घ्याब्रिङ र बालखोपका हरेक घरमा खानेपानी

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ का घ्याब्रिङ र बालखोपका ५३ घरमा खानेपानी पुर्‍याईएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारीबाट ५३ घर परिवार र एक विद्यालयमा ‘एक घर, एक धारा’ जडान गरिएको हो ।

बालखोप खानेपानी योजनाको वागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव यमलाल भुसाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव अशोक कुमार साह र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

खानेपानी योजना सम्पन्न भएपछि घ्याब्रिङ र बालखोपका ३८० जना लाभान्वित भएका छन् । करिब साढे तीन किलोमिटर टाढाको बालखोप मुहानबाट मूल पाइप बिछ्याएर तीन ठाउँमा पानी ट्याङ्की निर्माण गरी घर–घरमा खानेपानी पुर्‍याइएको गाउँपालिकाका सव–इन्जिनियर प्रकाश खड्काले बताउनुभयो । बालखोप खानेपानी योजना सम्पन्न गर्नका लागि ४६ लाख ५० हजार ५०० रुपैयाँको लागतमा मुख्य पाइप लाइन र वितरण पाइप लाइन गरी करिब ११ किलोमिटर पाइप बिछ्याएर खानेपानी धारा वितरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले मानिसको जीवनसँग जोडिएको खानेपानी योजना सम्पन्न गर्नको लागि प्राप्त बजेटले बालखोपका स्थानीयवासीलाई खानेपानी वितरण गर्न सफल भएको बताउनुभयो । उहाँले पानी वितरण गर्दैमा समस्या हल नहुने भन्दै यसको दिगो उपयोगका लागि स्थानीय बासिन्दाले नै ध्यान दिन पनि आग्रह गर्नुभयो ।

यस्तै बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माले दुर्गम गाउँपालिकाको विकट गाउँका बासिन्दालाई प्रदेश सरकारको साझेदारीमा खानेपानी उपलब्ध गराउन सफल भएको बताउनुभयो ।

घरघरमै धारा जडान भएपछि सामूहिक धारा हुँदा एकैपटक धेरै जना पानी थाप्नका लागि जम्मा हुने र विवाद झेल्नुपर्ने अवस्थाको अन्त्य भएको वडा नं ६ का वडाध्यक्ष रमेश लुङ्गेलीले बताउनुभयो । उहाँले खानेपानीको समस्या झेल्दै आएका बासिन्दाका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था भएपछि स्थानीयवासीमा खुसीको लहर छाएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार