रुपैयाँ छुट्याइएको छ । हरेक वर्ष बजेट छुट्याइने गरे पनि समयमा कम नहुँदा ‘फ्रिज’ हुने समस्या पनि छ ।

तोकिएको समयमा काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही गर्न कार्यालय निरीह देखिएको छ । कर्णले भने, ‘निमित्तको जिम्मेवारी पाएको छु । मभन्दा अघिका डिभिजन प्रमुखहरूले के गरे त्यो मलाई थाहा भएन । म आएपछि ठेकेदारलाई बारम्बार ताकेदा गरिरहेको छु ।’ साभार : अवधेशकुमार झा/कान्तिपुर दैनिक


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार